लीलाधर वली
घोराही, असार २ गते । सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका –१० नारायणपुरस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा शनिवार आयोजना गरिएको सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिका –१० को समन्वय एवं अमेरिकन लाइफ इन्सोरेन्स कम्पनी (मेट लाइफ नेपाल) पुल्चोक ललितपुरको सहयोगमामा भएको निःशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी शिविरमा ४ सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजेटिभ देखिएको छ ।
स्क्रिनिङ गरिएका ४ सय १२ जनामध्ये करिब १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप सङ्क्रमित हुन सक्ने आशङ्का गरिएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बरबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार स्क्रिनिङ गर्दा ४ जना पुरुष र ३७ जना महिलामा सिलकसेल पोजेटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरिने उहाँले बताउनुभयो ।
यसअघि जिल्लाका ७ वटा पालिकाहरू घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएकोमा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएका थियो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार राप्तीमा ४ सय १८ जनाको परीक्षण गर्दा ५४ जना, गढवामा ४ सय २१ जनाको परीक्षण गर्दा ४१ जना, लमही नगरपालिकामा -४ सय १६ जनाको परीक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।
राजपुर गाउँपालिकामा १ सय ३ जनाको परीक्षण गर्दा १० जना, दंगीशरणमा ४ सय ५ जनाको परीक्षण गर्दा ६६ जना, तुलसीपुर उपमहानगरमा ४ सय ५४ जनाको परीक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा ४ सय ५२ जनाको परीक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।
जिल्लाका सबै पालिकाका वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ हुनुपर्ने देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सिकलसेल एनिमिया रोग पहिचान गरी रोकथाम गर्न जिल्लाका सबै पालिकाका वडामा परीक्षण गर्ने तयारी गरेका छौ ।’