• ८ वैशाख २०८१, शनिबार

सडक विस्तारमा खानेपानीको पाइप र ढल व्यवस्थापन चुनौती

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असार ३ गते । अरनिको राजमार्ग विस्तार गर्ने क्रममा बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा खानेपानीको पाइप र ढल व्यवस्थापनले सडक विस्तारको काममा चुनौती बनेको छ। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले बिछ्याएको पाइप र ढलमा क्षति पुग्ने भएपछि सडक विस्तारको काममा चुनौती थपिएको हो। 

धुलिखेल नगरपालिकाका प्रमुख एवं काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना व्यवस्थापन बोर्डका अध्यक्ष अशोककुमार ब्याञ्जूले सडक विस्तारको डिजाइन गर्ने क्रममा स्थानीय सरकारसँग आयोजनाले कुनै समन्वय नगरेको आरोप लगाउनुभयो। उहाँले बाटो विस्तार गर्ने क्रममा खानेपानीको पाइप स्थानान्तरण गर्ने र टुटफुट भएमा करोडौँ रुपियाँ खर्च लाग्ने तथा नगरपालिकाले उक्त काम गर्न नसक्ने भएकाले सडक आयोजनाले नै जिम्मेवारी लिनुपर्ने बताउनुभयो। 

सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर माधव पौडेलले बनेपा र धुलिखेलमा बिछ्याइको खानेपानी र ढलको पाइप सडकको माथिल्लो भागमा रहेकाले क्षति पुग्ने बताउनुभयो। “सडक विस्तार गर्ने क्रममा खानेपानी र ढलको पाइपमा हुने क्षतिको लागत अनुमान तयार गर्न दुवै नगरपालिकालाई अनुरोध गरेका छौँ, लागत तयार गरेपछि यस विषयमा छलफल अगाडि बढाइने छ,” पौडेलले भन्नुभयो। 

उहाँले विद्युत्को पोल सार्ने, रुख कटान गर्नेलगायत सार्वजनिक संरचना निर्माण गर्नुपर्ने भएकाले कार्यालयसँग रहेको रकमले नपुगेमा स्थानीय तहसँग साझेदारी गरेर काम गर्ने विषयमा छलफल हुने बताउनुभयो।

नेपाल सरकारको लगानीमा अरनिको राजमार्गको सूर्यविनायकदेखि धु्लिखेलसम्मको १६ किलोमिटर सडक छ लेनमा विस्तार सुरु गरिएको हो। साँगादेखि धु्लिखेलसम्मको आठ दशमलव पाँच किलोमिटर सडक निर्माण चार अर्ब पाँच करोड ६४ लाख र सूर्यविनायकदेखि साँगासम्मको सात दशमलव पाँच किलोमिटर सडक निर्माण तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा गर्ने गरी ठेक्का सम्झौता भएको छ। 

हालसम्म साँगादेखि धुलिखेल खण्डको करिब आठ प्रतिशत र सूर्यविनायकदेखि साँगासम्मको करिब छ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। हाल दुवै खण्डमा सडकमा टेवा पर्खाल लगाउने, ढललगायत संरचना बनाउने काम भइरहेको छ।