• ५ जेठ २०८१, शनिबार

व्यास नगरपालिकाको बजेट एक अर्ब ६० करोड

blog

तनहुँको व्यास नगरपालिकाका ।

अमरराज नहर्की
तनहुँ, असार ८ गते ।
 तनहुँको व्यास नगरपालिकाकाले आइतबार करिब एक अर्ब ६० करोडको बजेट प्रस्तुत गर्ने भएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार नीति बजेट तथा कार्यक्रममा सो बजेट प्रस्तुत गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपियाँको बजेट पास गरेको नगरपालिकाले भने यो पटक घटाएर करिब एक अर्ब ६० करोडको बजेट ल्याउन लागेको छ ।

नगरप्रमुख वैकुष्ठ न्यौपानेले सङ्घीय एवम् प्रदेश सरकारले दिँदै आएको शसर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको बताउनुभयो । उहाँले भन्नुभयो,“बजेट घटेपनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखी बजेट ल्याइने छ ।”

उहाँका अनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेट निर्माण गरिएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमका लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समितिमार्फत छलफल गरी नीति, बजेट तथा कार्यक्रम तयार गरिएको छ ।

अघिल्लो वर्ष हरेक वडालाई एक करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने एक करोडको मापदण्ड तय गरिएको छ । वडाबाट आएका योजना छनोटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधारलगायतका योजनाहरु प्राथमिकतामा राखिएको उहाँको भनाइ छ । यो नगरपालिकाले सबै वर्गलाई समेटेर बजेट ल्याउन लागिएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो ।

उपप्रमुख दरैका अनुसार बालविवाहलाई रोक्नका लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकम दिइने निति ल्याइने भएको छ । दलित चेपाङ, दरै, बोटे र कुमाल समुदायका युवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमा उक्त प्रोत्सान रकम प्रदान गरिने उहाँले बताउनुभयो । महिला उद्यमीहरुको व्यवसायलाई प्रोत्सान गर्न व्यापार मेलाको आयोजना समेत गरिने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । त्यस्तै, विदेशबाट फर्किएर आएका महिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याइने उपप्रमुख दरैको भनाइ छ ।