• १२ मंसिर २०८१, बुधबार

चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम

blog

तालिममा सहभागि चिकित्सक र स्वास्थ्यकर्मीहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार ९ गते ।
 अत्यधिक गर्मीका कारण जमिनमुनिका सर्पहरू बाहिर निस्कँदा सर्पदंशका घटना बढेपछि नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापनसम्बन्धी तालिम दिन सुरु गरिएको छ ।

स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरूलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. कृष्ण आचार्यले स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा भेरी अस्पतालमा आयोजित तीन दिने तालिमको सहजीकरण गर्दै सर्पदंशका अधिकांश बिरामीको स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले व्यवस्थापन गर्न नसक्दा क्षति हुने गरेको बताउनुभयो । उहाँले सर्पदंशबाट क्षति नहोस् भन्ने उद्देश्यले सर्पदंश व्यवस्थापनसम्बन्धी तालिम दिइएको बताउनुभयो ।

जङ्गल क्षेत्रसँग जोडिएका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत तराईका २२ जिल्ला र सुर्खेत, डडेल्धुरा, पाल्पा र सिन्धुली तथा पहाडी जिल्ला सर्पको अत्यधिक जोखिममा पर्छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ र बर्दियाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, स्वास्थ्यकर्मी सहभागी तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापनसम्मको जानकारी प्रवाह गरिरहेको जानकारी दिनुभयो । उहाँले उक्त तालिमबाट सर्पदंशबाट हुने क्षति रोक्न ठुलो सहयोग मिल्ने बताउनुभयो ।

सो तालिममा भेरी अस्पतालका निमित्त प्रमुख समेत रहनुभएका एनेस्थेसियोलोजिष्ट डा. आचार्य, सर्पदंश विशेषज्ञ कमल देवकोटा, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजंश शाहलगायतले सहजीकरण गरिरहनुभएको छ ।