सैद्धान्तिक र संवैधानिक रूपमा नमानिए पनि व्यावहारिक रूपमा हाम्रो समाजमा धेरै कुरा जातमा गएर अड्कन्छ । जात व्यवस्थाले थुप्रै कुरा निर्धारण गर्छ । मान्छेको परिचयमा नामपश्चात् बोलिने थरमा जात व्यवस्थाको नमिठो हरक पाइन्छ । कुनै सभा, समारोह, गोष्ठी तालिम र सेमिनारहरूमा उच्च जातको भनिनेले निर्धक्क आफ्नो जात र थर भनेको पाइन्छ । निम्न जातको मानिने थरले आफ्नो नाम पछाडिको थर भन्न हीनताबोध गरेको र हिच्किचाएको सामाजिक मनोविज्ञानमा सहजै देखिन्छ । जात व्यवस्थाभित्रको छुवाछुतको व्यहारले घाइते नभएको देशको कुनै भूभाग छैन ।
कसैको थर स्पष्ट बुझिएन भने मान्छे उसको थर खोज्न लाग्छ । नाम मात्रै भनियो भने तपाईंको थर के हो भनेर मान्छे जिज्ञासु भएको देखिन्छ । यसको मतलव हो – उसले उसको कथित जात जान्न चाहन्छ । उसको मस्तिष्कमा जरा गाडेर बसेको उँचनीचको चेतना सल्बलाएको हो । यसले हाम्रो समाजको जात व्यवस्थाको समाजशास्त्रको प्रारम्भिक झलक दिन्छ । समाजको मानसिकतामा फिँजारिएर बसेको समाज मनोविज्ञानको उजागर गर्छ । कथित उपल्लो जातले (तल्लो भनिने) विशेष गरी अछुत जातका बारेमा जानकारी पाएपछि उसलाई सामाजिक भेदभावको नीतिबमोजिम ग्रामीण भेगमा खुलम्खुला विभेद गरिन्छ (केही अपवाद छोडेर) भने सहरी इलाकामा अलि नदेखिने गरी, घुमाउरो तवरमा विभेद गरिन्छ । यो मनोविज्ञान जात र धर्म तथा संस्कृति र संस्कारमा आधारित छ । मान्छेले पछि विकास गरेको यो संस्कारभन्दा अघि मानवको कुनै जाति थिएन, त्यो विशुद्ध मानव जाति मात्रै थियो । जहाँ भेदभावको कुनै गुन्जायस थिएन ।
विकासवादी सिद्धान्तकार चाल्र्स डार्बिनका अनुसार पहिलो एक कोषिकायुक्त जीवका रूपमा प्रोटिन अस्तित्वमा आएदेखि जीव विकासको इतिहासभित्र करिब छ करोड वर्षपूर्व वानर जातिबाट विकास भएका गिव्बन स्यामङ, ओराङ ओटाङ, गोरिल्ला, चिम्पाञ्जी, अफ्रिकी जस्ता अधिक चेत भएका वानरहरूबाट विकसित भई उभिएर हिँडने दुईखुट्टे अर्धमानवमा रूपान्तरण भएको पाइन्छ ।
नरवानरबाट विकसित भएको मानवजाति आजको मान्छे हो । नरवानरहरूले मान्छेको रूप लिएपछि आठ थरिका मानव जातिले आफूलाई विकास गरेको पाइन्छ । विभिन्न युगको अन्तरालमा अनेकथरि प्राणी, भीमकाय डाइनोसरसमेत लोप भए जसरी मानव जातिको पनि नास भएको मानिन्छ । अहिले अस्तित्वमा रहेको मानव जाति कपिएन जातिको भएको मानवशास्त्रीहरूको तर्क छ, (बराली, २०७२, पृ. १२३) ।
मानव उत्पत्तिमा हाम्रा धर्मग्रन्थमा आआफ्नो दाबी, हिन्दु धर्ममा इन्द्रपुरी (इरान), इस्लामी धर्मले मक्का मदिना (साउदी अरेबिया), क्रिश्चियन धर्ममा इजरायल भनेर वर्णन गरे पनि, रहे पनि ती आफ्ना धर्म प्रवर्तकलाई महान् बनाउने र प्रमुख धार्मिक स्थलको मान्यता दिने उद्देश्यले प्रेरित रहेको भन्न सकिन्छ । मानव जातिको उत्पत्ति दक्षिण पश्चिम एसिया तथा पूर्वी युरोप, उत्तरी अफ्रिका वरपर मेसोपोटिमिया वरपर भएको देखिन्छ ।
अरेबियन सागरको तटीय क्षेत्र साउदी अरेबिया क्षेत्र इराक, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत भएर अरेबियन आर्य जातिका रूपमा विकसित भएर नेपाल आइपुगेको इतिहासमा उल्लेख छ । यस्तै अर्को मानव हिस्सा स्पियन चाहिँ कस्पियन सागरको तटीय क्षेत्र हुँदै एसिया र युरोपको सीमा युराल पर्वतबाट युराल नदीको किनारै किनार झरेर केही हिस्सा पूर्वी भेक ब्रह्मपुत्रको किनारै किनार झरेर त्यही वरपरको पाखा, पर्वत हिमालयखण्डमा समेत बसोबास गरे, जसलाई मङ्गोलियन जाति भनिन्छ ।
उत्पत्ति कालमा मानव एउटा सग्लो जाति थियो, जहाँ स्त्री–पुरुषका रूपमा शारीरिक भिन्नताबाहेक अन्य भिन्नता र ठुलो सानोको भेद थिएन । इशापूर्व करिब १५०० तिर पेसाको आधारमा समाजमा वर्ण विभाजन भयो । ऋग्वेदको दसौँ मण्डलको १०, ७, ६० मा ईश्वर ( ब्रह्मा) का चार अङ्गमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रहरूको उल्लेख गरिएको पाइन्छ । बौद्धिक काम गर्ने ब्राह्मण, सैन्य वा सुरक्षाको काम गर्ने क्षेत्री, कृषि तथा व्यापार गर्ने वैश्य र सेवा तथा कठिन श्रम गर्ने शूद्रका रूपमा बुझियो, बुझाइयो (प्रश्रित, २०५८, पृ. ७) । यसरी प्रारम्भमा जात जन्मका आधारमा नभएर कर्मका आधारमा छुट्याइएको थियो । त्यसैले दक्षिण एसियाको जात व्यवस्थालाई संसारमा गरिने श्रम विभाजन हो, जात होइन पनि भनिन्छ । प्रारम्भमा यो श्रम विभाजन भए पनि पछि आएर यो जात व्यवस्थामा परिणत भयो ।
कामका आधारमा छुट्याएको एकै समाजका यी चार जातलाई छुट्टाछुट्टै नीति, कर्म, संस्कार मान्नुपर्ने अनि एकापसमा एकता हुनै नसक्ने गरी विभक्त गरियो । हाम्रा धर्मग्रन्थ रामायणमा शम्बुक ऋषिको टाउको रामले गिँडेको, महाभारतमा द्रोणाचार्यले एकलव्यको औँला काटेको, लवणासुरमा महिषासुर आदि असुर म्लेच्छ तथा गैरआर्य एवं शूद्रहरूलाई हत्या गरेको प्रसङ्ग पाइन्छ । यी यावत् प्रसङ्ग र दक्षिण एसियाको जात व्यवस्थाका फरक र गलत विशेषता छन् ः श्रम वर्गीकरण कसरी जात व्यवस्था र अछुतसमेत बन्ने स्थितिमा पुग्यो, यसबारे राजनीतिक चिन्तक आहुतिको तर्क हेरौँ : “शूद्रहरूले पढ्न नपाउने, ब्राह्मणको छोरोले हलो जोत्न नहुने, जसलाई जे तोकिएको छ । त्यसबाट दायाँबायाँ गर्न नमिल्ने त्यसले त्यही गर्नुपर्ने अनुलङ्घनीय श्रम विभाजन बन्यो । वंशानुगत रूपमा जे गरियो, त्यो पछिल्लो पुस्ताले पनि गर्नैपर्ने नियम बन्यो । तसर्थ शूद्र र वैश्यलाई धेरै मर्का प¥यो भने शूद्र सबैभन्दा पिँधमा रहन पुगे । लामो समयसम्म एकै काम गर्ने क्रममा नयाँ काम पहिले कहिल्यै नगरेको गर्न खोज्दा एउटा विद्रोह जन्मियो । ब्राह्मण र क्षेत्रीय समूहका लागि त्यो सह्य भएन र दमनको नीति अख्तियार ग¥यो । विद्रोह कसरी भयो भन्ने प्रमाण विष्णु पुराण र विशेषतः मनुस्मृतिमा वर्णित शूद्रलाई गर्ने सजायले प्रस्ट पार्छ । अति क्रुर सजाय शूद्रका लागि बनाइयो । जहाँ विद्रोह हुन्छ, त्यहाँ दमन गर्ने कानुन बन्छन् । मनुस्मृतिकालीन कानुन यसैको प्रमाण हो ।
शूद्रको विद्रोहलाई दमन गर्ने क्रममा सजायस्वरूप बहिस्करण गर्ने प्रक्रिया सुरु भयो । बहिस्करण गर्दा एकै धारा कुवाको पानी नखाने, सुगम ठाउँमा सँगै नराख्ने, हुँदाहुँदा छोएको खान नमिल्ने पानी नचल्ने अवस्थामा रूपान्तरण गरियो । नेपालमा छुवाछुत बुद्ध जन्मनुभन्दा अघि नै भएको अर्थात् २६ सय वर्षअघि नै लागू भइसकेको बुझ्न बुद्धकालीन जातक कथा र बुद्धले सबैलाई समान व्यवहार गर्नुबाट प्रस्ट हुन्छ । त्यही समयदेखि जातको उँचता र निचताको छुवाछुत र भेदभावको समाजशास्त्र समाजमा मान्छेको मनोविज्ञानमा रहेको छ । छुवाछुत धर्म, संस्कृति, परम्परा र अभ्यासमा देखिन्छ । शासन व्यवस्थामा दलितको पहुँच छैन । दलित सीमान्तकृत समुदायका रूपमा आज पनि छोइछिटो, अमर्यादा, अपमान, चोट बोकेर बाँच्न बाध्य छन् । समाजमा जातको मनोविज्ञान र समाजशास्त्र यति बलियोसँग रहेको छ । संविधानको धारामा उल्लेख गरेर समानता र स्वतन्त्रता सबैको हकमा बराबरी भने पनि थुप्रै ऐन, नियम, कानुन, सरकारी अनेक घोषणा भए पनि व्यवहारमा त्यो छैन । जातको नाममा बारम्बार मान्छे मारिएका छन्, निर्मम यातना पाएका छन्, अपमान झेलेका छन्, छुवाछुतको राजनीतिक सार (सत्व) यो यस्तो प्रणाली हो; जसले हरेक मान्छेका बिच फुट पार्छ । अन्नत फुट पारेपछि शासन गर्न सहज हुन्छ । जुन फुट स्वयं पानी नचल्नेहरूका बिच एकार्कालाई सानो सम्झने र छोएको पानी नचल्ने बनाएर फुटाएको छ । विशेषतः श्रमजीवी वर्गमा फुटको अनन्त शृङ्खला तयार गरिएको छ । पानी अचल समुदायबिच नै फुट, पानी अचल समुदाय र चल समुदायबिच फुट आदि ।
जातविशेष योग्यता र अयोग्यता बनेको छ । जातको नाममा समाजमा विभिन्न उखान टुक्का र भनाइहरू बनेका छन् । सबैभन्दा बढी भनाइ र तिनको हेयको सार अछुत भनिएको वर्गलाई अपमान गर्न, प्रताडित गर्न बनाइएको छ । जसको फलस्वरूप कतिपय ठुला नेताको बोलीमा त्यो नचाहेर पनि फुत्किरहेको पाइन्छ । जसको उदाहरण माधव नेपालले एक कार्यक्रममा र कोमल ओलीले राष्ट्रिय सभाको मञ्चबाट नै छुवाछुत र भेदभावजन्य वाक्य बोलेर नेपाली समाजको मनोविज्ञान र जात व्यवस्थाको समाजशास्त्रबारे बुझ्न मद्दत पु¥याएका छन् । यी प्रतिनिधि घटना हुन् भने जात व्यवस्था हर मान्छेको मनमा गहिरो गरी जरा गाढेर बसेको छ । मान्छे मर्दा, प्रेम गर्दा, बिहे गर्दा धार्मिक अनुष्ठान गर्दा, चुनावमा टिकट लिँदा, चुनावमा उठ्दादेखि मन्त्री बन्ने बेलासम्म जात र भेदभाव देखिन्छ ।
दलित समुदायप्रति हाम्रो समाज आज पर्यन्त अनुदार मात्र होइन, कठोर र निषेधमा नै छ । यी सब किन भयो ? राज्यले कानुन नै बनाएर जात व्यवस्थाको संरक्षण गरेका कारण, मनुस्मृतिका थुप्रै अमानवीय कानुन धर्मको नियम भनेर अभ्यास गरिएका कारण, आममान्छेको धार्मिक र सांस्कृतिक अनि पारम्परिक चेतनामा जात व्यवस्थाको विष हजारौँ वर्षदेखि घोलिएका कारण हामी विभेदकारी जातीय मानसिकताको समाजशास्त्र लिएर बसेका छौँ ।
जात व्यवस्था सानो घटना र थोरै समयमा विकसित भएको होइन । शताब्दियौँ लामो सामाजिक अन्तर्क्रियाको निरन्तरता हो । अहिले कुनै पनि जात, समुदाय, वर्ग र पहिचानलाई हेर्ने दृष्टिकोणमा लचकता, नरमपन आए पनि समग्र राज्य सञ्चालनमा पुग्ने र राज्यको अवयव भने अनुदार नै रहेका कारण आज पनि जातको कारण मान्छे मारिनु, पिटिनु, अपमानित हुनु, हक अधिकारबाट वञ्चित हुनु, सीमान्त जीवनमा रहनु असामान्य विषय बनेको छैन । जातको आधारमा सौन्दर्य चिन्तन र योग्य, अयोग्य सम्झने मानसिकता छ । जन्मस्थान विशेष कुनै योग्यता होइन । नपढेको अधार्मिक ब्राह्मण पूज्य हुने र पढेलेखेको दलितलाई उसको क्षमता र योग्यतालाई सन्देह गर्ने परिपाटी जीवित छ । समाजशास्त्र मानव समाजको अध्ययन, विश्लेषण र मूल्याङ्कनको सामाजिक विज्ञान हो – मानिसको अन्तरसम्बन्ध, अन्तव्र्रिmया, सोच, व्यवहार, जीवन पद्धति, शासकीय क्षमता आदिलाई समाजशास्त्रको अध्ययनमा समावेश गरिन्छ ।
समाजशास्त्रले समाजले व्यक्तिलाई पारेको प्रभाव, समाजका धार्मिक सांस्कृतिक कानुनले गरेका असर आदिको विहङ्गम अध्ययन गर्न सिकाउँछ । समाजले समाज बदल्ने पुरानो सोच, संस्कार, अवैज्ञानिक अमर्यादित चलन, लघु सामाजिक मानसिकता आदिको रूपान्तणमा ध्यान दिनु जरुरी छ । अत्यन्तै जरुरी छ, रूढिग्रस्त जातीय विभ्रेदको अन्त्य; जसका लागि आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक अनि मनोविज्ञानिक परिवर्तन । कानुनको पूर्ण पालना र जातीय आँखाले समाज चिहाउने परम्पराको अन्त्य कुनै पनि मान्छेको थर, वंश, पारिवारिक परिचयको निरन्तरता हो । जनावरमा समेत वंशीय अभिलेख राखिन्छ ।
एकै वंशको प्रजनन गाउँदा हाडनाताभित्र पर्छ र हाडनाताको सन्तानोत्पादन तुलनात्मक रूपमा कमजोर मानिन्छ । फलस्वरूपः पशुमा समेत हाडनाता वर्जित गर्न थालिएको हो । मान्छेको थर, गोत्र र वंश आआफ्नो स्वतन्त्र अस्तित्वको पहिचान र प्रतिनिधित्वको निर्मिति थर हो । संसारमा सबै मान्छे एकै प्रकारका हुँदैनन् । त्यसैले थर चिनारीको शृङ्खलाबद्ध आयोजना हो, विभेदक अभिलक्षणको मानक होइन । थर फेरेर जातको समाजशास्त्रलाई बदल्न सकिन्न । बदल्ने भनेको नियत हो, लघुताभास र उच्चाताभास हो, सोच र संस्कार हो । गलत मनोविज्ञान र गलत प्रवृत्ति हो, जात व्यवस्थाको मनोसामाजिक संरचना भत्काउनु पर्छ । आर्थिक, राजनीतिक, सामाजिक र धार्मिक प्रणालीमा समतानूभूतिको वातावरण सिर्जना गरिनु पर्छ अन्यथा जात व्यवस्थाको समाजशास्त्रबारे भोलिको पुस्ताले पनि यसरी नै लेखिरहनुपर्ने हुन्छ; जुन अत्यन्त मानवीय छ ।
लेखक अनुसन्धाता हुनुहुन्छ ।