• १३ मंसिर २०८१, बिहिबार

नवलपुरको कावासोतीमा प्रविधियुक्त चिस्यान केन्द्र निर्माण

blog

मीना कँडेल

कावासोती, असार १ गते । पूर्वी नवलपरासीको कावासोतीमा निर्माणाधीन अवस्थामा रहेको चिस्यान केन्द्रको निर्माण कार्यले गति लिन थालेको छ। दुई वर्षअघि चिस्यान केन्द्रको निर्माण थालनी गरिएको भए पनि विविध कारणले केही समय रोकिएको थियो। अहिले चिस्यान केन्द्रको निर्माण कार्यले गति लिएसँगै ५० प्रतिशत काम पूरा भएको छ। 

 कावासोती नगरपालिका वडा नं. १४ मा निर्माण भइरहेको सो चिस्यान केन्द्र २१ करोडको लागतमा निर्माण हुने भएको छ। प्रवासबाट आर्जित सिप, ज्ञान र पुँजी स्वदेशका लागि भन्ने मूल नाराका साथ स्थापित रिटर्नी कृषि तथा पशुपालन समूह कम्पनी लिमिटेडले दुई हजार मेट्रिक टनको चिस्यान केन्द्र निर्माण गर्न लागेको रिटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले बताउनुभयो।

 सङ्घीय सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० प्रतिशत सहयोग र बाँकी विदेश गएर फर्केका देशैभरिका युवाको लगानीमा गरी रु. २१ करोडको लागतमा चिस्यान केन्द्र निर्माण हुन लागेको अध्यक्ष थनेतले बताउनुभयो। यो काठमाडौँ बाहिर पहिलो पटक व्यवस्थित प्रविधियुक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो। 

 चिस्यान केन्द्रको पहिलो चरणको काम सम्पन्न गरेर दोस्रो चरणको काम सुरुवात गरिएको छ। पहिलो चरणमा सिभिल, वाल, मन्दिर निर्माण र सेक्युरेटी रूपलगायतको कार्य सम्पन्न भएको छ। दोस्रो चरणमा एक हजार मेट्रिक टन क्षमता भएको दुई वटा च्याम्बर स्टिल, स्टक्चर, पफ प्यानल र मेसिनरी निर्माण कार्य सुरुवात गरिएको संयोजक थनेतले बताउनुभयो।

 चिस्यान केन्द्रमा मौसममा उत्पादित फलफूल तथा खाद्यवस्तुलाई भण्डारण गरी बेमौसममा बजारमा पठाउने बताइएको छ। यसले गर्दा किसानले पनि उचित मूल्य पाउने र कृषि उपजमा परनिर्भरतासमेत घट्ने अध्यक्ष थनेतको भनाइ छ। १८ कट्ठा जग्गामा आठ च्याम्बर भएको जर्मनी प्रविधिमा आधारित केन्द्र निर्माण हुँदै छ। जसलाई फरक फरक वस्तु राख्न मिल्ने गरी निर्माण गरिने जनाइएको छ। चिस्यान केन्द्र सञ्चालनसँगै नवलपुरसहित अन्य जिल्लामा कृषि तथा फलफूलको उत्पादन बढ्ने र बजारसमेत विस्तार हुने कम्पनीले विश्वास लिएको छ। जिल्लामा नै चिस्यान केन्द्रको निर्माण भएपछि कृषक खुसी भएका छन्। कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बिउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने छ। जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायतका कृषि उपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी आम्दानीमा वृद्धि गर्न सकिने छ।