• ४ पुस २०८१, बिहिबार

जनताका मुद्दा ओझेलमा परे : सभापति लामिछाने

blog

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद रवि लामिछाने । तस्बिर: रत्न श्रेष्ठ/ रासस

काठमाडौं, असार ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताउनुभएको छ। 

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत  विनियोजित बजेटमाथिको छलफलमा उहाँले सरकारले मुलुकको महत्त्वपूर्ण विषय ओझेलमा परेको बताउनुभयो। 

उहाँले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी अलमलिएको आरोप लगाउनुभयो। उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणका लागि विशेष समितिको माग गर्नुभयो। सांसद लामिछानेले तरकारीको विषादी परीक्षण गर्न माग गर्नुभयो।  

बजेटमा संशोधन हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सत्तारुढ दलका सांसदले नै बजेट ठीक छैन भन्नुभएको छ। तर सरकारमा सहभागी भएका आधारमा पास गर्नुपर्छ भन्ने संस्कार गलत छ, सच्याइयोस्।” उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानआर्कषण गराउँदै बढ्दो कालोबजारी र खुला सीमामा बढ्दो तस्करी नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो। 

नेपाल प्रहरीको स्वच्छिक अवकासका विषयमा सुझाव प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “प्रहरी जवान र हवल्दारको स्वच्छिक अवकासलाई १६ वर्षे गरिनुपर्छ। जुनीयर अधिकृतहरुको १८ वर्षे र सिनीयर अधिकृतको २० वर्षे गरिनुपर्छ। २० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था गरिनुपर्छ।” उहाँले आर्थिक अवस्थाको वास्तविक मूल्याङ्कनबाट राजस्व प्रक्षेपण गरी संशोधन प्रस्ताव ल्याउन अनुरोध गर्नुभयो।