• १४ मंसिर २०८१, शुक्रबार

मदनको जन्मजयन्तीमा चौतारीको टिकटक प्रतियोगिता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ८ गते । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको चौतारीले जनाएको छ । 

टिकटक प्रतियोगिताको निर्णायकमा नायक रमेश उप्रेती, नायिका बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहनुभएको छ । प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ को अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दैआएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो । 

प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे रहनुभएको छ । यसैगरी, सदस्यमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी हुनुहुन्छ । प्रेस चौतारीका अध्यक्ष बस्नेतले युवा अवस्थामै मुलुकका लागि अतुलनीय योगदान दिने जननेता मदन भण्डारीलाई युवापुस्तासँग जोडेर समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थक बनाउन टीकटक प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।


‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजललगायतका रचनात्मक टिकटक बनाउन सकिने संयोजक पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगीहरुले #madanbhandari #presschautarinepal ह्यास ट्याग राखी असार २१ गतेसम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ । सोहीअनुसार, असार अन्तिम साता काठमाडौंमा भव्य कार्यक्रम गरी विजेताहरुलाई पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालले जनाएको छ ।