तानसेन समाचारदाता
पाल्पा, असार ७ गते । कम उमेरमा गर्भधारण गर्ने किशोरीको सङ्ख्यामा कमी आएको छैन। जिल्लाका १० पालिकामा कुल गर्भपतन गर्ने महिलामा १० प्रतिशत किशोरी रहेका पाइएको छ। स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारका विभिन्न निकायले बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गरे पनि बालविवाह घट्न नसक्दा २० वर्ष नपुगी गर्भवती हुने किशोरीको सङ्ख्या बढेको हो।
पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा तीन हजार ८०८ जनाले गर्भपतन गरेकामा तीमध्ये १० प्रतिशत गर्भपतन सेवा लिनेमा किशोरी रहेका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। पछिल्ला तीन वर्षमा ३०७ किशोरीले गर्भपतन गरेका छन्।
सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गर्ने किशोरीको सङ्ख्या घट्न नसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी टीकाराम अधिकारीले बताउनुभयो। बालविवाहका कारण किशोर अवस्थामै गर्भ रहने कारण किशोरी गर्भपतन गर्न बाध्य भएको उहाँले बताउनुभयो। यहाँका पालिकामा अहिले पनि १५/१६ वर्षमै विवाह गर्ने प्रचलनले गर्दा किशोर अवस्थामै गर्भधारण गर्ने क्रम नघटेको हो। स्थानीय तहले बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम, किशोर किशोरीलाई बालविवाह नगर्ने प्रतिबद्धता, समाजका अगुवा विवाह भोजमा नजाने निर्णय गरे पनि बालविवाह घट्न नसकेको नेपाल बार एसोसिएसन पाल्पाका पूर्वअध्यक्ष जोगलाल विश्वकर्माले बताउनुभयो।
बालविवाह रोकिएको खण्डमा किशोरी गर्भवती हुने क्रम घट्ने उहाँले बताउनुभयो। कुल विवाह भएकोमध्ये १४/१५ प्रतिशत महिलाको बालविवाह हुने गरेको तथ्याङ्कले देखाएको छ। बालविवाहकै कारण कम उमेरमा गर्भवती हुने महिलाको सङ्ख्या घट्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो। आर्थिक वर्ष २०७७/७८ मा कानुनी रूपमा गर्भपतन गर्ने सात प्रतिशत, आव २०७८/७९ मा नौ प्रतिशत र चालु आवमा आठ प्रतिशत बालिका छन्। यस जिल्लाको स्वास्थ्य संस्थाबाहेक बुटवल, स्याङ्जा, भैरहवालगायतका स्थानमा पनि पाल्पाका सेवाग्राहीले गर्भपतनको सेवा लिने गरेका छन्। यसबाहेक मान्यता नपाएका स्वास्थ्य संस्थामा समेत लुकीछिपी गर्भपतन भइरहेको केही स्वास्थ्यकर्मीको दाबी छ।