• १४ मंसिर २०८१, शुक्रबार

एक दिनको नगर सभामा दुई दिनको भत्ता

blog

फाइल तस्बिर

मुरारी अधिकारी

धादिङ, असार ९ गते । धादिङको नीलकण्ठ नगरपालिकाले एक दिनको कार्यक्रम गरी सहभागीलाई दुई दिनको हस्ताक्षर गराई भत्ता खुवाएको छ । नगरपालिकाले बिहीबार गरेको नगर सभामा बिहीबार र शुक्रबारको फरक–फरक उपस्थितिमा सहभागीलाई हस्ताक्षर गराएर भत्ता खुवाएको हो । 

एक दिन मात्र सञ्चालन भएको नगर सभामा सहभागी दुई सयभन्दा बढीलाई फरक दुई दिनको हस्ताक्षर गराएर भत्ता खुवाएको छ । कार्यक्रम नै नभएको दिनको हस्ताक्षर किन गराइएको भनेर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीलाई सोध्दा यो विषयमा नबोल्ने बताउनुभयो । 

नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले नगर सभाको निर्णय पुस्तिका नगर प्रमुखले प्रमाणित गर्ने भएकाले यो विषयमा प्रतिक्रिया नजनाउने बताउनुभयो । नगरपालिका महासङ्घका अध्यक्ष समेत रहनुभएका भीमप्रसाद ढुङ्गानाले नेतृत्व गरेको नीलकण्ठ नगरपालिकामा यस्तो घटना भएको छ ।

सो नपा वडा २ का वडा अध्यक्ष धोजबहादुर गुरुङले नगर सभा एकै दिनमा सकेर हरेक वर्ष दुई दिनको उपस्थिति देखाएर भत्ता लिने प्रचलन रहेको बताउनुभयो । 

एक दिनमा नगर सभा सकेर दुई दिनको सुविधा लिनेगरी निर्णय उठाएको थाहा पाएपछि वडा ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले निर्णय पुस्तिका मगाएर दोस्रो दिनको उपस्थितिमा गरिएको हस्ताक्षर केरेर एक दिनको भत्ता फिर्ता गरेको जानकारी दिनुभयो । 

वडा १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले आफू बैठकमा गएका बेला सम्पन्न नगर सभामा फरक–फरक निर्णय पुस्तिकामा हस्ताक्षर गर्न लगाए पनि केमा हस्ताक्षर गरियो भन्ने थाहा नभएको बताउनुभयो । हरेक बैठकमा पहिले नै उपस्थितिमा हस्ताक्षर गरेर पछि निर्णय लेख्नेगरेकाले नगर सभाको निर्णयपुस्तिकामा नपढी हस्ताक्षर गरेको बताउनुभयो । प्रदेश सरकारले तोकेबमोजिम सहभागीलाई प्रतिदिनको कर कट्टी गरेर दिनको ८ सय ५० का दरले भत्ता उपलब्ध गराएको जनाएको छ ।