रेखीराम राना
पाल्पा, असार ९ गते । गाईगोरुमा फैलिएको ‘लम्पी स्किन’ सङ्क्रमणका कारण पाल्पामा १ सय १० पशु चौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका अनुसार सो रोगले यहाँका चार हजार बढी पशु प्रभावित भएका छन् ।
दुई हजार बढी गाईगोरुको उपचार गरिएको केन्द्रले जनाएको छ । लम्पी स्किनका कारण दूध उत्पादन र कृषि क्षेत्रलाई असर पुगेको केन्द्रका पशु चिकित्सक डा. नवीन बस्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘धेरै स्थानमा हल गोरुमा लम्पी स्किन देखिएको छ, अहिले धान र मकै हुर्काउने बेलामा असर गरेको छ ।’
जिल्लाको तानसेन, माथागढी, बगनासकाली, रिव्दीकोट, तिनाउ, निस्दी र रैनादेवी छहराका पशुचौपायामा लम्पी स्किन रोगको प्रभाव बढी देखिएको छ । यी स्थानमा कृषि क्षेत्रका लागि प्रयोग हुने पशुचौपाया र दूध उत्पादनका लागि पालिएका पशुचौपाया छन् ।
लम्पी स्किनकै कारण आफ्नो गोठमा अहिलेसम्म चार वटा जर्सीगाई मरेको र अझैँ तीन–चार वटा बिरामी रहेको तानसेन –१२ का किसान रुकवीर रेश्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लम्पी स्किन रोगले मेरो पाँच लाख रुपियाँ क्षति भएको छ, दैनिक दूध उत्पादनमा असर पुगेको छ ।’
कृषि उत्पादनका लागि प्रयोग हुने हल गोरु, दूध उत्पादन गर्ने गाई मर्न थालेपछि पाल्पाका केही किसान समस्यामा परेका छन् । अहिले सामान्य एक हल गोरु खरिद गर्न ५० हजार रुपियाँ खर्च लाग्छ भने दूध उत्पादन गर्ने गाई मरेको खण्डमा किसानलाई लाखौँको क्षति हुने माथागढी–३, कसेनीका किसान गुनबहादुर रानाले बताउनुभयो ।
लम्पी स्किनको सङ्क्रमण फैलिएपछि गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिएको छ । लम्पी स्किनको समस्या देखिएका २०–३० प्रतिशत पशु मर्नेगरेको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताउनुभयो ।