• १२ मंसिर २०८१, बुधबार

जनयुद्धको महिमा र उपलब्धि

blog

इतिहास सङ्घर्षशील मानवका क्रियाकलापले निर्मित हुन्छ। यो कुनै एक जना महापुरुष, राजा–महाराजा, सेनापतिको पुरुषार्थको खेल हैन। यस्ता नायक पुरुष त सङ्घर्षले नै जन्माउने हो । वस्तुतः इतिहासका निर्माता जनता हुन् । दसवर्षे जनयुद्ध पनि जनताको महानतम इतिहास हो। जसमा हजारौँले अनमोल जीवनलाई सहर्ष आहुति चढाएका छन्। आफ्ना रगतले मातृभूमि भिजाएका छन्। देशको मायामा आफ्ना सम्पूर्ण स्वार्थ र जीवन नै न्यौछावर गरेका छन् । छातीमा गोली थाप्न रहराउने वीर र मृत्यु पनि सहर्ष स्वीकार गर्ने उदात्त र साहसी युवा–चेतनाको शौर्य–निर्मिति नै जनयुद्धको इतिहास हो । यो बलिदानको अप्रतिम नशा र उच्च स्वप्नको विशाल आकाश थियो अनि महत्तम त्याग पनि । मृत्युलाई पनि जित्ने साहस वा आँट बोकेर मात्रै, मृत्युञ्जयी बनेर मात्रै युद्धमा कालसँग पौँठेजोरी खेल्न सकिन्छ । 

जनयुद्धमा उत्साही युवा टाउकामा कफन बाँधेर, आफ्नो समाधिस्थल आफैँ खनेर सामेल भएका थिए। तिनै मृत्युञ्जयी जनताको आत्मत्याग एवं बलिदानको परिणाम वर्तमानले प्राप्त गरेको परिवर्तन हो । केही निद्राको अभिनय गर्ने चेतना जनयुद्धको अपमान गर्न ‘जनयुद्ध, जनयुद्ध नै हैन’ पनि भन्छन् भने केही त्यसलाई ‘हत्या–हिंसा’ सम्झन्छन्। उनीहरू नै जनयुद्ध दिवसलाई ‘हत्या–दिवस’, ‘आतङ्क दिवस’, ‘हिंसा दिवस’ वा ‘चिहान दिवस’ जस्ता शब्दावली प्रयोग गर्दै त्यो त्याग र बलिदानको अपमान गरिरहेका छन् । यस्तो चेतना तुच्छ चेतना हो । जसले त्याग, बलिदान, साहस, वीरता, शौर्य अर्थात् त्यो ‘मृत्यु–सङ्घर्ष’ को मूल्य बोध गर्न सक्दैनन् अथवा व्रmान्तिका विषय र यथार्थ दुवैलाई बुझ्दैनन् र नै ती उत्सर्गलाई हत्या सम्झन्छन्। 

उत्सर्ग र हत्या छुट्याउन नसक्नु, हिंसा र बलिदान छुट्याउन नसक्नु विवेकको अभाव हो। दोहन, उत्पीडन, घुस, कमिसन, भ्रष्टाचारको नशामा लट्ठिएकालाई बलिदानको मूल्यभन्दा लुट र रक्तपानको नशा मूल्यवान् लाग्छ। त्यसैले माओवादीलाई ‘सत्र हजार हत्या’ को आरोपण गर्छन्। एकातिर सत्र हजारको हत्या–आरोप लाउने र अर्कातिर जनयुद्ध नै हैन पनि भन्ने यो मनोदशा नै व्यतिरेकी छ। सत्र हजार माओवादी मात्रै थिए कि जनता पनि 

थिए ? जनता नभए ती को थिए ? वानर सेना या माटोका मूर्ति ? माटोका मूर्ति या वानरको मृत्युलाई ‘हत्या’ मानिँदैन पनि। तसर्थ ती जनता थिए र उनले चालेको युद्ध जनयुद्ध नै थियो। जनयुद्ध नभए लाखौँलाख जनको सहभागिता कसरी भयो त ? 

एकातिर माओवादीले ८० प्रतिशत भूभाग कब्जा गरे भन्ने र अर्कातिर जनयुद्ध नै हैन भन्ने, एकातिर पुलिस र सेनाका ब्यारेक उडाए भन्ने र अर्कातिर त्यो युद्ध नभएर हत्या थियो भन्ने, यो एउटा विचित्रको विचारहीनता हो। जसको न तुक छ, न छन्द नै। जनयुद्ध भएकाले नै त्यसले तत्कालीन शासक वर्ग, सामन्त वर्ग, शोषक वर्ग, प्रतिगामी वर्ग वा वर्गशत्रुको होस उडाएको थियो। त्यसले सामन्त शिविर ध्वस्त र तानासाही सैन्य शक्तिको जगै हल्लाइदियो। अनि न शासकले साम्राज्यवादी शक्तिको साहरा लिन थालेका हुन्। प्रतिगामी, शोषक, सामन्त, अभिजात्य र सम्भ्रान्त तथा यथास्थितिवादी प्रतिक्रियावादीको हंस उडाइदिनु सानो कुरा पनि थिएन। त्यसै भएर नै अहिले तिनै वर्ग आफ्नो पुरानो शोषण, ठगी, लुट, भ्रष्टाचारको अन्यायपूर्ण सत्ता पुनस्र्थापित गर्न जमर्को गरिरहेका छन्।

दुई सय पचास वर्षदखि निरन्तर अपराध गर्दै आएको सामन्तवाद त्यसको पछि लागेर शोषण–दोहन गर्दै आएको प्रतिक्रियावादी राज्यसत्ता फालिएपछि त्यो अहिले तातो तावामा परेको माछा झैँ छटपटाइरहेछ र जनयुद्धलाई हत्या आरोपित गर्दै छ। खोसिएको लुटको स्वर्ग, अत्याचार अनि उत्पीडनको साम्राज्य सदाका लागि अवसान हुन लागेको देखेर नै छटपटी सुरु भएको हो। गरिब–विपन्न–शोषित वर्गका आँसु–रगत–पसिनाले रक्ताम्य दरबार वा रङ्गीन महल ढलेपछि, मजदुर, किसान, श्रमजीवी वर्गलाई चुसिरहेको ‘चुसाहा व्यवस्था’ खलबलिएपछि, त्यस्तै अन्याय र अपराधको हालीमुहाली खोसिएपछि, त्यो खोस्ने जनयुद्धमाथि खनिनु नौलो होइन। जे भए पनि महान् जनयुद्धले दरबार र विलासी महल, तानासाही र निरङ्कुशता ढालेकै हो।

उनीहरू सत्र हजार जनता मार्ने माओवादी ‘हत्यारा’ हुन् पनि भन्दै छन्। आफ्नो सत्ता ढलेको चित्कार पनि गर्दै छन्। यसले जनयुद्ध हत्या हैन, राजनीतिक विद्रोह हो भन्ने आफैँ पुष्टि हुन्छ। किनकि सामन्ती सत्ता वा कुनै पनि निरङ्कुश राज्यसत्ता ढाल्ने काम राजनीतिक विद्रोह हुन्छ, हत्या हैन। जुका, किर्ना, उडुस, उपियाँले झैँ जनताको रगत चुस्ने र गोमनले झैँ देश डस्ने त्यो राक्षसी सत्ता दास–मालिक परम्पराको प्रतिविम्बका रूपमा वा राजा र रैतीको सम्बन्धका रूपमा मात्रै थियो। जुन देश र जनतालाई चुसेर मात्रै बाँचेको थियो। त्यो परजीवी सत्ताले जनतालाई एक चक्की सिटामोल दिन्नथ्यो भने कारुणिक र दयनीय जीवन गुजारा गर्न बाध्य पारेको थियो। 

भोकले–रोगले–पीरले, अभाव–गरिबी–विपन्नताले, अन्याय, विभेद र पक्षपातले त्यतिखेरको सत्ताले जनतालाई जिउँदै मर्न विवश पारेको थियो। मानिस भोकले मर्थे, कुपोषणले मर्थे, ज्वरोले मर्थे, पखालाले मर्थे, फोहोर पानीले मर्थे, हैजाले मर्थे। यसरी जनता मरिरहेका थिए तर सामन्त–तानासाह–बादसाह वर्ग वैभव र ऐश्वर्यको विलासी जीवन जिउँथे। जनयुद्धले त्यसको प्रतिवाद ग¥यो। उनीहरूले पत्रकार कृष्ण सेनलाई मारे, कवि, लेखक, कलाकारलाई मारे, लाटा, सुधा, जोगी र गोठालालाई मारे, गाउँले किसानलाई मारे, निर्दोष जनतालाई मारे, मलामी, जन्ती, घेवामा सामेल बन्धु, मेला भर्नेहरू, स्कुले विद्यार्थी, नाबालक नानीहरू, माओवादी बाउआमाका छोराछोरी छोपेर मारे, सुत्केरी र किरियापुत्रीलाई पनि मारे, खेत–खलियानका किसानलाई मारे, काम गरिहेका मजदुरलाई मारे, भारी बोक्ने भरियालाई मारे। 

जनयुद्धका प्रथम–सहिद नै अबोध, कलिला, मासुम विद्यार्थी थिए। बालिका मञ्जु कुँवरलाई कक्षाबाटै थुतेर र मैना सुनारलाई कब्जामा लिई बलात्कार गरेर पनि त मारियो। यस्तो अपराधलाई न हत्या भनिन्छ। तसर्थ हत्यारा को स्पष्ट हुँदैन र ? युद्धविराम रहेको र शान्तिवार्ता चलिरहेकै बेलामा दोरम्बामा बाइस जना तामाङ बन्धुलार्ई मार्ने के हुन् ? भारतबाट सुपुर्दगी गरिएका घाइते मार्ने के हुन् ? पक्रेर कैदमा राखेका, कब्जामा लिएका जनता मार्ने को हुन् ? तिनलाई पो हत्यारा मान्नुपर्ने हुन्छ। कालीकोटको कोटवाडामा हवाई मैदान बनाइरहेका ‘ठेकेदारका मजदुर’ मार्ने वा मार्न लाउनेलाई के भन्नुपर्ने हुन्छ ? दाङको खलियानमा धान ओसाइरहेका निस्पाप थारू मार्ने के हुन् ? अनेकोट, भावाङ, गुम्चाल, जुफाल, मुढभरा, डोटी आदि ठाउँमा निहत्था जनकलाकारका समूहलाई सामूहिक रूपमा मार्नेलाई के भन्नु पर्छ ? शिवपुरीको जङ्गल साक्षी छ, हत्यारा को हो ?

बेपत्ता योद्धाका आफन्तलाई सोधे हुन्छ, हत्यारा को हो ? मारिएका सत्र हजारमध्ये १४ हजार त राज्यपक्षले नै मारेको हो भने प्रचण्ड कसरी ‘सत्र हजारे’ हुन गए ? अनि सँगसँगै चौध हजार मार्ने ‘चौध हजारे’ किन ‘हत्यारा’ भएनन् ? के कृष्ण सेन, चुनु गुरुङ, सुरेश वाग्ले, रीतबहादुर खड्का, शेरमान कुँवर, क. सुनील, क. दीप आदिलाई प्रचण्डले मारेका हुन् ? यिनीहरू सत्र हजारभित्र पर्दैनन् ?? के प्रचण्ड आफैँले आफ्ना कमरेडलाई मारेका हुन् त ? हो, तीन हजार मारिनुमा उनको नैतिक जिम्मेवारी छ किनकि विद्रोहको घोषणा उनीबाट नै भएको हो तर सायद उनले आफैँ बन्दुक उठाएर भने एकै जना पनि मारेका छैनन् कि ? जो अरूलाई मार्न जान्छ, ऊ आफू पनि मारिन सक्छ, तीन हजार त्यसरी नै जनता मार्न जाँदा मरेका हुन्। फेरि क्रान्तिमा बलिदान अनिवार्य सर्त हो, बिनाउत्सर्ग, बिनाजीवन–त्याग संसारमा कुनै पनि परिवर्तन भएका छैनन्। नेपालको विगत हजार वर्षको इतिहासलाई हेर्दा यो जनयुद्ध नै सिद्धान्त, विचार, राजनीति, सचेत सामाजिक परिवर्तनमा आधारित, सबभन्दा ठुलो, योजनाबद्ध, संयमित, सोद्देश्य र सार्थक युद्ध थियो भन्ने इतिहासका तथ्यले नै पुष्टि गर्छन्। बरु राज्यपक्षले थुप्रै युद्ध अपराध गरेको छ – साम्राज्यवादीको निर्देशनमा! जथाभावी हत्या, आगजनी, विस्फोट, बलात्कार गरेको छ। बेपत्ता पारेको छ। नृशंसता र बर्बरता प्रस्तुत गरेको छ – विद्रोही पक्षको तुलनामा। युद्धमा मृत्यु हुन्छ नै, युद्ध भनेकै भोजभतेर वा उत्सव होइन। नापेर तौलेर भव्य व्यवस्थाका साथ संयम र शालीन युद्ध कहीँ हुँदैन, त्यहाँ कमी–कमजोरी अनिवार्य हुन्छन्। त्यसैले त प्रेम र युद्धमा सब थोक जायज हुन्छ भन्ने गरिन्छ। मृत्युका धेरै प्रकार हुन्छन्। 

महान् मृत्यु र नीच मृत्यु हुन्छन्। रगत चुसेर मार्नु पनि त एक मृत्यु हो, अन्याय र उत्पीडनले थिचेर मार्नु पनि त मृत्यु हो, भोकभोकै पारेर, गरिबी र अभावमा थचारेर, माथि उठ्न नदिएर, यातना दिएर, दमन र अत्याचार गरेर मार्नु पनि मृत्यु नै हो। हिजोको सत्ताले त्यसै ग¥यो। ऊ गरिब र किसान वर्गका आँसु, पसिना र रगतमा लत्पतिएको थियो। श्रमिक वर्गका जनताको पसिना पिएर बाँचेको थियो। त्यो एक किसिमको राक्षसी सत्ता थियो। हिंसा आत्मिक र भौतिक दुवै हुन्छ। विचार राख्न नदिनु पनि हिंसा हो। मानसिक प्रताडना पनि हिंसा नै हो। सामन्ती प्रभुत्वको थिचोमिचो पनि हिंसा नै हो। भनिन्छ नि गोलीले रगतसहित मार्छ भने बोलीले बिनारगत। दमन, थिचोमिचो, यातना, जेल, नेल, गरिबी, अभाव, विपन्नता, पछौटेपन र अविकास आदि सबै हिंसा नै हुन्। 

दुष्टता स्वयम्मा एउटा हिंस्रक अपराध हो। बेथिति, विसङ्गति, बेइमानी, धूर्तता पनि अपराध हो। घुस र भ्रष्टाचार पनि अपराध हो। हिजोको सत्तामा यी सबै कुरा, सबै लक्षण र सबै गुण थिए। तसर्थ विद्रोह भयो। त्यो विद्रोह कसरी हत्या हुन सक्छ ? जसले बलिदान दियो, त्यो नै हत्यारा कसरी भयो ? के क्रान्तिका निम्ति बलिदान हत्या हो ? अहिले यस्तै झुटको खेती प्रतिगामी गरिरहेका छन्। बलिदानी कर्म गर्ने र क्रान्तिको अभियान चलाउनेलाई नै उल्टै हत्यारा सिद्ध गर्न लागिएको विडम्बना यहाँ छ। ‘जो चोर उसैको ठुलो स्वर’ भने झैँ हत्यारा नै क्रान्तिकारीलाई हत्यारा भन्दै छन्। तत्कालीन सत्ताले चेतनाका आधारमा, जातका आधारमा, विचार र राजनीतिका आधारमा, लिङ्गका आधारमा, भौगोलिक क्षेत्र, धर्म र संस्कृतिका आधारमा पनि जनताको हत्या गर्दै आएको थियो। तसर्थ विद्रोहीमाथि हत्याराको आरोप लाउनुअघि उनीहरूले पहिले आफूलाई हेर्नु पर्छ। वास्तविक हत्यारा को हो ? खुट्याउनु जरुरी छ र इतिहास र समयले खुट्ट्याउने नै छ। 

जनयुद्ध किन भयो ? यसको कारण के हो ? किन जनता मर्न र मार्न तयार भए ? यी प्रश्नको वास्तविक अर्थको खोजी नगरी जनयुद्धको मूल्य निर्धारण हुन सक्दैन। हत्याराले नै उल्टै विद्रोहीलाई पो ‘हत्यारा’ साबित गर्न चाहिरहे छन्! आश्चर्य! के यही सत्य हो ? कुनै पनि घटनाका पछाडि कारण निहित हुन्छ। जनयुद्ध हुनुका पछाडि पनि कारण छन्। मानिस रहरले मर्न कोही जाँदैन। जनतालाई जनयुद्धमा हेलिन बाध्य पारिएको हो। कसरी ? देश संसारकै सबभन्दा गरिब बनाइयो, जनता दरिद्र भए, किसान, मजदुर, ज्यामी, हली, गोठाला, खेतालामाथि असह्य कहर लादियो। जनता भोक र रोगले मर्दा सत्ताधारी वर्ग भोग, विलास, ऐश्वर्य र वैभवमा डुबेर मदमत्त साँढेको जीवन जिउन थाले। 

यही वर्गीय विभेद र असमानता नै जनयुद्धको कारण थियो। जातीय, वर्ण, क्षेत्र र लिङ्गका हिसाबले जनताको विभाजन गरियो र दमन गरियो। अन्याय, उत्पीडन, पक्षपात र वञ्चना गरियो। विकास, निर्माण, समृद्धि आदि सबैमा भेदभाव र पक्षपात गरियो। त्यसैले जनयुद्ध भयो। राज्यको ढुकुटीमा सामन्त र सम्भ्रान्त वर्गको एकलौटी भयो। त्यसैले जनयुद्ध भयो। महिला र पुरुष, उपल्लो र तल्लो जात, मधेशी र पहाडी, दुर्गम र सुगम, सुदूर र सहर, धनी र गरिबबिच निरङ्कुश तानासाही एकात्मक सत्ताले भेदभाव र पक्षपात, अन्याय र तिरस्कार ग¥यो र त जनयुद्ध सुरु भयो। सामन्त र सम्भ्रान्त वर्गको मात्र थिएन – देश। जनताले रक्षा गरेको देशमा जनता नै अकिञ्चन र तिरस्कृत भए। असमान सन्धि गरियो, स्वाभिमानमा निरन्तर आँच आयो। कालापानीदेखि लिम्पियाधुरासम्मको जमिनै छोडेर महाकाली सन्धि गरियो। विदेशी सेनाको क्याम्प देशभित्र राखियो। सधैँ विदेशीसामु लम्पसार परियो, त्यसैले जनयुद्ध भयो। 

समाजलाई दास र मालिक, धनी र गरिब, शोषक र शोषित, कामदार र परजीवी वर्गमा विभाजन गरेर शासन गर्ने र रजगज गर्ने काम भयो। अनि जनयुद्ध भयो। जब कहरमा जिन्दगी गुमाउनु नै छ भने, अभाव र गरिबीमा मर्नु नै पर्छ भने, हक–अधिकार मारिन्छ र रैती बनेर जीवन गुजार्नु पर्छ भने ‘मरता क्या न करता’ भने झैँ जनताले युद्ध र हतियार रोजेका हुन्। बाँच्नै नसक्ने भएपछि हतियार उठाउनै पथ्र्यो, उठाए। किनकि ‘वुभुक्षितम् किम् न करोति पापम्।’ भोकाले गर्ने सबै ‘पाप’ जायज हुन्छ। भोकाले रोज्ने बाटो पनि अन्त्यमा हिंसा नै हुन्छ। कारण त्योबिना समस्याको समाधानै गरिन्न। न्यायका निम्ति, अधिकारका निम्ति, स्वाभिमानका निम्ति, जीवनका निम्ति न्यायको युद्ध लड्नु कुनै हत्या होइन। हक मारिएपछि लड्नु जनताको उत्तरदायित्व नै हो। 

गीताले नै भनेको छ त! ‘न्यायका लागि, हकका लागि, सत्यका लागि, धर्मका लागि’ युद्ध गर्नु गलत होइन। ‘तस्मात् उत्तिष्ठ कौन्तेय युद्धायः कृतः निश्चय’ त्यसै अर्थमा भनिएको हो। क्रान्ति र परिवर्तनद्वारा मुक्तिका लागि लड्नु र दुस्मनलाई मार्नु हत्या होइन। न्यायपूर्ण युद्धमा हत्या जायज हुन्छ। आफ्नो धर्मका लागि दस लाख भिक्षु शङ्कराचार्यले पनि त मारे। ती ‘सन्त–सेना’ लाई हत्यारा भन्ने कि नभन्ने ? केही समयपहिले अफगानिस्तानका स्कुलमा, अस्पतालमा, गाउँबस्तीमा अमेरिकी सेनाले बम्बार्ड गरी हजारौँ केटाकेटी, रोगी, आइमाई, बुढाबुढी, घरेलु जीवजन्तु आदिलाई बिनामेसै मा¥यो, त्यसलाई हत्यारा किन भनिएन ? पहिलो र दोस्रो विश्वयुद्धमा लाखौँ, करोडौँ जनता मारिए, त्यसलाई के भन्ने ? हिरोसिमा र नागासाकीमा त एटमबम खसालेर लाखौँ जनतालाई, जो बिल्कुल निर्दोष थिए, एउटै खरानीको थुप्रो बनाइयो, त्यो के थियो ? के माओवादीले त्यस्तै जघन्य अपराध गरेर मारेका थिए जनतालाई ? हैन मारेनन्। 

जो लड्न आए, मारिए! मर्न आउने मारिनु वा मार्न आउने मारिनु अथवा फरक तरिकाले जनता मारिरहेकालाई मार्नु हत्या हुन सक्दैन। श्वेत–आतङ्कका विरुद्ध लाल–आतङ्क, राज्य–आतङ्कका विरुद्ध जनताको आतङ्क हत्या मानिँदैन बरु प्रतिरोध हो। सुराकी गरेर माओवादीको षड्यन्त्रपूर्ण हत्या गराउनेलाई दण्डित गर्नु पनि हत्या होइन। युद्ध, अपराधी वर्गले सुरु गरेको हो। माओवादीले त त्यसको प्रतिकार मात्रै गरेका हुन्। शासक वर्गले हत्या ‘अपरेसन’ चलाए, माओवादीले त्यसको प्रतिरोध गरे। जब शोषक वर्गले जनतालाई जिउँदै मार्न थाले अनि माओवादी र जनताले ‘जाइ कटक हैन, झिकी कटक’ गरे, यो कुनै हत्या हुन सक्दैन। आफूलाई खान आउनेको सिकार जसले पनि त गर्छ। युद्धपिपासु र रक्तपिपासु वर्गका विरुद्ध हिंसात्मक आन्दोलन जनताको अधिकार हो। हो, माओवादीले त्यही अधिकार प्रयोग गरेका हुन्।

जनयुद्ध महान् युगान्तकारी उच्च प्रयाण थियो। जसले २५० वर्षदेखि चलिआएको एउटा अन्यायपूर्ण परिपाटीको अन्त्य ग¥यो। सामन्ती युग समाप्त ग¥यो। यो देश र जनताको मुक्तिकामी सङ्घर्षको सर्वोच्च रूप थियो। लामो समयदेखि थिचोमिचोमा परेका जनताको चेतना र जागरुकताको परिणति थियो। विचार, आदर्श, सिद्धान्त र राजनीतिक स्वप्नले प्रेरित भएर सचेत जनताले आफैँ स्वयम् सुरु गरेको बलिदानी सङ्घर्ष थियो। तसर्थ बलिदान हत्या हुँदैन। क्रान्तिलाई हिंसा मानिँदैन। त्याग, साहस, वीरतापूर्वक लडिएको युद्धमा हुने मृत्यु त कुर्बानी हो। सचेत जनताले महान् लक्ष्य निर्धारण गरी निश्चित विधि र अनुशासनमा, पूर्वघोषणा नै गरेर ४१ बुँदे माग राखी निर्धारित उद्देश्य प्राप्तिका लागि छेडिएको युद्ध त विद्रोह हुन्छ, हत्या वा हिंसा होइन।

 यत्ति पनि नबुझेका वा बुझ्न नचाहने वा बुझेर पनि बहानाबाजी गर्ने आफैँ मूर्ख बनिरहेका छन्। सचेतता र जागरण, वैचारिकता र सिद्धान्तका साथ सुरु गरेको युद्ध नै प्रतिरोध हो। जनयुद्ध त्यस्तै थियो। त्यो सत्यका निम्ति लडाइँ थियो, न्यायका निम्ति, हक–अधिकार प्राप्तिका निम्ति, स्वतन्त्रता र समानताका निम्ति, देश र जनताको हित र स्वार्थका निम्ति योजनाबद्ध वैचारिक युद्ध थियो। त्यसलाई भ्रष्टीकरण, विद्रूपीकरण, अपराधीकरण, राक्षसीकरण गरी हत्या साबित गर्न खोज्नेहरू अपराधी हुन्। युग र समाज बदल्न, परिवर्तनको लाल उषा जन्माउन जनयुद्ध युगीन सुँडेनी हो। हत्याराका आँखाबाट हेर्दा हत्या लाग्नु, जनताका शत्रुको आँखाबाट हेर्दा हिंसा लाग्नु, अपराधी, डाँकाको आँखाबाट हेर्दा अपराध लाग्नु, अत्याचारी, अमानवको आँखाबाट हेर्दा मानवताविरोधी देखिनु कुनै आश्चर्य हैन। जसले जनयुद्धलाई हत्या र हिंसाका आँखाले हेर्छन्, ती जनताका शत्रु र देशका वैरी हुन् भन्न सकिन्छ।

सामन्ती समाजको सांस्कृतिक अवशेष आज पनि बाँकी छ। यो यथार्थ सबैले स्विकार्नै पर्छ। त्यो हामीमा पनि छ भन्न हिचकिचाउनु पर्दैन किनकि व्यवहारमा क्रान्तिकारी परिवर्तनको समग्र लक्ष्य खरो रूपमा अझै उत्रिएको छैन। त्यसकारण जनयुद्धले देखेका सपना र जनयुद्धको उद्देश्य आज पनि पूरा भइसकेको छैन। समाजमा आर्थिक, सांस्कृतिक रूपान्तरण लक्ष्य अनुरूप हुन सकेन। सामाजिक परिवेश पनि उस्तै उस्तै हुँदै जान थालेको छ। राजनीतिलाई संस्कृतिमा बदलेर मात्र परिवर्तनको प्रत्याभूति हुन सक्ला। संस्कृति बदल्नु भनेको जीवन, व्यवहार, चरित्रमा परिवर्तन पनि हो। सायद राजनीतिक परिवर्तनलाई सांस्कृतिक परिवर्तनसँग समायोजन गर्न बाँकी नै छ। सांस्कृतिक सत्ता बडो जब्बर हुन्छ। यो सजिलै फेरिँदैन पनि। निरन्तर फेर्ने प्रयास जारी राख्नु जरुरी हुन्छ। 

पन्ध्रै वर्षमा संस्कृति फेरिएन भनेर चिल्लाउनुको कुनै तुक छैन। त्यसको अर्थ फेर्न कोसिस बन्द गर्ने भनेको हैन। फेर्ने प्रयत्न जारी रहेको देखिनु र छुनुको स्थितिमा हुनु पर्छ। जीवनमा क्रान्तिकारी संस्कृतिको अभ्यास सुरु नगरेसम्म परिवर्तनको प्रत्याभूति हुन सक्दैन। संस्कृति र राजनीति त अनन्य छन्। एकको अभावमा अर्कोको अर्थ रहन्न। कृषि र अर्थतन्त्रमा विकासका नमुना निर्माण, जनताको जीवनस्तरको समृद्धीकरण, राष्ट्रको सशक्तीकरण, विधि र नियमको पूर्ण परिपालना र सबलीकरण, मर्यादा र अनुशासनको समाजमा स्थापना तथा समतामूलक न्याय व्यवस्था आदिद्वारा मात्रै सांस्कृतिक रूपान्तरण देखिन सक्छ। जनयुद्धको सांस्कृतिक सार पनि यही हो।

लेखक वरिष्ठ सांस्कृतिककर्मी हुनुहुन्छ।   

Author

ईश्वरचन्द्र ज्ञवाली