• ४ जेठ २०८१, शुक्रबार

खानेपानीको अभाव, धारा छ पानी आउँदैन

blog

मीना कँडेल

कावासोती,  असार १ गते । पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ। मुहान सुक्दै गएपछि खानेपानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता रहेको छ।  

देवचुली नगरपालिका–२ मा खानेपानीका मुहान सुकेका छन्। जिल्लाको दुम्कौलीमा रहेको पुनर्वासका बासिन्दालाई ट्याङ्करमा पानी ओसारेर खुवाउनु परेको छ। अति विपन्न क्षेत्र अन्तर्गत पर्ने पुनर्वास टोलमा खानेपानीको अभाव हिउँदमा मात्र नभई वर्षभरि नै हुने गरेको छ। अहिले मुहानसमेत सुकेपछि ट्याङ्करबाट ल्याएको पानीमा निर्भर हुनु परेको हो। 

यस्तै गैँडाकोट–३, ढोडेनीमा सबैको घरमा खानेपानीको पाइप पुगेको छ तर पानी पुगेको छैन। बिहान सबेरै उठेर जङ्गलमा रहेको मुहानमा पानी लिन जानुपर्ने बाध्यता रहेको जानकारी दिँदै जमुना गुरुङले भन्नुभयो, “बिहान घरको काम सकेर मुहान जान्छु, पानी लिएर फर्किंदा १० बज्छ। कालीगण्डकीको तिरमा पुग्नुपर्छ पानी लिन। भिरको बाटो हिँड्नै समस्या छ।” 

वर्षौंदेखि पानीको समस्या भोग्दै आउनुभएकी उहाँलाई अब पनि धारामा पानी आउँछ भन्ने लागेको छैन। बर्खामा त यही पानी पनि धमिलो हुने गरेको उहाँको भनाइ छ। 

सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको गुनासो नागरिकको छ।  स्थानीय विष्णुहरि अधिकारीले भन्नुभयो, “वडामा खानेपानी ट्याङ्की बनेको वर्षौं भयो तर पानी आएको छैन। पानी अभावका कारण न यहाँ खेती हुन सकेको छ। न त स्थानीयले गाईबस्तु पाल्न सकेका छन्। खानेपानी संस्थालाई न्यूनतम शुल्क त तिर्छन् तर पानी भने धारामा आउँदैन।”

प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ। गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिब सात करोड रुपियाँको लागत अनुमानसहित काम सुरु भएको र बाँकी रकम आउन नसक्दा काम हुन नसकेको बताउनुभयो। 

ढोडेनी खानेपानी आयोजना निर्माण हुन लागेको तीन वर्षभन्दा बढी भयो। एक लाख २० हजार लिटरको ओभरहेड ट्याङ्की, ४० हजार लिटरको ट्याङ्की निर्माणाधीन अवस्थामा छ। त्यस्तै दुई वटा छुट्टाछुट्टै टोलमा २०–२० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ। ढोडेनी खानेपानी आयोजना सम्पन्न हुँदा ४५० घरधुरीले सुरक्षित पानी उपभोग गर्न पाउने छन्।