• १० मंसिर २०८१, सोमबार

मातृभाषाप्रतिको उत्कृष्ट अनुराग

blog

रामकृष्ण शर्माको भूमि कालेबुङ । शिक्षा, साहित्य, भाषा आन्दोलन र जातीय जागरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको एक ऐतिहासिक स्थल हो कालेबुङ । रामकृष्ण शर्मा सँगसँगै पारसमणिको नाम जोडिएको एक ‘सांस्कृतिकता’ हो कालेबुङ । 

प्रसिद्ध समालोचक रामकृष्ण शर्माको चर्चा र ख्याति भारतीय नेपाली साहित्यमा शीर्ष स्थानमा छ । तथापि उहाँलाई नेपालको नेपाली साहित्यले पनि उत्तिकै आदर र सम्मानले ग्रहण गरेको छ । 

रामकृष्ण शर्माले सांस्कृतिक मलजलबाट सिँचेको भूमि हो, नवीन पौड्यालको उद्गम पनि । नवीनका समालोचनाका कृतिहरू आधा दर्जनको सङ्ख्या नाघेका छन् । सन् २०२३ फेब्रुअरीमा इन्द्रेनी प्रकाशन असमद्वारा प्रकाशित नवीन पौड्यालको ‘नेपाली गीतको सेरोफेरो’ भित्र गीतका इतिवृत्तमा लेखिएका १३ वटा विभिन्न शीर्षकका समीक्षा छन् । यी समीक्षाहरू खोज, अनुसन्धान र अन्वेषणमा आधारित छन् । 

‘नेपाली कथा समीक्षा’ (सन् २००५), ‘आख्यान अनुशीलन’ (सन् २०११), ‘साहित्य अनुशीलन’ (सन् २०१४), ‘साहित्य सन्धान’ (सन् २०१८), ‘कृति सन्धान’ (सन् २०२०) र ‘भारतीय नेपाली समालोचक सन्दर्भिका’ (सन् २०२१) पश्चात् सन् २०२३ को प्रारम्भमा ‘नेपाली गीतको सेरोफेरो’ पेस गर्नुभएको छ नवीन पौड्यालले भारतीय नेपाली समालोचना वृत्तमा । भारतीय गीत–सङ्गीत क्षेत्रको नालिबेली उधिन्ने व्रmममा नवीनले नेपालका केही नयाँ–पुराना आधुनिक गीत र लोकगीतका सन्दर्भमा पनि विश्लेषण गर्नुभएको छ । नेपाली गीत–सङ्गीत नेपालीभाषीको धरोहर भएको हुँदा भारतीय नेपालीभाषीसमेत यसबाट पृथक् रहन सक्दैनन् । नवीनको यो कृति गीत–सङ्गीतकै केन्द्रबिन्दुमा रहेर इतिहासदेखि वर्तमानसम्म निर्माण भएको धरातललाई विस्तार गर्ने अभीष्टमा रहेको छ । 

गीत–सङ्गीत र साहित्यमा भूगोलको सीमारेखाले अलिकति पनि फरक नपार्ने कुरा नवीनले नेपाल र भारतबिचको सांस्कृतिक सहसम्बन्धले जोडेको नाताबाट पुष्टि गर्नु भएको छ । नेपालका धर्मराज थापा (गायक–गीतकार), राजेन्द्र थापा (गीतकार), पल शाह (अभिनेता), मलिका (अभिनेत्री), झलकमान गन्धर्व (गीत सङ्कलक र गायक), चाँदनी शाह (गीतकार), कृष्णहरि बराल (गीतकार), गोपाल योन्जन (गीतकार), अम्बर गुरुङ (सङ्गीतकार), रविन शर्मा (गायक), मदनकृष्ण श्रेष्ठ (कलाकार), मिथिला शर्मा (कलाकार), राजनराज शिवाकोटी (गीतकार), मार्मिक लामा (गायक) आदिले गीत–सङ्गीतका क्षेत्रमा पु¥याउनु भएको योगदानलाई विश्लेषण गर्न बिर्सनु भएको छैन, नवीन पौड्यालले । 

कृतिको मन्तव्यमा डा. राजेन्द्र भण्डारीले जीवन, गीत र लयलाई एक अर्काका पूरक ठह-याउँदै सर्वोत्कृष्ट लयचाहिँ ‘आमाको काख’ हो भनेर पुष्टि गर्नुभएको छ, जुन लय गीत–सङ्गीतभन्दा जेठो भनेर स्विकारिएको छ । शायद यही आशीर्वचनलाई शिरोधार्य ठह-याउने क्रममा नवीन पौड्यालको ‘नेपाली गीतको सेरोफेरो’ आइपुगेको हो, जहाँ असम, देहरादुन, कालेबुङ, डुवर्स, सिक्किम, दार्जिलिङ वा कलकत्ताको माटोले अथ्र्याएको छ । यसका अतिरिक्त नेपालको पुण्यितता पनि सह–सांस्कृतिकीले जोडिन पुगेको छ । नवीनको मातृभाषाप्रतिको उत्कृष्ट अनुराग योभन्दा अर्को हुन सक्तैन । भारतीय नेपाली गीत लेखन वा गायन परम्पराको एक शताब्दी पुरानो इतिहासलाई पुनर्नवीकरण गर्न नवीनले विभिन्न स्रोत सामग्रीहरूलाई उपयोग गर्नुभएको छ । 

नेपाली गीतका प्रारम्भिक चरणमा सन् १९०३ मा देखा पर्नु भएका पुरुषतर्फ प्रथम गायक पहिलो विश्वयुद्धमा नेपालबाट भारत लाहुरे भएर जानु भएका सेतुराम श्रेष्ठ हुनुहुन्छ भने नेपालकी मेलवादेवी सन् १९३१ मा देखा पर्नु भएकी गायिका हुनुहुन्छ । यहाँ नवीनले मेलवादेवीलाई बिर्सेको अनुभव हुन्छ ।  त्यसकालमै असमका हरिनारायण उपाध्याय ‘विद्याभूषण’द्वारा सन् १९१० मा प्रकाशित गीत सङ्ग्रह, देहरादुनका बहादुरसिंह बरालद्वारा सन् १९३२ मा प्रकाशित गीत सङ्ग्रह, देहरादुनकै मास्टर मित्रसेन थापाद्वारा सन् १९४० मा रेकर्डिङ गरिएका गीतहरूले एउटा खाका कोर्दै गर्दा अगमसिंह गिरी, हरिभक्त कटुवाल, जस योन्जन प्यासी, सीके श्रेष्ठ, पुरण गिरी, पुष्कर पराजुली, नरदेन रुम्बा, वली सुब्बा, शरण प्रधान, तुलसी घिमिरे र सानु लामा जस्ता विशिष्ट भारतीय नेपाली गीत सर्जकहरूले आधुनिक युगको सूत्रपात गर्नुभएको हो । 

भारतीय नेपाली गीतकारका बारेमा लेखिनुपर्ने थुपै्र कुरा छुटेको लेखकको आत्मस्वीकृतिलाई मनन गर्दा प्रस्तुत कृतिले थप अर्को अनुसन्धानको ढोका खोल्नु पर्ने तथ्य पुष्टि गरेको छ । 

समालोचना र अनुसन्धानको कार्य कम जोखिमपूर्ण हुँदैन । यो कार्यमा लगनशीलता र निर्भीकता विशेष आवश्यक हुन्छ । यसका अतिरिक्त अवसर र सुविधाबाट वञ्चित हुनेहरूका लागि थप जटिलता उत्पन्न हुनु अस्वाभाविक होइन । कृतिमा भाषागत अशुद्धता, अन्वेषणात्मक कार्यकुशलतामा अपूर्णता, गायक गीतकारको जन्मसाल र रचनाकालका इस्वी संवत्मा देखिएका कमी कमजोरी हुँदाहुँदै पनि भारतीय इतिवृत्तमा शताब्दीदेखि चलिआएका गीतसङ्गीत क्षेत्रको प्रवर्धन र अभिलेख व्यवस्थापन गर्ने कार्य नवीनको प्रशंसनीय पक्ष हो । 

नवीनले जीवनको लय बुझ्नुभएको छ । गीतको अर्थ बुझ्नुभएको छ । सङ्गीतको मर्म बुझ्नुभएको छ । लयात्मकतामा रहेका ती उद्यमताहरूलाई भारतीय नेपाली सांस्कृतिक पहिचानसित पर्गेलेर हेर्ने र अथ्र्याउने क्रममा नवीनले ‘गीति साहित्यको सुदीर्घ’ परम्परालाई प्रवर्धन मात्र नगरी सम्मानित तुल्याउन यो कृतिको प्रारूप तयार गर्नुभएको हो । 

अभिव्यक्ति सम्प्रेषणमा कविता–काव्य, कथाख्यान, नाटक वा निबन्ध सरह गीत–सङ्गीतको विशिष्ट भूमिका हुन्छ । यसले दर्द–विरह, पीडा–खुसी, हर्ष, उत्प्रेरणा, आल्हाद–आनन्द र जनजागरण प्रस्फुटन गर्न प्रभावकारी प्रस्तुति गर्दछ । गीत सङ्गीतको ऊर्जा र व्यापकतालाई विश्वको कुनै पनि सत्ता र शक्तिले बेवास्ता गर्न मिल्दैन । 

जातीय वा राष्ट्रिय पहिचानलाई एकताको सूत्रमा बाँध्ने गीत–सङ्गीतमा ईश्वरीय शक्ति हुन्छ, जसमा प्राणी जाति र प्रकृतिका बिच शान्ति र उमङ्गको एक सुखद लय गाँसिएको हुन्छ ।  लयको आविष्कार र परिष्कारमाथि सूक्ष्म विश्वदृष्टि राख्ने क्षमता भएका गायक, गीतकार र सङ्गीतका व्यन्जनकारलाई आह्वान गर्न नवीन पौड्याल सफल देखिनु भएको छ । 

नवीनले गीत–सङ्गीत र शब्दलाई न्याय गर्ने व्रmममा आफ्नो समालोचकीय छविलाई सङ्कुचन गर्नुभएको छैन । ओझेलमा रहँदै आएका गीतकार र वाद्यवादनकारलाई पनि यथोचित स्थान दिनुपर्ने कुरामा विशेष सतर्कता देखाउनु भएको छ । 

कृतिलाई निर्बन्ध आलेखमा व्याख्या र विस्तार गर्दा अनुभूतिका सुयोगलाई विशिष्टीकृत गर्ने क्षमता एक कुशल निबन्धकारमा निर्भर गर्छ । नवीन पौड्यालको प्रतिविम्ब समालोचकीय व्यक्तित्वमा मात्र सीमित छैन । एक प्रखर निबन्धकारको हैसियत निर्माण गर्न सफल भएको देखिन्छ । नवीन पौड्यालले ‘नेपाली गीतको सेरोफेरो’लाई इतिहास र अनुसन्धानको मापदण्डमा भिœयाउँदै गर्दा शब्दको सार्थकतालाई बल प्रदान गर्नुभएको छ । कल्पना शक्तिको निर्बन्धतालाई अलङ्कृत गर्नुभएको छ । त्यसैले यस कृतिभित्रका समालोचकीय परख अनुसन्धानका कसीमा छन् । मूल्य र अस्तित्वका दसीमा छन् ।