बेनी समाचारदाता
म्याग्दी (बेनी), असार १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ। सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो। सरकारले तीन वर्षअघि स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु-याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अगाडि सारेको थियो।
अपाङ्गमैत्री पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएको सो गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारीले जानकारी दिनुभयो। निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो।
२०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजार रुपियाँमा भवन निर्माणसम्बन्धी ठेक्का सम्झौता भएको थियो। सम्झौता लगत्तै निर्माण कम्पनीले मजदुर र उपकरण जुटाएर भवन निर्माणलाई तीव्रता दिएको थियो। पछिल्लो पटक थपिएको म्याद २०७९ फागनु मसान्तभित्र नै निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो।
“अस्पतालको भवन निर्माण भएको छ। जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर अस्पताल चाँडै सञ्चालनमा ल्याउँछौँ। अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र अस्पतालको कम्पाउन्डिङ गर्न ठुलो खर्च व्यवस्थापन गर्नुपर्ने छ,’’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भन्नुभयो। आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालनमा ल्याउन गाउँपालिकाले आवश्यक बजेटको व्यवस्थापन गर्ने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो।
दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए। सो जग्गाको स्थानीय बजार मूल्य एक करोड रुपियाँभन्दा बढी छ। अस्पताल भवन निर्माणका लागि नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए।