• २ जेठ २०८१, बुधबार

पोखरामा चार्टर उडान हुने

blog

काठमाडौँ, असार १ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान हुने भएको छ । चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्न अनुमति मागेको छ । सो विमानस्थल गत पुस १७ गतेदेखि सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भन्नुभयो, “पोखराको फेवा तालमा असार ८ र ९ गते हुने नेपाल चाइना ड-यागन बोट रेस फेस्टिभललाई लक्षित गरेर सिचुवानले असार ६ गते चार्टर उडानको अनुमति मागेको छ ।” सिचुवानले एयरबस ए–३१९ विमान अवतरणका लागि अनुमति मागेको हो । उक्त विमान पोखरामा अवतरण गरेर सोही दिन काठमाडौँ हुँदै छेन्दु फर्किने छ ।

सो मेलामा सिचुवान प्रान्तका करिब तीन सय खेलाडी, दर्शक र पर्यटक पोखरा आउने मेला आयोजकले जानकारी दिएको छ । हाल यो विमानस्थलमा आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आए पनि अन्तर्राष्ट्रिय उडान भने अहिलेसम्म हुन सकेको छैन । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । सो विमानस्थलमा न्यारोबडी एयर बस–३२०, बोइङ–७३५ विमान अवतरण गर्न सक्छन् । दुई हजार पाँच सय मिटर लामो धावन मार्ग विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सक्छन् ।