• २० असोज २०८१, आइतबार

बाढी पहिरोले ११ पुलमा क्षति

blog

बाढी पहिरोले क्षतिग्रस्त बनाएको मैवाखोला गाउँपालिकास्थित खार्तेखोको झोलुङ्गे पुल ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ८ गते । अविरल वर्षासँगै गएको बाढी पहिरोले ताप्लेजुङका विभिन्न क्षेत्रमा एघार वटा झोलुङ्गे पुललाई क्षतिग्रस्त बनाएको छ । गत साताको बिहीबारदेखि बुधबारसम्म परेको वर्षाका कारण गएको बाढी पहिरोले उक्त सङ्ख्यामा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार अविरल वर्षापछि खोलामा आएको बाढी तथा पहिरोले बगाएर झोलुङ्गे पुलहरू क्षतिग्रस्त भएका हुन् । जिल्लाको मैवाखोला गाउँपालिका, सिदिङ्वा गाउँपालिका र सिरिजङ्घा गाउँपालिका लगायतका क्षेत्रमा रहेका झोलुङ्गे पुलहरू बाढी पहिरोले बगाएका छन् । 

बाढी पहिरोले झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आउजाउको सुविधाबाट उपभोक्ता वञ्चित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसरी बाढी पहिरोले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुल तत्काल पुनः निर्माण गरेर सञ्चालनमा ल्याउने स्थिति नरहेको सम्बन्धित स्थानीय तहका पदाधिकारीले बताएका छन् । 

बाढी पहिरोले झोलुङ्गे पुल बगाएपछि एक ठाउँबाट अर्को ठाउँ आउजाउ गर्नलाई सर्वसाधारण उपभोक्ताले सास्ती खेप्नुपरेको स्थानीयको भनाइ छ । क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि स्थानीय सरकारको भूमिकामा रहेका स्थानीय तह र सम्बन्धित निकायले शीघ्र ध्यान दिनुपर्ने पनि स्थानीयको माग रहेको छ ।