• ७ जेठ २०८१, सोमबार

घरजग्गा कारोबारमा वृद्धि

blog

काठमाडौं, असार ६ गते । काठमाडौंमा पछिल्लो समय घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कअनुसार काठमाडौंमा वैशाखको तुलनामा जेठ महिनामा घरजग्गाको कारोबार ६ सय ६ सङ्ख्याले बढेको हो । 

जेठ महिनामा दुई हजार पाँच सय २७ सङ्ख्यामा घरजग्गा किनबेच भएको देखिएको छ । वैशाख महिनामा घरजग्गा किनबेचको सङ्ख्या एक हजार नौ सय २१ रहेको थियो । चालु आर्थिक वर्ष २०७९/८० चैत र फागुन महिनामा घटेको घरजग्गाको कारोबार वैशाख र जेठ महिनामा बढ्दैगएको देखिएको छ । 

चालु आर्थिक वर्ष २०७९–८० चैत र फागुन महिनामा घटेको घरजग्गाको कारोबार वैशाख र जेठ महिनामा बढ्दैगएको देखिएको छ । 

जेठ महिनामा देशभर घरजग्गाको कारोबार ५५ हजार ६९ सङ्ख्यामा भएको छ । यो सङ्ख्या वैशाख महिनामा ४२ हजार ४६१ को थियो । चालू आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी घरजग्गाको कारोबार जेठ महिनामा भएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा घरजग्गा कित्ताकाटलाई फुकुवा गर्ने बताएसँगै कारोबार पनि बढेको हुनसक्ने बताउनुभयो ।  

उहाँले भन्नुभयो, “जेठमा आएर घरजग्गा बढ्नुमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा रोकिएको जग्गा कित्ताकाटलाई फुकुवा गराउने उल्लेख भएको कारणले पनि किनबेच बढी भएको हुनसक्छ । सरकारले औपचारिक रूपमा जग्गाको कित्ताकाट भने फुकुवा गरेको छैन ।”

पछिल्लो समय सेयर मार्केटमा पनि सुधारका सङ्केतहरू देखिन थालेका कारण पनि घरजग्गाको कारोबारमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । बैङ्कले कर्जामा केही सहुलियत दिएका कारण पनि काठमाडौंलगायत देशैभरकाे घरजग्गाको कारोबारमा वृद्धि भइरहेको उहाँको भनाइ छ । 

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार माघमा कर्जाको औसत ब्याजदर १३.०३ रहेकोमा चैत महिनामा घटेर १२.८४ मा पुगेको थियो । २०७९ जेठ महिनामा भूउपयोग नियमावली लागू भएदेखि जग्गा व्यवस्थापन नयाँ ऐन नियममा आधारित थियो । 

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्ने तयारीमा छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका जग्गा शाखाका अधिकृत प्रकाशराज श्रेष्ठका अनुसार जग्गाको कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्ने तयारी छ । 

मन्त्रालयका जग्गा शाखाका अधिकृत प्रकाशराज श्रेष्ठका अनुसार जग्गाको कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्ने तयारी छ । 

मन्त्रीपरिषद् बाट फिर्ता आएको फाइललाई रायका लागि सहरी विकास मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । राय आएपछि यसलाई आवश्यक संशोधन गरेर पुनः मन्त्रिपरिषद्मा पठाइने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जग्गाको कित्ताकाट सहज बनाउने विषयमा मन्त्रालयमा छलफल जारी छ । मन्त्रिपरिषद्बाट फिर्ता आएको फाइल रायका लागि सहरी विकास मन्त्रालयमा पठाएका छौँ । आएपछि आवश्यक संशोधन गरेर निर्णयका लागि मन्त्रिपरिषद्मा पटाउँछौँ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।