• ८ असार २०८१, शनिबार

नेपाल पहिले फिल्डिङ गर्दै

blog

नेपाल र वेस्ट इन्डिज टस गर्दै । तस्बिर : क्यान

काठमाडौं, असार ७ गते । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग खेल्दैछ ।

हरारे स्पोर्टस् क्लबमा टस जितेर नेपालले वेस्ट इन्डिजलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो । वेस्ट इन्डिजसँगको खेलमा नेपालले अमेरिकाविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएको छ । 

वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । त्यसैले नेपालका लागि आजको खेल बलियो टोलीसँगको अग्निपरीक्षा हुनेछ ।

वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।

यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो । यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो । 

कमजोर बलिङका कारण पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै सुपर सिक्समा पुग्ने छनक देखाएको छ । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पनि जितको लय कायम राख्न सके नेपालको सुपर सिक्स पुग्ने सम्भावना बलियो बन्नेछ ।

वेस्ट इन्डिज पनि नेपालाई हराएर जितको लय कायम राख्ने योजनामा छ । समूहको पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो ।नेपालले समूह ‘ए’ को अन्तिम खेलमा असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । 

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

वेस्ट इन्डिजविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।