• १३ असोज २०८१, आइतबार

स्तरीकृत परीक्षा किन आवश्यक

blog

एउटा निश्चित लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि बनाइने समग्र कार्यक्रम पाठ्यक्रम हो । पाठ्यक्रमले तहगत रूपमा सक्षमताहरू र कक्षागत रूपमा सिकाइ उपलब्धिहरू निर्धारण गरेको हुन्छ । ती सिकाइ सक्षमताहरू र कक्षागत सिकाइ उपलब्धिहरू के कति मात्रामा पूरा भए वा भएनन् भनेर परीक्षण गर्नका लागि परीक्षणका विभिन्न साधन प्रयोग गर्न सकिन्छ । त्यसमध्येको एउटा महत्वपूर्ण र धेरै देशले प्रयोग गर्ने साधन लिखित परीक्षा हो । सामान्यतया लिखित परीक्षा दुई प्रकारका हुन्छन् । पहिलो शिक्षकनिर्मित परीक्षा र दोस्रो स्तरीकृत परीक्षा । 

शिक्षकनिर्मित परीक्षा शिक्षकबाट निर्मित परीक्षा हो, जहाँ विद्यार्थीको सिकाइ उपलब्धि के कस्तो छ भनेर परीक्षण गर्ने उद्देश्य राखिन्छ । यस्तो परीक्षा शिक्षक–शिक्षकबिच र विद्यालय–विद्यालयबिच फरक हुन सक्छ । यस्तो परीक्षा विद्यार्थीको सिकाइ स्तर थाहा पाउन, विषयवस्तुको कठिनाइ स्तर पहिचान गर्न, स्तरका अधारमा विद्यार्थीको वर्गीकरण गर्न र सोही अनुरूप शिक्षण गर्न वा आवश्यकताबमोजिम उपचारात्मक शिक्षण गर्न महìवपूर्ण रहन्छ । यसरी विद्यार्थीको शैक्षिक उपलब्धि लेखाजोखा गर्न शिक्षकद्वारा निर्माण, सञ्चालन, अङ्कन तथा व्याख्या गरिने परीक्षालाई शिक्षकनिर्मित परीक्षा भनिन्छ । यो परीक्षा शिक्षकले कुनै पनि पाठ, विषयवस्तु तथा एकाइ पढाइसकेपछि अपेक्षित उपलब्धि हासिल भयो वा भएन भनी परीक्षण गरिने भएकाले यसलाई कक्षा परीक्षा पनि भन्ने गरिन्छ । 

यद्यपि यस्तो परीक्षा राष्ट्रिय रूपसम्म पनि नहुने भने होइन । यसको घेरा सानो हुन्छ, यस्तो परीक्षामा विद्यार्थीको सिकाइ स्तर र पाठ्यक्रमको लक्ष्य तथा उद्देश्य पूरा हुन्छ वा हुँदैन भन्ने कुराको अनुमान मात्र गर्ने हो । कुनै निश्चित प्रक्रिया पूरा गरेर पूर्वपरीक्षण गरी विश्लेषण गरिएको हुँदैन । त्यसैले शिक्षकनिर्मित परीक्षामा देखिएका कमीकमजोरी कम गर्दै पाठ्यक्रमले खोजेको, समकालीन समाज र विद्यार्थीले चाहेको तथा पूर्वपरीक्षण गरी विभिन्न मानकका आधारमा स्वीकृत प्राप्त प्रश्नहरू परीक्षण गर्नु स्तरीकृत परीक्षाको मर्म हो । 

स्तरीकृत परीक्षा एक विश्वसनीय र वैध परीक्षा हो, जहाँ परीक्षणको रूपरेखा निर्माणदेखि परीक्षा सञ्चालन, अङ्कन प्रक्रिया र व्याख्या विश्लेषण गरी अन्तिमीकरणसम्म पूर्वनिर्धारित प्रक्रिया अपनाइन्छ । शैक्षिक मूल्याङ्कनलाई प्रभावकारी बनाउन प्रश्न निर्माणको योजनादेखि परीक्षा सञ्चालन, नतिजा विश्लेषण हुँदै नतिजा प्रमाणीकरणसम्म गरिने निश्चित मापदण्डमा आधारित योजनाबद्ध परीक्षा स्तरीकृत परीक्षा हो । यो परीक्षा उच्च गुणस्तरयुक्त, उत्कृष्ट र सर्वस्वीकार्य गुण भएको हुन्छ । स्तरीकृत परीक्षामा निर्माण गरिने प्रश्नहरू विज्ञहरूको समूहद्वारा निश्चित मापदण्ड वा रूपरेखामा आधारित भई निर्माण गरिन्छ र केही विद्यार्थीको समूहमा परीक्षण गरी अङ्कन र परीक्षाफलको व्याख्याका सर्वमान्य आधार अवलम्बन गरी तयार पारिएको हुन्छ । 

परीक्षणमा हुन सक्ने त्रुटि न्यूनीकरणका लागि, प्रश्नमा देखिन सक्ने प्राविधिक समस्या सुधार गर्न, विद्यार्थीको सिकाइ स्तर र प्रश्नको कठिनाइस्तरबिचको सामञ्जस्यता मिलाउन परीक्षाको पूर्वपरीक्षण गरिएको हुन्छ । परीक्षा सञ्चालन, अङ्कन, नतिजा विश्लेषणलगायत समग्र व्याख्यात्मक प्रक्रियामा एकरूपता ल्याउने गरी स्थापित सिद्धान्तहरूमा आधारित भई योजनाबद्ध र चरणबद्ध रूपमा यस्तो परीक्षा सञ्चालन गरिन्छ । स्पष्ट रूपमा परिभाषित उद्देश्यहरूसँग मेल खाने सम्बन्धको आधारमा प्रश्नहरूको कठिनाइ स्तर, विभेदीकरण शक्ति र व्यवहारगत सर्तहरूका आधारमा पूर्वपरीक्षण गरेपश्चात् यस्ता प्रश्न चयन गरिन्छ । यस्तो परीक्षामा विषयविज्ञको अलावा शिक्षाविद्, मनोवैज्ञानिक तथा परीक्षणसँग सरोकार राख्ने निकायको संलग्नता सुनिश्चित गरिन्छ । 

अनौपचारिक रूपमा भन्दा स्तरीकृत परीक्षणहरू हाम्रो जीवनको हिस्सा हुन् र लामो समयदेखि यस्ता परीक्षाहरू अस्तित्वमा छन् । जब तपाईं बच्चालाई डाक्टरकहाँ लैजानुहुन्छ, उनीहरूले ‘स्तरीकृत’ चेकलिस्ट प्रयोग गरेर बच्चाको स्वास्थ्यको मूल्याङ्कन गर्छन् । जस्तै– एउटा निश्चित उमेरका समूहका बच्चाको हुनुपर्ने तौल तपाईंको बच्चामा छ वा छैन भनी तुलना अथवा तपाईंको बच्चामा उमेर अनुसार हुने विकासात्मक माइलस्टोनहरू कस्ता छन् र ती के कसरी पूरा गरिरहेका छन् वा छैनन् इत्यादि परीक्षण गर्न स्तरीकृत चेकलिस्ट आवश्यक हुन्छ । जब तपाईं ड्राइभर इजाजतपत्रका लागि आवेदन गर्नु हुन्छ, यातायात व्यवस्था विभागले तपाईंलाई सडकको नियमहरू थाहा छ कि भनेर हेर्नका लागि तपाईंलाई स्तरीकृत परीक्षण गर्न आवश्यक हुन्छ । त्यसै गरी स्तरीकृत परीक्षाहरू शिक्षक र तिनीहरूका संस्थाको प्रगति नाप्न र विद्यार्थीको आवश्यकता पूरा गर्नका लागि पनि अत्यन्त उपयोगी हुन्छन् । 

राष्ट्रिय परीक्षा बोर्डले परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार यसलाई क्रमशः लागु गर्दै जाने कार्यको थालनी गरेको छ । जस अन्तर्गत बोर्डले पहिलो चरणमा माध्यमिक तहको परीक्षालाई स्तरीकृत गर्ने कार्यको सुरुवात गरेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा विसं २०७९ सालको एसइई परीक्षामा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा सञ्चालन भएकाले यसलाई नै विद्यालय वा विश्वविद्यालय तहमा गरिएको स्तरीकृत परीक्षाको सुरुवात मान्न सकिन्छ । योबाहेक अन्य नेपालमा सञ्चालित विद्यालय तथा विश्वविद्यालयका सबै परीक्षा शिक्षकनिर्मित परीक्षा हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८ र १२ का पनि केही विषयमा स्तरीकृत परीक्षाको कार्य गरिरहेको छ । पाठ्यक्रममा आधारित रहने गरी परीक्षणका लागि शिक्षक पेसागत दक्षता अभिवृद्धि गर्ने, तालिम सञ्चालन गर्ने, विज्ञहरूको संलग्नतामा मूल्याङ्कन रूपरेखा बनाउने, प्रश्नहरू निर्माण गर्ने र पूर्वपरीक्षणका लागि तयारी गर्नाले पनि छिट्टै नै कक्षा ८ र १२ मा पनि स्तरीकृत परीक्षा सञ्चालन हुनेमा अब दुईमत रहेन । 

स्तरीकृत परीक्षा नेपालको परीक्षा प्रणालीमा सुधार ल्याउने कोसेढुङ्गाका रूपमा स्थापित हुने विश्वास गरिएको छ । यो प्रणाली पूर्ण रूपमा लागु भएपछि विद्यार्थीले नक्कल गर्ने कार्य बन्द हुनुका साथै उनीहरू पठनपाठनमा केन्द्रित हुने र शिक्षक पनि सिर्जनात्मक कार्यमा व्यस्त हुने छन् भने विश्व बजारमा उच्च तहको जनशक्तिका रूपमा नेपाली जनशक्ति क्रियाशील हुने छन् भन्ने अपेक्षा पनि गर्न सकिन्छ । 

स्तरीकृत परीक्षामा निर्माण गरिने प्रश्न पूर्वपरीक्षण गरेर मात्र वास्तविक परीक्षणमा सोधिने भएकाले विद्यार्थीको सिकाइ स्तर अनुसार मेल खाने र पाठ्यक्रमका लक्ष्य तथा उद्देश्य पूरा गर्न महत्वपूर्ण साबित हुने कुरामा कसैको दुईमत रहँदैन । नमुना परीक्षाका आधारमा प्राप्त नतिजाको प्रश्नगत विश्लेषण हुने भएकाले विद्यार्थीको सिकाइ स्तरभन्दा कठिन प्रकृतिका प्रश्न स्वतः अस्वीकृत हुने प्रावधान भएकाले पनि स्तरीकृत परीक्षा उपयोगी हुने र यसमा राष्ट्रिय परीक्षा बोर्डले गरेको अग्रसरता नेपालको शिक्षा प्रणाली र समग्र मूल्याङ्न प्रणालीका लागि कोसेढुङ्गा साबित हुने कुरा विभिन्न शिक्षाविद्ले बताइरहेका छन् । 

स्तरीकृत परीक्षाको नेपाल अभ्यास

स्तरीकृत परीक्षाको तयारीका क्रममा राष्ट्रिय परीक्षा बोर्डले विसं २०७५ देखि कार्य प्रारम्भ गरेको थियो । बोर्डले विसं २०७६ मा कक्षा १० को अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको स्तरीकृत प्रश्न निर्माण गर्नका लागि योजना बनाएको थियो । तत्पश्चात् स्तरीकृत परीक्षाको प्रश्न निर्माण कार्यशाला सातै प्रदेशमा एक चरण सञ्चालन भएको थियो । प्रश्न निर्माण गर्दा शिक्षक तालिम तथा कार्यशालामा प्रश्न लेखन तथा उत्तरकुञ्जिका निर्माण, प्रश्न मिलान, प्रश्नको पुनरवलोकन र सम्पादन, पूर्वपरीक्षण, परीक्षा सञ्चालन र परीक्षण, परीक्षाको अङ्कन र प्रश्न विश्लेषणजस्ता चरण अपनाइएका कारणले प्रश्नमा स्तरीयता भएको महसुस गर्न सकिन्छ ।

स्तरीकृत परीक्षाका लागि विषय विज्ञहरूबाट निर्माण भएका प्रश्नहरूको पूर्वपरीक्षण गरिने र पूर्वपरीक्षणको आधारमा प्रश्नहरूको विश्लेषण र स्वीकार्यता निर्णय गरिने भएकाले प्रश्नमा देखिने समस्या स्वाभाविक हटेर जाने हुन्छ । यसरी परीक्षण योजना निर्माण गर्दा पाठ्यव्रmमले निर्धारण गरेका सिकाइ उपलब्धिमा केन्द्रित रहेर विशिष्टीकरण तालिकाको निर्देशनबमोजिम विभिन्न मेट्रिक्स बनाएर धेरै सेट प्रश्न पूर्वपरीक्षणका लागि तयार गरिएको थियो । स्तरीकृत प्रश्नलाई पूर्वपरीक्षण गर्दा सातै प्रदेशभित्रका विभिन्न जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीमा शैक्षिक सत्रको अन्त्यतिर परीक्षा सञ्चालन गरिएको थियो । ततपश्चात् प्रश्नगत रूपमा विश्लेषण गरी स्वीकृत भएका प्रश्न मात्र अन्तिम परीक्षणका लागि छनोट गरिएको थियो । यसले गर्दा शिक्षकनिर्मित परीक्षाको तुलनामा स्तरीकृत परीक्षा धेरै नै प्रभावकारी हुने कुरामा शङ्का गर्ने स्थान रहन पाउँदैन । 

स्तरीकृत परीक्षामा विषयवस्तु र प्रश्नहरूको स्तरीकरण, परीक्षा सञ्चालन विधिको स्तरीकरण, अङ्कन प्रक्रियाको स्तरीकरण, व्याख्या तथा विश्लेषणको स्तरीकरण गरिने भएकाले प्रश्नमा विश्वसनीयता र वैधता सुनिश्चित हुन्छ । स्तरीकृत परीक्षणका प्रश्नहरूमा कठिनाइ स्तर, विभेदीकरण शक्ति र व्यवहारगत सर्तहरू स्पष्ट रूपमा परिभाषित उद्देश्यसँगको सम्बन्धको आधारमा पूर्व–परीक्षण र चयन गरिन्छ । परीक्षा व्यवस्थापनका लागि दिने निर्देशनहरू, समय सीमा र अङ्कन प्रक्रिया ठिकसँग उल्लेख गरिएको हुन्छ, त्यसैले यस्तो परीक्षा व्यवस्थापन गर्न र अङ्कन गर्न सबैलाई सहज हुन्छ । उमेर, ग्रेड, लिङ्ग आदिमा आधारित रहने गरी बनाइएका मापदण्डहरू व्यक्तिहरूको प्रतिनिधि समूहहरूमा परीक्षण गरी प्राप्त स्कोरहरू व्याख्या गर्न सहायताका रूपमा प्रदान गरिन्छ । 

स्तरीकृत परीक्षणले विद्यार्थीको क्षमताको विकास दरको मूल्याङ्कन गर्छ । यसले विद्यार्थीको बौद्धिक क्षमता, शक्ति र कमजोरीको स्तर निर्धारण गर्न आधार प्रदान गर्दछ । यसले शिक्षकद्वारा निर्मित परीक्षाको वैधता जाँच गर्छ र सुनिश्चित गर्दछ । यी परीक्षणहरू विद्यार्थीको सिकाइ कठिनाइको निदान गर्न उपयोगी हुन्छन् । यसले शिक्षकलाई विद्यार्थीको सिकाइ कठिनाइहरूको आकस्मिक कारकहरू जान्न मद्दत गर्दछ । त्यसका अतिरिक्त यसले अध्ययनका पाठ्यक्रमहरू, शिक्षकका गतिविधिहरू, शिक्षण विधिहरू र शैक्षिक अभ्यासहरूका लागि महìवपूर्ण मानिने अन्य कारकहरूको प्रभावहरूको पनि मूल्याङ्कन गर्दछ ।

लेखक शिक्षण पेसामा आबद्ध हुनुहुन्छ ।  

Author

सुशील खनाल