• २० असोज २०८१, आइतबार

कोशीमा तटबन्ध निर्माण गरिँदै

blog

उदयपुरको बेलका नगरपालिका वडा नं ८ लाहुरे खोचस्थित डुम्रीबोट क्षेत्रमा बिग बोल्डर लगाइँदै । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, असार ८ गते । बेलका नगरपालिकाले विपद् कोषबाट कटान रोकथामको काम सुरु गरेको छ । कोशीको बाढीबाट हुने सम्भावित खतराको अति सम्वेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका वडा नं ८ लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा कोशीको धार मोडिएपछि कटान रोकथामको काम सुरु गरिएको हो । 

यसअघि पनि अघिल्लो वर्ष सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको थियो । उदयपुरको बेलका नगरपालिका वडा नं ८ लाहुरे खोचस्थित डुम्रीबोटे क्षेत्रमा जलश्रोत तथा सिंचाई विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्त समितिमार्फत एक सय ७० मिटर लामो र तीनमिटर उचाई भएको बिगबोल्डर स्लोप निर्माण अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम सम्पन्न भएको थियो । 

तर सो स्थानभन्दा माथिबाट कटान गरी कोशी पुन गाउँतिर पस्ने खतरा बढेकोले पुन बिगबोल्डर स्लोप निर्माण गरिएको वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । गत वर्ष गाउँतिर बाढी पसेको २३ दिनपछि कोशीमा पानीको वहाव घटेको मौका छोपि स्थानीय जनश्रमदानसहित वेलका नगरपालिकाको सहयोगमा करिब दुई सय मिटर लामो अस्थायी तटबाँध निर्माण गरेर स्थानीयहरुले तत्कालका लागि कोसी थुन्न सफल भएका थिए । सोहि ठाउँमा लगाइएको विबोल्डर प्रभावकारी भएको कोशी तथा वक्राहा नदी व्यावस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चक्रविक्रम सिंहले बताउनुभयो ।

यो वर्ष भने कोशीको पानीभित्र पाँच मिटर चौडाई र तीन मिटर उचाइको ठूलाठूला ढुङ्गा खसालेर बाँध बनाइएको हो । जस्मा जमिनभन्दा माथी दुई मिटर उचाई हुने र टपमा पाँच मिटर चौडाई रहने गरी स्थानीय उपभोक्त समिति मार्फत निर्माणको काम भएको आयोजना प्रमुख सिंहले बताउनुभयो । तर स्थायी प्रकृतिको तटबाँघ नहुँदासम्म यो वर्ष पनि बाढीको उच्च जोखिम कायमै रहेकोले करिब पाँच सय घर परिवारहरु पुःन विस्थापित हुनसक्ने भन्दै दुई सय किलोग्रामभन्दा बढी तौल भएका ढुङ्गा लगाएर कोशीको भेल रोक्नसक्ने खालको बाँध बनाइएको उपभोक्ता समितिका सचिव सन्देश कुलुङ् राईले बताउनुभयो ।

सप्तकोशीको बाढीबाट गत वर्ष बेलका नगरपालिका वडा नं २, ३, ८, ९ र सुनसरीको बराह क्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वडा गरी करिव दुई हजार पाँच सय घर प्रभावित बनेकोमा पाँच सय परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको थियो । हाल निर्माण भईरहेको विपद् व्यवस्थापन सम्बन्धि काममा पनि स्थानीय केहि व्यक्तिले राजनैतिक रङ्ग दिएर योजनाको काममा अवरोध गरेको अनुगमन समितिका सदस्य राज बान्तवाले बताउनुभयो ।

कोशी कटान नियन्त्रण गर्न एक करोड १० लाखमा टेण्डरसमेत लगाइएको र अब केहिदिन पछिबाट निर्माण कम्पनिले नियन्त्रणको काम सुरु गर्ने भन्दै आयोजना प्रमुख यादवले भारत सरकारका कर्मचारीको अध्यक्षतामा कोशी उच्चस्तरी समिति रहेको र त्यसमा नेपालका जलतथा सिंचाई विभागका उपनिर्देशक तथा कोशी वक्राहा नदी व्यवस्थापन आयोजनाका प्रमुख गरी दुई जनामात्र सदस्य रहने गरे अनुरुप आफूले कटान रोकथामका लागि भारतीय पक्षसँग निकै पहल गर्दे आएको आयोजना प्रमुख यादवले बताउनुभयो।

सो क्षेत्रमा थप तटबाँध निर्माण गरी कोशी कटानको जोखिमबाट स्थानीय टप्पुवासि जनताको सुरक्षाका लागि २०८० साल वैशाख ३ गतेको नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबाट दुई करोड बजेटको श्रोत सुनिश्चित भएकोले सो अनुसार नै टेण्डर लगाइएको आयोजना प्रमुख सिंहले बताउनुभयो ।