• १४ असोज २०८१, सोमबार

कृषकलाई हाते ट्याक्टर र बन्दुक वितरण

blog

कृषकलाई वितरण गरिएको बन्दुक।

अमरराज नहर्की

तनहुँ, जेठ ३१ गते। नहुँका किसानलाई बाँदर धपाउन बन्दुक र कृषि पेशामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायिकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको छ। बन्दीपुर गाउँपालिकाले नक्ककी बन्दुक र म्याग्दे गाउँपालिकाले ट्याक्टर वितरण गरेको हो। 

किसानलाई खेती गर्न सहज होस् भनेर १७ जना कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो, काम गर्ने मान्छे छैनन्। कृषि पेशालाई सरल र सहज बनाउन ट्याक्टर दिएका हौं।’’।  ७० हजार पर्ने टयाक्टरको मूल्यमा ५० प्रतिशत कृषकले ३५ हजार र गाउँपालिकाले ३५ हजार अनुदानबाट कृषकलाई बिहीबार दिइएको पालिकाले जनाएको छ। 

गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाएर काम गरिरहेको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो। स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई आकर्षित गर्न अनुदानमा सहयोग गरिएको उहाँको भनाइ छ। कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै गाउँपालिकाले युवालाई कृषि पेसामा लाग्नसमेत आग्रह गरेको छ। 


यता बन्दीपुर गाउँपालिकाले बाँदरले अन्नबाली, फलफूल तथा तरकारी नोक्सानी व्यहोर्न बाध्य  कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ। गाउँपालिकाका ६ वटै वडाका कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने  बन्दुक निःशुल्क विरतण गरेको हो। 

ठुलो आवाज आउने भएको कारण अन्य उपकरणको तुलनामा बाँदर धपाउनको लागि यो उपकरण निकै प्रभावकारी रहेको पाइएको वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उक्त उपकरण खरिद गर्न गाउँपालिकाले १ लाख रुपैयाँ बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो।