• १३ असोज २०८१, आइतबार

शिक्षण सिकाइका मुख्य आधार

blog

आजको दिनमा शिक्षण, प्रशिक्षण गर्ने कार्य निकै जटिल हुँदै गएको छ । अथाह ज्ञानको सागर वृद्धि हुँदै गइरहेको वर्तमान समयमा विद्यार्थीलाई बृहत् ज्ञान दिन र सिप सिकाउन त्यति सजिलोे भने छैन । यस लेखमा शिक्षण सिकाइ प्रक्रियाका विचार गर्नुपर्ने प्रमुख बुँदाका बारेमा छलफल गर्ने प्रयास गरिएको छ । जसमा स्पष्ट शिक्षण सिकाइका उद्देश्य, निर्देशात्मक र व्यावहारिक शिक्षण सिकाइका रणनीति, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिइएको छ । यसका साथै यस आलेखमा सामाजिक सञ्जाल र अनलाइन मिडियाहरू, भिडियोहरू, अडियोहरू, फिल्डवर्क, परियोजना कार्य, कक्षा वातावरण, विद्यार्थीको बसाइ व्यवस्थापन, विद्यार्थीलाई सामाजिक कार्यमा लगाई सिकाउने जस्ता विभिन्न उपाय र दृष्टिकोणका बारेमा चर्चा हुनेछ । शान्त प्रविधिमैत्री कार्य वातावरण, कार्यसंस्कृति सिर्जना गर्न, समूह कार्यमा विद्यार्थीको संलग्नता बढाउन र नतिजामूलक सिकाइ परिणाम निकाल्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद्, शैक्षिक संस्था, सरकार र सरोकारवालाको भूमिका औँल्याउने प्रयास भएको छ ।

स्पष्ट उद्देश्य तय

विद्यार्थीलाई कुनै कुरा सिकाउनुभन्दा पहिले उनीहरूलाई हामी के सिकाउँदै छौँ ? र, विद्यार्थीले म किन र के सिक्दै छु भन्ने कुरा बुझाउनु जरुरी छ । उनीहरूलाई यो पनि बुझाउन जरुरी छ कि भविष्यको तयारीका लागि व्यावसायिक रूपमा आफूले कुन कुन सिप सिक्नु अनिवार्य छ । व्यावसायिक रूपमा आफूलाई तयार गर्न कुन कुन विषयको कति ज्ञान, सिप आर्जन गर्नु आवश्यक छ । जबसम्म सिकारूमा यी विषयको ज्ञानबोध हुँदैन, तबसम्म हामी लाख कोसिस गरे पनि हामीले चाहेजस्तो शिक्षण सिकाइ गर्न सक्दैनौँ । यो सम्पूर्ण शिक्षक प्रशिक्षकको अनुभवको सँगालो हो । शिक्षण सिकाइका उद्देश्य स्पष्ट नहुँदासम्म यसले भने जस्तो लक्ष्य प्राप्त गर्न सक्दैन । अतः शिक्षण सिकाइपूर्व नै स्पष्ट सिकाइ उद्देश्य तय गर्नु आवश्यक छ । यसो भएमा मात्र शिक्षण सिकाइका उद्देश्य अनुरूप शिक्षक र विद्यार्र्थी सँगसँगै साझा लक्ष्य अनुरूप अगाडि बढ्ने हुन्छ र शिक्षण व्रिmयाकलाप अगाडि बढ्छ । उद्देश्य तय गर्दा सिकाउनुपर्ने विषयका हार्ड सिप र सफ्ट सिप सूचीकृत गरी, चेक लिस्ट बनाई विशिष्ट र मापनयोग्य हुने गरी बनाउनु पर्छ । तब मात्र विद्यार्थीले के सिकिरहेको छु र किन सिकिरहेको छु भन्ने कुरा बुझ्न सहज हुन्छ । अनि मात्र उनीहरूले शिक्षकले सिकाइरहेको कुरामा ध्यान केन्द्रित गर्नुका साथै उद्देश्य अनुसारको सिप र ज्ञानको विकास गर्न सफल हुन्छन् ।

शिक्षण सिकाइका रणनीति

विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रूपमा निरन्तर सहभागी गराइराख्नका लागि विभिन्न निर्देशनात्मक शिक्षण सिकाइका रणनीति प्रयोग गर्नु अति महत्वपूर्ण छ । सधैँ लेक्चर विधि निरस र निष्क्रिय हुन सक्छ, त्यसैले शिक्षण सिकाइका विधिलाई समय अनुकूल बदल्नु पर्छ । एउटा शिक्षण विधि असफल भइसकेपछि अर्को विधि प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ । जस्तै : समूह छलफल, समूह कार्य, साइट अवलोकन, कक्षा कार्य, छोटो प्रस्तुतीकरण, मल्टिमिडिया स्रोत र वास्तविक जीवन उदाहरण समावेश हुन सक्छन् । विभिन्न विधि प्रयोग गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाई विद्यार्थीमा प्राप्त ज्ञान, सिप, धारणा र व्यावहारमा परिवर्तन ल्याउन सकिन्छ । एक गतिशील र अन्तरक्रियात्मक शिक्षण सिकाइ अनुभवका हिसाबले निकै प्रभावकारी शिक्षण सिकाइ हो । जसले विद्यार्थीको सहभागितालाई बुझ्ने र आवश्यकतामा आधारित भई शिक्षण प्रशिक्षण गर्न सहयोगी सिद्ध हुन्छ ।

प्रभावकारी सञ्चार

प्रत्येक विद्यार्थी फरक, फरक शक्ति, क्षमता, बौद्धिकता, ज्ञान, सिप, अनुशासन, आचरण, दृष्टिकोण र व्यावहार भएका हुन्छन् । तिनीहरूको फरक क्षमतालाई पहिचान गरी शिक्षक प्रशिक्षकले आफू अनुकूल हुने गरी प्रभावकारी शिक्षण सिकाइ गर्नु पर्छ । कमजोर विद्यार्थी र जान्ने विद्यार्थीलाई एउटै सिकाइ विधि लागु नहुन पनि सक्छ । कतिपय विद्यार्थीको अद्भुत क्षमता हुन्छ तर त्यो व्यक्त गर्न सक्दैनन् । त्यस्ता विद्यार्थीको क्षमतामा आधारित ज्ञान र सिपको विकास गराउँदै लैजानु पर्छ । फरक पहिचान भएका विद्यार्थीलाई वैकल्पिक स्रोत उपलब्ध गराउनु पर्छ र असाधारण क्षमता भएका विद्यार्थीलाई थप सहयोग प्रदान गरेर भए पनि शिक्षण सिकाइमा सहभागी गराउनु उपयुक्त हुन्छ । प्रत्येक कक्षाकोठाका विद्यार्थीलाई विभिन्न सिकाउने शैली, क्षमताको पहिचान गरी उनीहरूको भावनालाई सम्बोधन गर्न आवश्यक छ । प्रभावकारी सञ्चार सफल शिक्षण सिकाइको आधारशीला हो । एक सफल शिक्षकको भूमिकामा रही स्पष्ट रूपमा विद्यार्र्थीका बिच उपयुक्त तरिकाले सञ्चार गर्न आवश्यक छ । सरल भाषा प्रयोग गरेर विद्यार्थीको समस्याको चुरो कुरो पत्ता लगाउनुपर्ने हुन्छ । तब मात्र शिक्षकको कुरा सुन्न विद्यार्थी आतुर हुन्छन् । अनि मात्र उनीहरूसँग अन्तर्क्रिया गर्न र शिक्षण सिकाइको वातावरण तयार गर्न सहज हुन्छ । जहाँ विद्यार्थीले दिल खोलेर आफ्ना विचार शिक्षकसमक्ष व्यक्त गर्न सहज महसुस गर्छन् । तब मात्र शिक्षण सिकाइ सबल रूपमा अगाडि बढेको मान्न सकिन्छ । त्यो वतावरण एक सफल शिक्षकले बनाइदिनु पर्छ ।

प्रविधिको प्रयोग

अहिले समय बदलिएको छ । शिक्षण सिकाइका सामग्री हिजोका दिनमा जस्तो नपाइने अवस्था आज छैन । शिक्षक–विद्यार्थी प्रविधिमैत्री हुँदै पनि गइरहेका छन् । शिक्षण सिकाइमा टेक्नोलोजीलाई एकीकृत गर्न सकेमा विद्यार्र्थीको सिक्ने क्षमतामा वृद्धि गर्न सकिन्छ । सामाजिक सञ्जालहरू, भिडियोहरू, अडियोहरू र अनलाइन प्लेटफर्महरू प्रयोग अहिले समान्य जस्तै हुन थालेको छ । शिक्षक, विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाका बिचमा अन्तरसम्बन्धको विकास गर्न र शिक्षण सिकाइलाई थप अन्तर्क्रियात्मक, आकर्षक र प्रभावकारी बनाउन टेक्नोलोजीले मद्दत गर्छ । विद्यार्थीबिच शिक्षण सामग्री आदान प्रदान गर्न, असाइनमेन्ट, गृहकार्य, परियोजना कार्य सम्पन्न गर्न पनि सहज बनाउँछ । उनीहरूका बिच असल सञ्चार स्थापित गर्न सहज बनाउँछ । सूचना प्रविधिको प्रयोगले विद्यार्थीलाई पढ्ने, सिक्ने सामग्री खोज्न र शिक्षकलाई शिक्षण सिकाइका सामग्री छनोट गर्न मद्दत गर्छ । थ्रिडीमा बनाएका चित्रका बारेमा जानकारी लिन र मेडिकलतर्फका डाटालाई विश्लेषण गर्न निकै सहज बनाउँछ, मल्टिमिडिया प्रस्तुतीकरणले । विद्यार्थी–शिक्षकले आफूले नजानेसम्म पटक पटक दोहो¥याई तेह¥याई हेर्न र सुन्न सक्छन् । यो सुविधा भिडियो र अडियोले दिन्छ । थ्रिडी चित्र पनि मज्जाले बनाउन सहयोग गर्छ यसले । शिक्षण सिकाइमा मल्टिमिडिया प्रोजेक्टर र स्मार्ट बोर्ड निकै प्रयोगमा छन् । एक विद्यार्थी र शिक्षकका लागि कम्प्युटर र मोबाइल नै काफी छ ।

नियमित मूल्याङ्कन र प्रतिक्रिया

विद्यार्थीको प्रगति मूल्याङ्कन गर्न, अनुगमन गर्न र शिक्षण सिकाइमा सुधारका लागि निरन्तर मूल्याङ्कनको आवश्यकता  पर्छ । विद्यार्थीमा ज्ञान, सिप, व्यावहार, दृष्टिकोण, कलाको बुझाइ नाप्न विभिन्न मूल्याङ्कन विधि प्रयोग गर्न सकिन्छ । जस्तै : क्विज, कक्षा परीक्षा, बहुविकल्प प्रश्नहरू, वक्तृत्वकला, गायन, नृत्य, साहित्य कार्यक्रम, परियोजना कार्य, सामाजिक कार्यमा सहभागिता, समूह कार्य, आइटी क्लब, स्पोर्ट्स क्लब, लेख लेखन र प्रस्तुतीकरण आदि । समयमै र रचनात्मक पृष्ठपोषण प्रदान गर्न, प्रभावकारी शिक्षण र सिकाइमा सुधार ल्याउन लिखित, मौखिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान र सिपको मूल्याङ्कन हुनु जरुरी छ । यसले स्पष्ट सिकाइ उद्देश्य अनुरूप र शिक्षण सिकाइ भए, नभएको चेकलिस्टमार्फत विद्यार्थीको ज्ञान र सिपको विकास भए, नभएको तह नाप्न सहयोग गर्छ । साथै यसले सामाजिक मिडिया, भिडियोहरू, अडियोहरू, फिल्डवर्क, परियोजना कार्य, कक्षा कार्य, अतिरिक्त व्रिmयाकलापको शिक्षण सिकाइमा प्रभावकारिता मूल्याङ्कन गर्न सहज हुन्छ । प्रभावकारी शिक्षण र सिकाइका लागि व्याख्यान विधि, समूह छलफल, समूह कार्य, साइट अवलोकन, मल्टिमिडिया स्रोतहरू र वास्तविक जीवन उदाहरणसहित शिक्षण सिकाइ रणनीति अनुरूप विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रूपमा सहभागी बनाई तिनीहरूको प्रतिक्रिया लिनु अहिलेको छलफलको मुख्य अंश हो । 

निष्कर्ष

प्रभावकारी शिक्षण र सिकाइका लागि महत्वपूर्ण बुँदा नछुटाई सावधानीपूर्वक विचार गर्दै प्रयोग गर्दै जानु उपयुक्त हुन्छ । स्पष्ट सिकाइ उद्देश्य तय गर्न, शिक्षण सिकाइ रणनीति प्रयोग गर्न, प्रभावकारी रूपमा लागु गर्न सकेमा, सूचना प्रविधिलाई शिक्षण सिकाइमा प्रयोग गर्न सकेमा, प्रविधिमैत्री कार्य वातावरण र कार्य संस्कृत विकास गर्न सकेमा शिक्षण सिकाइमा आमूल परिर्वतन गर्न सकिन्छ । विद्यार्थीको निरन्तर मूल्याङ्कनले प्रभावकारी शिक्षण सिकाइमा सहयोग गर्छ । यसमा शिक्षकले निरन्तर रूपमा आफ्नो शिक्षण विधिमा चिन्तन गर्नु पर्छ । विद्यार्थीमा व्यावसायिक ज्ञान सिपको विकास भए, नभएको विश्लेषण गर्नु पर्छ । त्यसका लागि अवसर खोज्नु पर्छ । सिकाइमा विद्यार्थीको प्रतिक्रिया महत्वपूर्ण हुन्छ । परीक्षाको नतिजालाई मात्र मूल्याङ्कनको आधार बनाइनु हुँदैन भन्ने लेखकको मत हो । विश्वमा प्रयोग भएका शिक्षण सिकाइका नयाँ आयामलाई प्रयोग गर्दै जाँदा प्रभावकारी हुन्छ । माथि उल्लिखित प्रमुख बुँदालाई अँगालेर तिनीहरूलाई आफ्नो शिक्षण अभ्यासमा समावेश गरेमा विद्यार्थीको सिक्ने क्षमतामा अवश्य पनि सुधार भएर जाने छ । यसो भएमा हामी विद्यार्थीलाई सिकाइप्रति प्रेम विकास गर्न र तिनीहरूको पूर्ण क्षमता अनुसारको ज्ञान सिप सिकाउन सफल हुन्छौँ ।

लेखक राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक हुनुहुन्छ । 

   

Author

डा. शैलेन्द्र गिरी