• १२ साउन २०८१, शनिबार

अनियमित विद्युत् आपूर्तिले उद्योगधन्दा समस्यामा

blog

घोराही समाचारदाता

घोराही, असार ५ गते । अनियमित विद्युत्का कारण दाङका सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत् आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिन छिनमै विद्युत् आउने जाने समस्याका कारण उद्योगमा समस्या परेको घोराही उपमहानगरपालिका–१८, अम्बापुरमा बिस्कुट उद्योग सञ्चालन गर्दै आउनुभएका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार विद्युत् अनियमित हुँदा उद्योगका सामान बिग्रिनुका साथै उत्पादन घटाउनुपर्ने बाध्यता छ । 

विद्युत् अनियमित हुँदा मोटर बिग्रनेदेखि लामो समय बत्ती नहुँदा बिस्कुट तयारीका लागि हालेको सामग्रीसमेत बिग्रिने जोखिम हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । “विद्युत् अनियमित हुँदा धेरै उद्योगमा मोटर बिग्रनेदेखि उत्पादनमा कमी पनि भएको छ,” उहाँले भन्नुभयो ।  विद्युत् अनियमित हुँदा जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा उत्पादन लागत वृद्धि हुने गरेको छ । डिजेलको मूल्य बढी भएकाले उत्पादन मूल्य बढी हुने उद्योगी तथा व्यवसायी बताउँछन् । विद्युत्का कारण उद्योगमा धेरै समस्या परेको घोराही उपमहानगरपालिका–१३ मा रहेको नम्किन उद्योग सञ्चालक विकास वली बताउनुहुन्छ । “विद्युत् कति बेला आउँछ, कति बेला जान्छ थाहै हुँदैन । जसले गर्दा आफूहरू जस्ता उद्योगी समस्यामा परेका छौँ,” उहाँले भन्नुभयो । विद्युत् जाने समय निश्चित भए त्यही अनुसार तयारी गर्ने उहाँ बताउनुहुन्छ । विद्युत्का कारण उत्पादन गर्न थालेको बस्तु बिग्रिएर फाल्नुपर्दा धेरै घाटा लाग्ने गरेको उहाँको भनाइ छ । विद्युत् नियमित नहुँदा उत्पादन घटाउनु परेको पनि उहाँले जानकारी दिनुभयो । विद्युत् नहुँदा दिनभरि कामदार खाली बस्नुपर्ने बाध्यता रहेको छ । 

अनियमित विद्युत्का कारण घरेलु तथा साना उद्योगी धेरै समस्यामा रहेको घरेलु तथा साना उद्योग महासङ्घ दाङका अध्यक्ष प्रदीप मजगैया बताउनुहुन्छ । अनियमित तथा लो भोल्टेजका कारण पनि उद्योगीले समस्या भोग्नु परेको अध्यक्ष मजगैया बताउनुहुन्छ । “साना तथा घरेलु उद्योगले विद्युत्को विकल्पमा जेनेरेटर राख्न पनि समस्या रहेको छ,” उहाँले भन्नुभयो । सानो लगानीमा उद्योग सञ्चालन हुने भएकाले जेनेरेटर तथा विकल्पमा अन्य राख्नसमेत समस्या हुने उहाँको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरण घोराही शाखा प्रमुख मिथिलेशकुमार गोहीवार विद्युत् अनियमित हुने समस्या दाङमा मात्रै नभएर बुटवलदेखि पश्चिम क्षेत्रकै समस्या भएको बताउनुहुन्छ । “विद्युत् अनियमित हुने समस्या दाङमा मात्रै होइन, यो बुटवलदेखि पश्चिम क्षेत्रकै समस्या हो । समस्या हटाउनका लागि पहल भइरहेको छ तर हट्न सकेको छैन,” उहाँले भन्नुभयो । घोराही क्षेत्रमा मात्रै हुने विद्युत् अनियमित हटाउनका लागि बजारका विभिन्न स्थानमा नयाँ ट्रान्सफर्मर राख्ने काम भइरहेको उहाँले बताउनुभएको छ ।