गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविका जस्ता चुनौतीको सामना गर्न सकिने बताउनुभएको छ ।
एसियाली राष्ट्रहरूको खाद्य तथा कृषि सहकार्य (अफासी) को सातौँ साधारण सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री अधिकारीले अफासीले एसियाली राष्ट्रबिच कृषि र खाद्य सुरक्षाको क्षेत्रमा सहकार्य, नवीनतम प्रविधि र आपसी ज्ञानको आदानप्रदान गर्न महत्वपूर्ण मञ्चका रूपमा काम गरेको बताउनुभयो । उहाँले सदस्य राष्ट्रहरूबिचको सहकार्यमार्फत कृषि रूपान्तरणका लागि नयाँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिनुभयो ।
कृषि अनुसन्धानलाई सुदृढ बनाउन, दिगो खेतीपातीको अभ्यासलाई प्रवर्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्न अपरिहार्य रहेको र यसका लागि अफासीले मञ्चका रूपमा कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
साधारण सभामा अफासीका सदस्य राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको थियो । तीन/तीन वर्षमा आयोजना हुने आगामी साधारण सभा इन्डोनेसियामा आयोजना हुने निर्णय भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।शुक्रबारै राजधानीमा आयोजना भएको दोस्रो आलु सम्मेलनलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको कुल गार्हस्थ उत्पादनमा ६.३५ प्रतिशत योगदान रहेको आलु बालीको प्रवर्धनका लागि सरकारले प्राथमिकताका साथ काम गरेको बताउनुभयो ।
सरकारले आलु खेती सिकाइ केन्द्र स्थापना, बिउ तथा भण्डारणमा कृषकलाई अनुदान, शीतभण्डारलगायतका पूर्वाधार निर्माण भइरहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।