• ४ जेठ २०८१, शुक्रबार

सिद्धिचरण नगरपालिकाको बजेट : बुङको आलु उत्पादन प्रोत्साहन

blog

सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल

शेरबहादुर राई

ओखलढुङ्गा, असार १० गते । सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ५६ लाख ९९ हजार ३ सय रुपियाँ बजेट सार्वजनिक गरेको छ । 

आर्थिक वर्ष २०८०-०८१ को लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि नगरपालिकाको १२ औँ नगरसभामा  उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । 

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय एक करोड ५० लाख र मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँड बाट ६५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट नौ करोड ८७ लाख तीन हजार तीन सय रहेको छ । 

यसका साथै सवारी साधन कर प्रदेश सरकार ८५ लाख ९३ हजार, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र सशर्त अनुदान गरी ४९ करोड ८८ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश करकारबाट वित्तीय समानिकरण, समपुरक र सशर्त अनुदान गरी तीन करोड ३१ लाख तीन हजार र बाँकी नपुग रकम मौज्दातबाट दुई करोड ५० लाख व्यहोर्ने गरी बजेट सार्वजनिक गरिएको छ । 

नगरपालिकाले आगामी आर्थिक वर्षमा ५३ लाख ३६ हजार रकम जोगाउने गरी चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने भएको छ । चालु आर्थिक वर्षमा चालु तथा प्रशासनिक खर्चमा ११ करोड ९१ लाख ३२ हजार आठ सय ६० रुपियाँ विनियोजन भएकोमा आगामी वर्षका लागि ११ करोड ३७ लाख ९६ हजार मात्र विनियोजन गरिएको उपप्रमुख केदारबाबु बस्नेतले सार्वजनिक गर्नुभएको बजेटमा उल्लेख गरिएको छ । 

नगरपालिकाले कृषि, पशुपञ्छी, शिक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कृषि उपज बजारसम्म पुराउन कृषि एम्बुलेन्सको व्यवस्था गर्ने, बुङको आलु उत्पादन प्रोत्साहन र भण्डारण साथै बजारीकरण गर्ने, नगदेबालीहरु प्याज, लसुनलगायत अन्य नगदेबाली उत्पादन गरी आयात प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रम ल्याइएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । 

शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणजस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजनासमेत रहेको प्रमुख खनालको भनाइ छ । नगरसभाका सदस्यले ओखलढुङ्गा सदरमुकाममा ढल व्यवस्थापन, शिक्षामा दलितलाई विशेष सहयोग, फोहोर सङ्कलन निजी क्षेत्रलाई दिनुपर्ने, सवारी साधन पार्किङको व्यवस्थापन, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम प्रभावकारी गराउनुपर्ने र पर्यटकीय क्षेत्रको विकासलगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । 

सिद्धिचरण नगरपालिका सँगै सुनकोशी, लिखु, मोलुङ, खिजिदेम्बा, चिशंखुगढी, मानेभञ्ज्याङ गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०-०८१ का लागि नीति तथा कार्यक्रम साथै बजेट ल्याएका छन् ।