गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । पूर्व प्रधानमन्त्री एबम् नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट दुईजना मन्त्री बनाएर क्रान्ति अघि बढ्न नसक्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता खनालले भन्नुभयो, “पार्टी बनाउन पार्टीको गतिविधिलाई श्रमिक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी छ ।” वैचारिक, सैद्धान्तिक दिशालाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्ने र प्रधान शत्रुको सही पहिचान गरेर जनतालाई दलाल पुँजीवादबिरुद्ध गोलबद्ध गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
पार्टीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको नेता खनालले चर्चा गर्नुभयो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र नेता र कार्यकर्ता तहमा ठूलो असन्तुष्टि रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाली समाजमा संकट नै संकटको शृङ्खला रहेको छ, खिचडी सरकार बनाएर जानुपर्ने बाध्यताले क्रान्तिकारी कार्यक्रमहरु ल्याउन सकिएको छैन ।”
आफूहरु अझै पार्टी निर्माणको चरणमै रहेकाले यसलाई व्यापक बनाएर कम्युनिष्ट आन्दोलनको एटम बनाउनुपर्ने धारणा राख्नुभयो । एमाले र माओवादी केन्द्रभित्र असन्तुष्ट रहेका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन सके पार्टी बलियो हुने उहाँको भनाइ छ ।