रेखीराम राना
पाल्पा, असार ८ गते । तानसेन नगरपालिका र तानसेन खानेपानी उपभोक्ता समितिबीच विवाद उत्कर्षमा पुगेको छ । नगरपालिकाले उपभोक्ता समितिलाई अवैध भएको र तत्काल समितिको विधान कानुन अनुसार प्रमाणित गर्न निर्देशन दिएको छ ।
उपभोक्ता समितिले भने नयाँ उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बढाउन वार एशोसिएसन पाल्पालाई जिम्मेवारी दिएको छ । वार एशोसिएसनले निर्वाचनको प्रक्रिया समेत अगाडि बढाएको छ । तर तानसेन नगरपालिकाले निर्वाचन प्रक्रिया विधान प्रमाणित नभई अगाडि बढाउन नमिल्ने जनाएको हो ।
तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले तानसेन नगरपालिकाको जलस्रोत ऐन–२०७५ को दफा ९ बमोजिम विधान संशोधन सम्बन्धी व्यवस्थालाई उलङ्घन गरेर निर्वाचन हुन लागेकोमा आपत्ति जनाउनुभयो । थापाले उपभोक्ता समितिबाट विधान प्रमाणित नगरी वार एशोसिएसनले गर्न लागेको निर्वाचन प्रक्रिया कानुनी शासन विपरीत रहेको उल्लेख गर्नुभयो ।
वारले निर्वाचनको मिति तय गरेपछि तानसेन नगरपालिकाले उपभोक्ता समितिलाई लिखित जवाफ मागेको छ । नगरपालिकाले उपभोक्ता समितिले जथाभावी गरेको भन्दै ७२ घण्टे स्पष्टीकरण सोधेर कारबाही गर्न थालेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
तानसेनमा खानेपानीको हाहाकार मच्चिदा समेत नगरपालिका र उपभोक्ता समितिबीच द्वन्द्व चलेको छ । उपभोक्ता समितिका केही पदाधिकारीले पद छाड्न नमान्ने र तानसेन नगरपालिकाले स्पष्ट निर्णय लिन नसक्दा उपभोक्ता खानेपानीको अव्यवस्थाबाट मारमा परेका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचन नभएको चार वर्ष बितिसकेको छ । तर उसले आफू खुसी विधान परिवर्तन गरेर हालसम्म पनि काम गरिरहेको नगरपालिकाको आरोप छ ।
वि.स. २०६८ सालमा तानसेनको खानेपानीको जिम्मा उपभोक्ताले जिम्मेवारी लिएका थिए । त्यसपछि दुई पटकसम्म उपभोक्ता समितिको निर्वाचन भएको थियो । तानसेन नगरपालिकाले तानसेन खानेपानी उपभोक्ता समितिलाई तदर्थ समितिको रुपमा मान्यता दिन सङ्घीय खानेपानी तथा ढल निकास आयोजनलाई पत्र समेत पठाएको थियो । तर आयोजनका प्रमुख किरण आचार्यले भने तानसेन नगरपालिकाले जलस्रोत समिति गठन गरेर तानसेन खानेपानी उपभोक्ता समितिलाई आफू मातहत ल्याएर नियमन गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले प्रजिअको नेतृत्वमा जिल्ला जलस्रोत समिति हुन्थ्यो तर अहिले यो सम्बन्धी नयाँ व्यवस्था छैन । अधिकांश स्थानमा पालिका आफैंले जलस्रोत सम्बन्धी ऐन बनाएर कार्यान्वयन गरेको अवस्था छ ।”
उपभोक्ता समितिले भने नगरपालिकाको क्षेत्राधिकारभित्र उपभोक्ता समिति नपर्ने जनाएको छ । समितिका केही पदाधिकारीले नगरपालिकाले उपभोक्ता समितिको निर्वाचनमा अनावश्यक हस्तक्षेप गर्न खोजेको दावी गरेका छन् ।