नेपाली समालोचनामा सङ्कलन सम्पादनको परम्परा साझा समालोचना (२०२५) देखि प्रारम्भ भएको हो । कृष्णचन्द्रसिंह प्रधानद्वारा सङ्कलित–सम्पादित साझा समालोचनापछिका करिब साढे पाँच दशकमा यस किसिमका समालोचना करिब डेढ दर्जन मात्रै देखिएका छन् । नेपाली समालोचनाको सङ्कलन सम्पादनकै क्रममा समालोचकद्वय प्रा. राजेन्द्र सुवेदी र प्राडा लक्ष्मणप्रसाद गौतमले मात्रै तीनवटा बृहत् आकारका सम्पादित समालोचनात्मक ग्रन्थ दिएर नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पु-याएका छन् । रत्न बृहत् नेपाली समालोचना सैद्धान्तिक र प्रायोगिक खण्ड भाग १ र २ (२०६८) को प्रकाशनपछि नेपाली समालोचना इतिहासमा अर्को महत्त्वपूर्ण अनुसन्धानात्मक प्राप्तिका रूपमा रत्न बृहत् नेपाली समालोचना (भाग ३) (सिद्धान्त र सिद्धान्तनिष्ठ प्रायोगिक खण्ड २०७९) प्रकाशन भएको छ । वरिष्ठ समालोचकद्वय प्रा. राजेन्द्र सुवेदी र प्राडा लक्ष्मणप्रसाद गौतमको संयुक्त प्राज्ञिक अनुष्ठानबाट तयार पारिएको यस समालोचनात्मक कृतिमा नवीन सिद्धान्त, विधि, पद्धतितर्फ झुकाव राखिएको छ । सैद्धान्तिक र प्रायोगिक खण्ड भाग १ र २ प्रकाशनको करिब एक दशकपछि प्रकाशन भएको यस खण्डमा समालोचनाका नवीन अवधारणहरूलाई समावेश गरिएको छ । पूर्ववर्ती समालोचना सिद्धान्तमा प्रायः नपरेका समालोचनाका नवीन मूल्यमान्यता र अवधारणालाई यसमा समावेश गरिएको छ । कृतिभित्र सङ्गृहीत समालोचनाहरू विविध छ खण्डमा विभाजित छन् ।
साहित्यको आधारभूत सिद्धान्त : समालोचना शीर्षकको सम्पादकीय आमुखिकामा नै समालोचनाको अवधारणा, नेपाली समालोचनाको सैद्धान्तिक पृष्ठभूमि, नेपालमा उत्तरवर्ती समालोचनाको आरम्भ र विकासलगायतका विषयमा विशद् चर्चा गरिएको छ । पहिलो खण्ड पूर्वीय वाङ्मय र सौन्दर्यविमर्श अन्तर्गत भामहपूर्वको काव्यशास्त्रीय चिन्तन, समालोचनामा पौरस्त्य दर्शनको मानदण्ड र नेपालीमा तिनको प्रयोग, वैदिक वाङ्मयको स्वरूप र स्फोटवाद : भाषिक र साहित्यिक अध्ययनको उपजीव्य सिद्धान्तजस्ता समालोचनाका पूर्वीय सैद्धान्तिक मान्यता अवलम्बन गरिएका चार वटा गहन आलेखहरू सङ्कलित छन् । यस खण्डमा प्रेमप्रसाद चौलागाईंको ‘स्फोटवादको सैद्धान्तिक स्वरूप’ ले पौरस्त्य भाषाशास्त्रीय साहित्य–सौन्दर्यशास्त्रीय चिन्तनपरम्परामा नवीन मान्यतालाई स्थापित गरेको छ । पाश्चात्य नवीन सौन्दर्यविमर्श शीर्षकको दोस्रो खण्डमा विनिर्माणवादी समालोचनाको सैद्धान्तिक निरूपण, डायस्पोराको सैद्धान्तिक स्वरूप, विधाविघटन र विधामिश्रण, साहित्यमा मनोविश्लेषणको समकालीन सन्दर्भ, भौगोलिक समालोचनाको सैद्धान्तिक स्वरूप, साइबर समालोचना ः मान्यता र प्रारूप, अधिआख्यानको सैद्धान्तिक निरूपण र सङ्केन्द्रीकरणको सैद्धान्तिक पक्ष र कृतिविश्लेषणका आधार जस्ता पाश्चात्य समालोचनाका नवीन मूल्य र मान्यतालाई आधार मानेर तयार पारिएका समालोचनात्मक आलेखहरू समावेश गरिएको छ । यस खण्डमा लक्ष्मणप्रसाद गौतमको विधाविघटन र विधामिश्रण, ज्ञानु अधिकारीको साइबर समालोचना, जीवन श्रेष्ठको अधिआख्यानको सैद्धान्तिक निरूपण जस्ता चिन्तन र विषयमा आधारित आलेखहरू समावेश गरिएको छ, जसले पाश्चात्य साहित्य समालोचनामा प्रचलित नवीन अवधारणालाई नेपाली साहित्य समालोचनामा प्रवेश गराएको छ ।
अन्तर्विषयक विमर्श शीर्षकको तेस्रो खण्डमा नेपाली साहित्यमा कुसङ्केतना र अपाङ्गता, सीमान्तीकरणको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग, उत्तरवर्ती नेपाली कविताको पर्यावरणीय पठन, उत्तरवर्ती नेपाली निबन्धको समाजशास्त्रीय पठन, लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण जस्ता लेखहरू समावेश छन् । यस खण्डमा प्रा राजेन्द्र सुवेदीको कुसङ्केतना र अपाङ्गता शीर्षकको समालोचनात्मक लेखमा कुसङ्केतनाका स्वरूप र निर्मिति तथा नेपाली साहित्यमा कुसङ्केतना र अपाङ्गताको प्रयोगको स्थितिलाई विश्लेषण गरिएको छ । लोकसाहित्य विमर्शमा लोकसाहित्यको अध्ययनमा प्रगतिवादी पद्धति, लोकसाहित्यको अध्ययनका प्रमुख पद्धति र लोकसाहित्यको सन्दर्भपरक अध्ययन गरी तीन जना विद्वान् समालोचकका लेखहरू समाविष्ट छन् । यस खण्डमा लोकसाहित्यको अध्ययनमा सिलोकपरम्पराको अध्ययनमा समेत नयाँ सिद्धान्तलाई स्थापित गरिएको छ ।
विधागत सौन्दर्यविमर्श नामक पाँचौँ खण्डमा आत्मवृत्तान्तको सैद्धान्तिक स्वरूप, नाटकको रङ्गशिल्प सिद्धान्त, समकालीन नेपाली समालोचना : स्वरूप र प्रयोग, कविताका आधारभूत मानक र तिनको मूल्याङ्कनका प्रमुख आधार, उत्तरवर्ती नेपाली गीतिनाटकमा मञ्चीयता, नेपाली आख्यान र कविताको नाट्यायन र जीवनीको सैद्धान्तिक स्वरूप गरी विविध सात वटा अन्तर्विषयक समालोचना समावेश गरिएको छ । डा. रामप्रसाद ज्ञवालीद्वारा लिखित ‘कविताका आधारभूत मानक र तिनको मूल्याङ्कनका प्रमुख आधार’ तथा डा. अशोक थापाद्वारा लिखित ‘नेपाली आख्यान र कविताको नाट्यायन’ जस्ता आलेखहरूले यस खण्डमा नवीनताको ग्रहण गरेका छन् । विविध विमर्श शीर्षकको अन्तिम खण्डमा सांस्कृतिक चेतना, पाठालोचनको सिद्धान्त र नेपालीमा त्यसको प्रारम्भिक प्रयोग, अलङ्कार र फिगर अफ स्पिच, पाठनिर्माणका युक्ति : संसक्ति र संयुक्ति, स्वैरकल्पना सिद्धान्त र विश्लेषण, साहित्येतिहास लेखनका सैद्धान्तिक मानदण्ड र नेपाली साहित्यको इतिहास लेखनमा यसको प्रयोग तथा आनुभाविकता विश्लेषणको प्रायोगिक पक्षसँग सम्बन्धित विभिन्न विद्वान्का लेखहरू समाविष्ट छन् । यस खण्डमा कमै मात्र अध्ययन र लेखन भएको विषय ‘स्वैरकल्पना’, पूर्वीय अलङ्कार र पाश्चात्य फिगर अफ स्पिचको तुलनात्मक अध्ययन तथा आनुभाविकता विश्लेषण जस्ता नवीन लेखहरूलाई समावेश गरिएको छ ।
यस ग्रन्थमा करिब तीन दर्जन विद्वान्–विदूषी समालोचकका एक एकवटा समालोचनात्मक लेखहरू समावेश भएका छन् । पूर्वीय तथा पाश्चात्य समालोचनामा स्थापित नवीन सिद्धान्त र उक्त सिद्धान्तको प्रायोगिक विश्लेषणले गर्दा यस कृतिले नेपाली समालोचनाका क्षेत्रमा नयाँ ढोका उघारेको छ । समालोचनाका परम्परागत मान्यताभन्दा भिन्न विशेष गरी पाश्चात्य समालोचना चिन्तनमा देखापरेका नवीन मूल्य मान्यता र अवधारणालाई अङ्गीकार गरेर लेखिएका विविध विषयका आलेखका अतिरिक्त सम्पादकद्वयको अथक साधनाले यस ग्रन्थलाई गहन र विशिष्ट बनाएको छ ।
यो कृति नेपाली साहित्यका उच्चतहका शोधार्थी, विद्यार्थी, पाठक, लेखक तथा साहित्य समालोचनाका गम्भीर अध्येताका लागि समेत निकै उपयोगी र सङ्ग्रहणीय बनेको छ । चाँैतिस जना लेखकका चौँतिस वटा लेख तथा सम्पादकद्वयको लामो भूमिकाले गर्दा यो ग्रन्थ परिमाणात्मक दृष्टिले र ठूलो आकारमा साढे सात सय पृष्ठको आयाममा विस्तारित भएकाले नेपाली समालोचनामा अहिलेसम्मको बृहत् ग्रन्थ त बनेको छ नै गुणात्मक मूल्यका दृष्टिले पनि नेपाली समालोचनाको मानक ग्रन्थका रूपमा स्थापित भएको छ ।