• ९ असार २०८१, आइतबार

अमेरिकाले दियो नेपाललाई २०८ रनको लक्ष्य

blog

अमेरिकाको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : आइसिसी

काठमाडौं, असार ५ गते । जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई दुई सय आठ (२०८) रनको लक्ष्य दिएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेटको क्षतिमा दुई सय सात रन बनायो । 

अमेरिकाका लागि सायन जहानगिरले सतकी इनिङ्स खेल्नुभयो । उहाँले ७९ बलमा १० चौका र तीन छक्काको सहयोगमा एक सय रन बनाउनुभएको हो । यस्तै सुसान्त मोदानीले ४२, गजनन्द सिंहले २६, जेसि सिंहले १२ रन बनाउनुभयो । 

बलिङमा नेपालका करण केसीले चार विकेट लिनुभयो । गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिनुभयो ।


यसअघि छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा बलर नचल्दा हार खेपेको नेपालले अमेरिकासँग बलिङमा सुधार गरेको हो ।

नेपाललाई अमेरिकाविरुद्ध जित निकाल्न ब्याटिङमा पनि राम्रो गर्नु पर्नेछ । अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । 

छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ । 

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । 

अमेरिकाविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।