• १५ असार २०८१, शनिबार

क्षमता विकास गर्न भाषण कला तालिम

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार ७ गते । महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण, भाषण कला तथा वाक क्षमता वृद्धि गर्ने तालिम सञ्चालन गरिएको छ । सुनकोशी गाउँपालिकाले लक्षित वर्ग अन्तर्गत महिला सशक्तीकरणका लागि तालिम सञ्चालन गरिएको हो । 

तालिममा गाउँपालिकाका दश वटै वडा बाट ५० जना महिलाहरू सहभागी हुनुभएको थियो । महिला जनप्रतिनिधि, पालिका र वडा स्तरीय महिला सञ्जालका प्रतिनिधि र अगुवा युवती, किशोरीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो । 

भौतिक पूर्वाधारको निर्माणसँगै सामाजिक विकासको क्षेत्रमा गाउँपालिकाले महत्त्वपूर्ण कामको थालनी गरेको उपाध्यक्ष अधिकारीको भनाइ छ । महिला तथा बालबालिका शाखा मार्फत आर्थिक वर्ष 

२०७९/०८० मा विनियोजित बजेटले पाँच दिने आवासीय तालिम सञ्चालन गरिएको अधिकारीले जानकारी दिनुभयो । तालिममा सिकेको सीप व्यवहारमा लागु गर्न गाउँपालिका अध्यक्ष कमल तामाङले सहभागीहरूलाई आग्रह गर्नुभएको छ । 

यो संसार मिठो र कलात्मक तरिकाले बाल्नेहरूको पक्षमा रहेकोले तालिमले उद्घोषण, भाषण गर्ने महिलाहरूको वाक क्षमता वृद्धि गर्ने कुरामा आफू विश्वस्त रहेको गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ । यसका साथै संवैधानिक अधिकार तथा कानुनी क्षमता विकास गर्ने उद्देश्यले महिलाहरूका लागि एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख उमा खनालले जानकारी दिनुभयो । 

तालिमले वाक क्षमता वृद्धि हुनका साथै आत्मविश्वास बढेको सहभागीहरूले जनाएका छन् ।