• ६ जेठ २०८१, आइतबार

समाजवादी मोर्चालाई प्रभावकारी बनाइने

blog

काठमाडौँ, असार ८ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ बिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबिच माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको छ । विप्लवसहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) मिलेर समाजवादी मोर्चा गठन भएपछि संसदीय व्यवस्थामा विप्लव सहभागी हुने आकलन गरिएको छ । असार ४ गते समाजवादी मोर्चा नेपालको घोषणा भएको थियो । 

यसैबिच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक असार २३ गते हुने भएको छ । पार्टी केन्द्रीय सदस्यहरूलाई बिहीबार पठाइएको परिपत्र अनुसार बैठक प्रज्ञा भवन कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीसमेत सहभागी हुने छन् । माओवादीले बैठकअघि असार १५ गतेभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन केन्द्रमा पठाउन परिपत्र गरेको छ ।  पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गर्नुभएको परिपत्रमा लेबी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेबी र २०७८ पुसमा भएको आठौँ महाधिवेशनको हिसाब केन्द्रीय समिति बैठक अगावै फर्स्योट गर्न निर्देशन दिइएको छ।