• १२ असोज २०८१, शनिबार

संरक्षणकर्मी डङ्गौरालाई प्रतिभा सम्मान

blog

अविनाश चौधरी

धनगढी, असार ७ गते । कैलालीका संरक्षणकर्मी हिरुलालल डङ्गौरा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित हुनुभएको छ । संरक्षणमा योगदान पुर्‍याएको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उहाँलाई बिहीबार एक समारोहकाबीच सम्मान हस्तान्तरण गर्नुभयो । 

कैलालीको भजनी नगरपालिका–६ निवासी डङ्गौरा अढाई दशकदेखि वन, वातावरण, वन्यजन्तु तथा चरा संरक्षणमा क्रियाशील हुनुहुन्छ । डङ्गौराले सुदूरपश्चिम प्रदेशमा दुर्लभ गिद्ध, खरमजुर, सुनौलो तोप चराको हरेक वर्ष अनुगमन गर्दै आउनु भएको छ । 

यसैगरी, नेपालको प्रथम चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्र, बसन्ता करीडोर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रमा नियमित चरा अनुगमन तथा संरक्षणका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गर्दै आउनुभएको छ । 

डल्फिन संरक्षण क्षेत्रमासमेत अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका डङ्गौराले २०१० मा अब्राहम संरक्षण पुरस्कार र २०१२ मा वातावरण संरक्षण पुरस्कार प्राप्त गर्नुभएको थियो।