गोविन्द शर्मा
बाँके, असार ९ गते । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि डेढ अर्ब बढीको बजेट ल्याएको छ । शनिबार १३ औँ नगर सभामा उपप्रमुख कमरुद्धिन राईले १ अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ रुपियाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले चालु आवमा अनुमानित राजस्व आम्दानी सन्तोषजनक रहे पनि बाह्य अनुदान र निकासीमा भएको कटौतीका कारण बजेट खर्च प्रभावित भएको जानकारी दिनुभयो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले भन्नुभयो, ‘कुल आम्दानीको अधिकांश भार सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान हुन् ।’ त्यसले दीर्घकालीन उपलब्धि नहुने भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा लिई कार्यान्वयन गर्नु अपरिहार्य भइसकेको उहाँले बताउनुभयो ।
चालु आवमा नेपालगञ्जको जम्मा बजेट १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपियाँ रहेको छ । नगरका २३ वटा वडालाई २५ करोड सिलिङ उपलब्ध गराइएको छ । कुल आम्दानीमध्ये राजस्व र अनुदान बचत २० करोड, आन्तरिक आय १८ करोड, घरजग्गा रजिस्ट्रेसन १४ करोड हुने अनुमान गरिएको छ ।
नगर सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रशान्त विष्टले हरित नेपालगञ्ज कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने, भौतिक पूर्वाधार निर्माण, व्यवस्थित सहरीकरणका लागि योजनाबद्ध विकासलाई अघि बढाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गरिनेछ, बजेटमा नगरवासीको रचनात्मक साथ र सहयोगको अपेक्षा गरिएको छ ।’
कोहलपुरको बजेट एक अर्ब बढी
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि एक अर्ब बढीको बजेट ल्याएको छ । शुक्रबार आयोजित १३ औँ नगर सभामा उपप्रमुख सङ्गीता सुवेदीले एक अर्ब सात करोड ७४ लाख रुपियाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । नगर प्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विशेष कार्यक्रम सार्वजनिक गरिएको छ । शिक्षासँगै स्वास्थ्यमा पनि प्राथमिकता दिइएको छ ।
डुडुवाको बजेट ४८ करोड
डुडुवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । शुक्रबार १४ औँ नगर सभामा अध्यक्ष नरेन्द्र चौधरीले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष साहिदा बानोले बजेट प्रस्तुत गर्नुभएको हो । डुडुवा गाउँपालिकाले शिक्षा, स्वास्थ्यसँगै रोजगारलाई प्राथमिकता दिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
खजुराको नीति कार्यक्रम पारित
खजुरा गाउँपालिकाले शुक्रबार १३ औँ गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । अध्यक्ष डम्बरबहादुर विकले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ ।
गौरवका आयोजनालाई निरन्तरता दिदैं फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना अघि बढाइने उल्लेख गरिएको छ । आइतबार बस्ने अर्को बैठकमा उपाध्यक्ष मञ्जु मल्लले वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
जानकी गापाको बजेट ४६ करोड
जानकी गाउँपालिकाको १४ औँ गाउँ सभामा ४६ करोड बढीको बजेट पेस गरेको छ । गाउँ सभामा उपाध्यक्ष रामप्यारी कुर्मीले ४६ करोड १० लाख ८९ हजार ६१६ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष छब्बन खाँले भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो ।