• ११ मंसिर २०८१, मङ्गलबार

विद्यालय प्रवेश गर्दा विद्यार्थीलाई नमस्कार

blog

विद्यालय प्रवेश गर्दा विद्यार्थीलाई नमस्कार गरेर स्वागत गर्दै शिक्षक र विद्यार्थी। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार ८ गते। विशेष गरेर हाम्रो समाजमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर तनहुँको एक विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्नुहुन्छ। 

व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले गेटमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गरेका हुन्। विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने अभियान अन्तर्गत यस्तो कार्य गरिएको विद्यालयले जनाएको छ।

शिक्षक, अभिभावक, आफूभन्दा ठुला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना हराउँदै गएकाले सिकाईका निम्ति गेटमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिनुभयो। 

रिजाल भन्नुहुन्छ, ‘‘हामी भन्दा ठुला मान्छेले नै सिकाएको  हुँदा हामीले नमस्कार गर्नुपर्छ भन्ने कुरा विद्यार्थीले सिक्ने हुँदा अभियान चलाएका हौं।’’ 

विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ। वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकोले संस्कारयुक्त शिक्षा प्रधान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिनुभयो। 

शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्य पालो लगाएर  हरेक दिन बिहान ९:३० बजे नै गेटमा आएर नमस्कार गर्न खटिने गरेका छन्। संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्छ शिक्षकले नै नमस्कार गरेर सुरुवात गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताउनुभयो ।


व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गराएर अभियानको सुरुवात गरिएको पूर्व प्रधानाध्यापक तीर्थराज परियारले बताउनुभयो।  विद्यार्थीलाई किताबको शिक्षा सिकाएर राष्ट्रलाई कुनै फाइदा नगर्ने हुँदा संस्कार सिकाउन थालिएको सो वडाका निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो । 

सुरुमा सरहरुले नमस्कार गर्दा आफूलाई अप्ठ्यारो  लागेको भए पनि हाल सहज भएको कक्षा–९ मा अध्ययन गर्ने प्रमिला ढुङ्गानाले बताउनुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासोका बीच विद्यार्थीलाई अनुशासनको परिधिभित्र बाँध्न अभियानले सघाउने विद्यालयको विश्वास छ।