• १४ मंसिर २०८१, शुक्रबार

डुबानबाट जोगाउन तीन स्थानमा तटबन्ध निर्माण कार्य सुरु

blog

बाढीबाट जोगाउन राप्ती नदीमा तटबन्ध निर्माण सुरु गरिएको छ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, असार ९ गते ।
 राप्तीनदीमा आउने बाढीबाट जोखिममा रहेकाहरूलाई जोगाउन बाँकेको राप्तीसोनारी ७ खल्ला झगडियालगायत तीन स्थानमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाँकेको राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा राप्तीसोनारी र नरैनापुरका सयौँ घर जोखिममा रहेकाका कारण तटबन्ध निर्माण सुरु गरेको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीको पहलमा भत्किएको तटबन्धलगायत अन्य केही तटबन्ध निर्माण हुन थालेको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य केसीका अनुसार राप्तीसोनारी–२ कचनापुरको मधुवा र वडा नम्बर–७ को खल्लाझगडिया, नरैनापुर ५ को भोजभगवानपुर लगायतका स्थानमा तत्काल तटबन्ध निर्माणका लागि सङ्घीय सरकारबाट दुई करोड रुपियाँ प्राप्त भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक कोषबाट सो रकम विनियोजन गर्न लगाएपछि जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत काम अगाडि बढिसकेको उहाँको भनाइ छ ।

यसैगरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाँकेको राप्तीसोनारी–७ फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा फत्तेपुर र नरैनापुर–६ गङ्गापुरका करिब १० हजार मानिस डुबानको उच्च जोखिम रहेकोमा अब राहत हुने बताउनुभयो ।

उहाँले समय कम रहेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नु पर्नेमा सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउनुभयो ।