• ५ जेठ २०८१, शनिबार

समाजवादी मोर्चा घोषणाको तयारी

blog

काठमाडौँ, असार १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायतका समाजवादी कार्यदिशा बोकेका दलबिच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, संविधानको रक्षा गर्दै थप उपलब्धि र परिवर्तनका लागि कम्युनिस्ट पार्टीहरूको समाजवादी मोर्चा घोषणा अन्तिम चरणमा छ । दलहरूबिच तत्काल एकता हुन नसकेपछि मोर्चा घोषणा गर्न लागिएको हो ।  

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहने टुङ्गो लागिसकेको छ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले वामदेव गौतम तथा अन्य पार्टीसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भवतः शुक्रबार घोषणा गर्ने तयारी हुँदै छ । चार वटा दलबिच सहमति भइसकेको छ । शुक्रबार बिहान केही नेताबिच छलफल भएपछि टुङ्गो लाग्ने छ ।”   

समाजवादी कार्यदिशा बोकेका पार्टीबिच तत्कालका लागि सरकारमा रहेका तीन दल र सरकारबाहिरका दुई दलसहित पाँच दलीय समाजवादी मोर्चा बन्ने छ । एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले अन्य दललाई पनि मोर्चामा सहभागी गराउँदै जाने रणनीतिका साथ घोषणा गर्न लागिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “समाजवादी कार्यदिशा बोकेका पार्टीबिच समाजवादी मोर्चा बनाएर जाने सहमति र सहकार्यअनुरूप समाजवादी मोर्चाको घोषणा हुँदै छ । घोषणापत्रलगायतका विषयमा सहमत भई सबै कुरा मिल्यो भने शुक्रबार घोषणा गर्ने छौँ ।” उहाँले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायत अन्य पार्टीलाई पनि मोर्चामा समेट्दै लगिने बताउनुभयो । 

मोर्चा निर्माणको कार्यदलले समाजवादी मोर्चाको घोषणापत्र तयार गरेको छ । शीर्ष नेताबाट अन्तिम स्वरूप प्रदान गर्ने कार्य बाँकी छ । समाजवादी मोर्चाका लागि माओवादी केन्द्रका उपाध्यक्ष महरा, जसपाका नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका उपाध्यक्ष हमाललगायतले दस्ताबेज तयार गर्नुभएको थियो । 

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो, “नेपाली समाजलाई प्रगतिशील रूपान्तरण गर्नु नै मोर्चाको मुख्य काम हो । घोषणापत्रमा नीतिगत प्रतिबद्धता समेटिएका छन् ।” उहाँले मोर्चाको नेतृत्व शीर्ष नेताबाट आलोपालो गरिने बताउनुभयो ।

माओवादी केन्द्रको २०७९ पुस २३ गतेको पदाधिकारी बैठकले वाम एकता गर्न उपाध्यक्ष महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गर्ने र तत्काल एकता हुन नसक्ने दलसँग मोर्चा निर्माण गर्ने गरी वार्ता टोलीले काम गर्दै आएको थियो । 

माओवादीले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व नेकपा व्रmान्तिकारी (माओवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायतसँग मोर्चाबन्दी वा एकता गर्ने गरी वार्ता गरेको थियो । नेपाल समाजवादी पार्टीले एकीकरणका लागि आफ्नो तर्फबाट माओवादी केन्द्रलाई प्रस्ताव पेस गरिसकेको छ तर माओवादी केन्द्रले उक्त प्रस्तावउपर निर्णय गरिसकेको छैन ।