दोलखा समाचारदाता
दोलखा, असार १ गते । दोलखामा गठित कबुलियती वन समूहमा आबद्ध गरिब किसानले हैसियत बिग्रेका वन व्यवस्थापन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् ।
यस जिल्लाका नौ सय वर्गमिटरभन्दा बढी क्षेत्रफलमा रहेको कबुलियती वन समूहका (डिभिजनका १६४ र गौरीशङ्कर संरक्षणका २१) १८५ समूहले राम्रो आम्दानी गर्न सफल भएको डिभिजन वन कार्यालय प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार (डिभिजनको ९३३.७७ हेक्टर र संरक्षण क्षेत्रको ८७८.९६ हेक्टर) कबुलियती वनबाट स्थानीयले आम्दानी लिइरहेका छन् । “हैसियत बिग्रेको वन व्यवस्थापन भएको छ भने गरिब किसान आयआर्जनमा लागेका छन् । यो वनमा विभिन्न जातका रुख, फलफूल, जमिन मलिलो गराउने विभिन्न जातका बोटबिरुवा, घाँस, डालेघाँस लगाउने कार्य भएको छ । घाँसले पशुपालन गर्नेतिर किसानलाई उन्मुख गराएको छ,” उहाँले भन्नुभयो ।
लाभान्वित एक हजार ७१८ घरधुरीको सहकारी संस्थामा ८३ लाख १९ हजार ३०७ र वन समूहमा एक करोड चार लाख १० हजार चार सय गरी कुल एक करोड ८७ लाख २९ हजार ७६१ रुपियाँ पुँजी भएको छ । समूहले केरा, सुन्तला र अम्बा बिक्रीबाट तीन लाख ६० हजार, दुध दही बिक्रीबाट एक लाख, कुचोबाट एक लाख ५० हजार, तरकारीबाट तीन लाख, बाख्रापालनबाट पाँच लाख, कुखुरापालनबाट पाँच लाख र प्याज बिक्रीबाट दुई लाख रुपियाँ आर्जन गरेको छ ।
गौरीशङ्कर गाउँपालिका–४, झ्याकु झाङ्रलीमा गठित जलदेवी कबुलियती वन समूहका सचिव सिमबहादुर तामाङले भन्नुभयो, “मैले मात्र अम्रिसाका बिरुवा, कुचो, घाँससमेतमा वार्षिक एक लाख रुपियाँ आम्दानी गरेको छु । यो कबुलियती वनमा २३ घरधुरीका ११ समूह आबद्ध छन् । यसले युवा विदेश पलायन हुनबाट पनि रोकेको छ ।”
वडा नं. ३, झ्याकुको सिंहदेवी कबुलियती वन समूहका अध्यक्ष नेत्रबहादुर बस्नेतले भन्नुभयो, “कबुलियती वन हाम्रा लागि वरदान साबित भएको छ । यसले कर्मशील भएर काम गर्न सिकायो । विदेश पलायन रोकेको छ । गाउँमै बसेर आम्दानी गर्न पाइएको छ । कबुलियती वन नबनुन्जेल सुको आम्दानी थिएन । बर्सेनि ऋण गरेर छाक टार्नु पर्दथ्यो । अहिले बालबालिका पढाउन, घर खर्च चलाउन सजिलो भएको छ ।” डिभिजन वन कार्यालयबाट तरकारीलगायतका बिउबिजन तथा फलफूलका बिरुवा पनि उपलब्ध हुँदै आएको छ ।
उनीहरूलाई अझ प्रोत्साहन गरी लगनशील बनाउन प्रत्येक वर्ष एक उत्कृष्टलाई २० हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसपालि जिरी नगरपालिकास्थित कबुलियती वनमा पूरै फलफूल खेती गर्न लागिएको छ । यसलाई बलियो बनाउन निरन्तर भ्रमण तथा चौमासिक बैठकको व्यवस्था पनि गरिएको डिभिजन वन कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।