• २३ असार २०८२, सोमबार

‘योगमायाको अभियानलाई विश्वमाझ पुर्‍याउन आवश्यक’

blog

राष्ट्रिय महिला आयोगद्वारा आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरसहित सहभागी प्रतिनिधि । तस्बिर : कबिता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समानताका लागि आफ्ना अनुयायीसँगै जलसमाधि लिनुभएकी वीराङ्गना योगमायाको स्मृतिमा अनुसन्धान प्रतिष्ठानसँगै सङ्घ संस्था पनि स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा लैङ्गिक समानता र महिला अधिकारका महान् अभियन्ता स्व. योगमायाको स्मृतिमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले भन्नुभयो, “योगमायालाई स्मृति दिवसमा मात्र सम्झेर उहाँको योगदानको कदर हुँदैन । ठोस काम पनि सँगै अगाडि बढाउनु जरुरी छ ।  प्रविधिको सहयोग लिएर योगमायाका अभियानलाई नयाँ पुस्ता र विश्वमाझ पुर्‍याउन आवश्यक छ ।” 

आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले पाँच वर्षअगाडि नेतृत्वमा आएपछि आयोगका सदस्यसहितको टोली योगमायाको जन्मथलो र कर्मथलोबारे भोजपुरसम्म पुगेर अध्ययन गरी योगमाया दिवस मनाउन थालेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “आजको युगमा पनि महिला, किशोरीले यौन हिंसा, घरेलु हिंसा, दाइजो प्रथालगायतका कारण ज्यान दिनुपर्ने स्थिति कायमै रहनुले योगमायाले अपेक्षा गरे जसरी सामाजिक परिवर्तनको अनुभव यो पुस्ताले पनि गर्न पाएका छैनन् ।” राष्ट्रिय सभा सांसद जयन्ती राईले योगमायाको योगदानको कदर गर्दै उहाँको पदचाप पछ्याउनुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय दलित आयोगकी सदस्य मीना सोवले सामाजिक विभेदविरुद्ध एकताबद्ध हुनुपर्ने सन्देश दिएर योगमायाले तत्कालीन समयमा मात्र होइन, आज र भविष्यका  पुस्ताको समेत आँखा खोलेर जानुभएको बताउनुभयो । मधेशी आयोगका सदस्य आभा सिंहले योगमायासँगै परिवर्तनका लागि आवाज बुलन्द गर्न तराईका महिलाले पनि साथ दिनुभएकाले जीवन त्यागेका सबै वीराङ्गना महिला, पुरुषका बारेमा खोजी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

यसैगरी काठमाडौँमा आइतबार नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२ सुकन्या वाइवा र योगमाया अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२ भूपाल बस्नेतलाई प्रदान गरेको छ ।