तम्घास समाचारदाता
तम्घास, असार १० गते । २०७७ साल मङ्सिर १५ गते हतार हतारमा शिलान्यास गरिएका १५ बेडका अस्पतालको अवस्था लथालिङ्ग छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय अवस्थामा छन् ।
अस्पतालको शिलान्यास गर्न केन्द्रीय मन्त्री, प्रदेशका मन्त्री र प्रदेश सभा सदस्यहरूले गाउँमा पुगेर एकै दिन दुई/तीन वटा अस्पतालको शिलान्यास गरिएको थियो। शिलन्यास भएको झन्डै तीन वर्ष पुग्न लाग्दा पनि ती अस्पतालको निर्माणले गति लिन सकेको छैन।
मालिकामा जग्गा विवाद
मालिका गाउँपालिका–४, अर्खबाङमा पूर्वमन्त्री गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गर्नुभयो। सो अस्पताल हालसम्म शिलान्यासमै मात्र सीमित भएको छ। शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेको र अस्पताल निर्माण हुन नसक्ने भएकाले नजिकै जग्गाको व्यवस्थापन गरी टेन्डरको प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले जानकारी दिनुभयो।
धुर्कोटको घडेरीमा पहिरो
धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको ठाउँमा पहिरो आएका कारण निर्माण अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो। लामो समयको कसरतपश्चात् मन्त्रालयबाट नक्सा परिवर्तन गरी आएकाले अस्पतालको निर्माण सुरु गरिएको उहाँको भनाइ छ।
इस्मामा बल्ल पिल्लर
इस्मा गाउँपालिका–४, दोहलीस्थित गुरुङगाडेमा १५ बेडको अस्पताल निर्माण बल्ल बेसमेन्टको कार्य भइरहेको इन्जिनियर सुनील भण्डारीले जानकारी दिनुभयो। सुरुमा विस्तृत आयोजना प्रतिवेदनलगायतका केही कुरामा समस्या आएकाले निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ।
त्यस्तै रुरु क्षेत्र गाउँपालिका–१ को रातामाटामा अस्पताल बनाउने ठाउँको माटो सम्याउने कार्य बल्ल सम्पन्न भएको छ।
कालीगण्डकीमा ३० प्रतिशत भौतिक प्रगति
तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तामझामका साथ शिलान्यास गरेको अस्पतालमा अहिले तेस्रो तला ढलानको कार्य भइरहेको छ। गाउँपालिका–३ को कनौटामा करिब साढे १२ करोडको लागतमा निर्माण भइरहेको अस्पतालको करिब ३० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सत्यनारायण राईले जानकारी दिनुभयो। सत्यवती गाउँपालिकामा १५ बेडको अस्पताल वडा नं. ६ जुहाङमा निर्माण दोस्रो तलाको ढलानका तयारी भइरहेको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिनुभयो।
मदाने गाउँपालिका–६, पुर्कोट दहमा अस्पताल निर्माणको काम भवनको एक ब्लकको तेस्रो तला ढलानको कार्य सकिएको र अन्य कार्य भइरहेको सबइन्जिनियर तीर्थराज पन्थीले जानकारी दिनुभयो।