• २० असोज २०८१, आइतबार

कुशको शव बनाएर अन्त्येष्टि

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, असार १० गते । सिदिङ्वा गाउँपालिकामा पहिरोमा परेर बेपत्ता व्यक्ति फेला नपरेपछि आफन्तले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन्। भीषण वर्षासँगै गएको पहिरोमा बेपत्ता भएकालाई एक सातासम्म खोजी गर्दासमेत फेला नपरेपछि आफन्तले हिन्दु संस्कार अनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन्। 

गत साता भीषण वर्षासँगैको पहिरोमा परी सिदिङ्वा गाउँपालिका–६, मेहेले भालुखोपका एकै परिवारका तीन जना बेपत्ता हुनुभएको थियो। बेपत्ता हुनेहरूको एक सातासम्म अर्थात् शुक्रबार दिउँसोसम्म निरन्तर खोजी गर्दा पनि फेला नपरेपछि कुशको शव बनाई शुक्रबार नै अन्त्येष्टि गरिएको आफन्तजनले जनाएका छन्। पहिरोमा परी बेपत्ता ६३ वर्षीय भगीमाया बुढाक्षेत्री, बुढाक्षेत्रीकी बुहारी ३० वर्षीय सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल बुढाक्षेत्रीको हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो।

पहिरोमा बेपत्ता हुनुभएका उहाँहरूलाई परिवार, अन्य आफन्तसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतले निरन्तर खोजी गर्दा पनि फेला पार्न सकिएन। सोही पहिरोमा परी बेपत्ता हुनुभएका गणेश तामाङको भने खोजी गर्ने क्रममा शव भेटिएको थियो।