• १४ मंसिर २०८१, शुक्रबार

सिर्जनात्मक लेखन कार्यशाला आयोजना

blog

कार्यशालामा विद्यार्थीलाई कविता लेखन सिकाउँदै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ५ गते । बाँकेको कोहलपुर -१ स्थित जनज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ । 

कार्यशालाका संयोजक तथा विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेले एक सातासम्म सञ्चालन गरिने सो कार्यशालामा विद्यार्थीलाई कविता लेख्ने तौर तरिकाको बारेमा सिकाउँदै उनीरुलाई हलमा नै कविता लेख्न र वाचन गर्न लगाइने बताउनुभयो । उहाँले मेरो विद्यालय मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ सुरु गरिएको सो सिर्जनात्मक लेखन/सीप कार्यशालामा वरिष्ठ कवि देवी नेपालले कविता लेखन प्रशिक्षण दिँदै बालबालिकामा भएको यो उत्साहलाई ऊर्जा थप्न पाएकोमा खुसी व्यक्त गर्नु भएको बताउनुभयो। 

कार्यशालाका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले विद्यालयले बालबालिकालाई कविता लेखन र वाचन बारे प्रशिक्षणको व्यवस्था गरेर उनीहरूभित्र लुकेर रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गराउने अवसर दिएको बताउनुभयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल शर्माले बालबालिकालाई पठनपाठन सँगसँगै साहित्यिक गतिविधिमा पनि सक्रिय गराइने योजना अनुसार यो कार्यशाला गरिएको बताउनुभयो । 

विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक विष्णुमाया भण्डारीले विद्यालयका ७४ जना विद्यार्थीले कविता लेख्ने र वाचन गर्ने सिप सिक्नका लागि फारम भरेकोले उनीहरूलाई कार्यशालामा सहभागी गराइएको बताउनुभयो ।