• ७ असार २०८१, शुक्रबार

तेस्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

blog

काठमाडौं, असार ९ गते । नेपाल ब्याडमिन्टन सङ्घको तत्त्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन सङ्घ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेदेखि हुनेभएको छ । 

नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा  हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ वर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र/छात्रा गरी १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा बागमती प्रदेश ब्याडमिन्टन सङ्घ तदर्थ समितिका अध्यक्ष रुद्र थिङ्गले जानकारी दिनुभयो । 

असार १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेको छ । प्रतियोगितामा पुरुष र महिला एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः ५०, २५ र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पुरुष युगलतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः ४०, २० र आठ, भेट्रान्सतर्फको शीर्ष तीनमा रहने खेलाडीलाई ३०, १५ र ६ हजार रुपियाँ प्रदान गरिनेछ । 

उमेर समूहमा विजेता, उपविजेता र तेस्रो हुनेलाई पनि आकर्षक नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दुई ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।