• २० वैशाख २०८१, बिहिबार

झापाका १५ पालिकालाई १३ अर्बभन्दा बढी बजेट

blog

शिवसताक्षी नगरपालिकाको बजेट सार्वजनिक कार्यक्रम ।

लीलाराज खडका 

बिर्तामोड, असार ११ गते । झापाका १५ वटै पालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट ल्याएका छन् । यस आर्थिक वर्षमा झापामा कुल १३ अर्ब ६६ करोड २४ लाख रुपियाँ बराबरको बजेटमा सबैभन्दा बढी बजेट दमक नगरपालिकाको एक अर्ब ८४ करोड, १२ लाख रुपियाँ रहेको छ भने सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपियाँ बराबरको रहेको छ । 

यसैगरी, झापाको कनकाई नगरपालिकाको आर्थिक वर्ष २०८०-८१ को लागि ६७ करोड, ८७ लाख २४ हजार एक सय ७५ रुपियाँको वार्षिक बजेट प्रस्तुत भएको छ । आइतबार भएको १३ औँ नगर सभाबाट नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले यस आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । आशा शर्मा शिवाकोटीले अघिल्लो आर्थिक वर्ष २०७९-८० को भन्दा ६ करोडले कम बजेट सार्वजनिक गर्नुभएको हो । 

अघिल्लो आर्थिक वर्षमा कनकाई नगरपालिकाले ७३ करोड, ८५ लाख रुपियाँको बजेट निर्माण गरेको थियो । यस बजेटमा सामाजिक सुरक्षा बापतको रकम २८ करोड भने समावेश छैन । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औँ नगर सभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो । 

जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड, बाँडफाँड प्राप्त २ करोड, सङ्घीय सरकारबाट ६९ करोड १७ लाख ५५ हजार बजेट सार्वजनिक गरेको  छ । त्यस्तै,  प्रदेश सरकारबाट समानीकरण ११ करोड ४६ हजार, समपूरक अनुदान १३ करोड,  सशर्त अनुदान ९४ लाख ७५ हजार, सवारी साधना बाँडफाँडबाट १३, करोड १९ लाख,४६ गरी ४६ करोड ७१ लाख १ हजार गरी जम्मा ८७ करोड ४० लाख ६६ हजार रकम र सामाजिक सुरक्षा भत्ता ३५ करोड रकम समावेश गरी १ अर्ब २१ करोड ४० लाख ६६ हजार बराबरको रकम नगर सभाबाट सार्वजनिक गरिएको हो । 

यसैगरी झापा गाउँपालिकाले ४९ करोड ९० लाख १७ हजार २ सय रुपियाँको बजेट प्रस्तुत गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलियाले गाउँपालिकाको चौधौँ गाउँ सभा मार्फत गाउँपालिकाको आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्नुभएको हो ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्षका एक अर्ब ४० करोड ९५ लाख ५० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ  । नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो नगर अधिवेशन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले सो बजेट प्रस्तुत गर्नुभयो । उक्त बजेटमध्ये आयतर्फ सङ्घीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, सङ्घीय सरकार राजश्व बाँडफाँटबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड १९ लाख ७५ हजार रुपियाँ रहेको छ ।

यता अर्जुनधारा नगरपालिकाले आर्थिक वर्षका लागि ७६ करोड ११ लाख ८० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित १३ औँ नियमित अधिवेशनमा आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगर उप–प्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभयो । 

यसैगरी, झापा बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ८८ लाख ४० हजार ६ सय रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । समृद्ध बाह्रदशीको आधार, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार भन्ने मूल नाराका साथ गाउँपालिकाको तेह्रौँ गाउँ सभाले बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गाउँ सभाबाट विनियोजित बजेट सार्वजनिक गर्नुभयो । यता मेचीनगर नगरपालिकाको आर्थिक वर्षका लागि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरको बजेट १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो । यसैगरी, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि उपाध्यक्ष पूजन न्यौपानेले ५२ करोड ९२ लाख ४९ हजार १ सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

यता झापाको कमल गाउँपालिकाले ७२ करोड २१ लख ८८ हजार रुपियाँको बजेट ल्याएको छ । गाउँ सभामा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बजेट सार्वजनिक गर्नुभएको हो । भद्रपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०-०८१ मा ८५ करोड ६७ लाख ३ हजार बजेट नगरपालिकाका उपप्रमुख राधा कार्कीले नगर सभामा सार्वजनिक गर्नुभएको छ । कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६३ करोड १ लाख १० हजार बजेट गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सार्वजनिक गर्नुभएको छ ।