पर्वत समाचारदाता
पर्वत, असार १० गते । जनशक्ति अभाव भएको भन्दै पर्वत अस्पतालले भिडियो एक्सरे सेवा बन्द गरेपछि पर्वतका सर्वसाधारण नागरिक उक्त सेवाबाट वञ्चित बनेका छन्। अस्पतालका निमित्त प्रमुख डा. रुक्मिणा अधिकारीले दक्ष जनशक्ति नहुँदा इमरजेन्सीबाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो।
अस्पालतमा भिडियो एक्सरे सेवा प्रभावित बनेसँगै यहाँका नागरिक मर्कामा परेका छन्। अस्पतालमा सेवा बन्द भएपछि निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य भएको बिरामीले गुनासो गरेका छन्। दैनिक दुई सयभन्दा बढी बिरामी आउने पर्वत अस्पतालले सूचना प्रकाशन गरेर सेवा दिन नसकिएको बताएको हो। सर्वसाधारण नागरिक पोखरा, बागलुङलगायतका ठाउँमा जानुपर्ने बाध्यता भएको छ। फलेवास नगरपालिका–१ कार्किनेटाकी बिरामी सुमित्रा विकले उपचारका लागि अन्तै जानुपरेको बताउनुभयो।
जनशक्ति अभावका कारण अस्पतालले हप्ताको दुई दिन मात्र भिडियो एक्सरे सेवा सञ्चालन गर्ने जनाएको छ।
पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जनशक्ति अभावका कारण भिडियो एक्सरे सेवा बन्द भएको र जनशक्ति परिपूर्ति भएपछि नियमित सेवा प्रदान गरिने बताउनुभयो। अध्यक्ष गिरीले भन्नुभयो, “भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एक जना एमडिजिपी डाक्टर हुनुहुन्थो, उहाँ पनि सरुवा भएर बागलुङ जानुभयो, त्यसपछि समस्या भएको छ।”