• १२ मंसिर २०८१, बुधबार

कैलालीमा अझै बनेन विपत् प्रतिकार्य योजना

blog

विपत प्रतिकार्यका लागि टीकापुरमा खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिदैं। तस्बिर : भोजराज ढुङ्गाना

अविनाश चौधरी

धनगढी, जेठ ३२ गते। हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन। 

यो वर्षको मनसुन नेपाल प्रवेश भए पनि मनसुनको बेला हुन सक्ने सम्भावित जोखिमबाट जोगिन र खोज, उद्धार, व्यवस्थापनका लागि विपत् प्रतिकार्य नबनाइएको हो। जिल्ला विपत् प्रतिकार्य योजनाका आधारमा खोज, उद्धार र प्रतिकार्यको काम हुने गर्दछ।

विपत् प्रतिकार्य योजना बनाउने तयारी अन्तिम चरणमा पुगे पनि सरोकारवालाको बैठक बस्न नसकेका कारण नबनेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। “हामी यसैमा लागेका छौँ”, सूचना अधिकारी शिवराज जोशीले भन्नुभयो,“अब अन्तिम चरणको तयारी भइरहेको छ। बैठक बसेर अनुमोदन गर्नमात्रै बाँकी छ।”

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपत् प्रतिकार्य योजनालाई स्थानीय तहसहित सरोकारवालाको बैठक बसेर अनुमोदन गर्नुपर्ने हुन्छ। त्यही अनुमोदनका लागि बैठक बसेको छैन। असार पहिलो साता नै जिल्ला विपत् प्रतिकार्य योजना स्वीकृत गर्ने गरी बैठक बोलाउने कोसिस भइरहेको जोशीले जानकारी दिनुभयो। “सम्भवतः असार पहिलो साता बन्छ”, उहाँले भन्नुभयो। 

विगतमा बनाइएको विपत् प्रतिकार्य योजनामा केही कमीकमजोरी भएमा त्यसलाई सच्याएर हरेक वर्ष बर्खा अगावै संशोधित प्रतिकार्य योजना बनाउनुपर्ने हुन्छ। यसैगरी, पहिचान भएका विपतग्रस्त क्षेत्र, सङ्कटापन्न समुदाय लगायतमा केही हेरफेर भएमा सोही अनुसार प्रतिकार्य योजनालाई परिमार्जन गर्ने गरिन्छ। यस्ता सबै कुरा हेरेर विपत् प्रतिकार्य योजना बनाइने गरेको जोशीले बताउनुभयो। 

कैलालीको पहाडी क्षेत्रमा पर्ने पालिका चुरे र मोहन्याल गाउँपालिकामा पहिरोको समस्या रहेको छ। यस्तै, तराईमा रहेको भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, धनगढी उपमहानगरपालिका लगायतका पालिकामा बाढी, डुबान हुने गर्दछ। गत वर्ष आएको बाढीबाट भजनी, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ३८८ परिवार विस्थापित भएका थिए। 

यसैबीच, विपत् प्रतिकार्य तयारी स्वरूप जिल्लाको विभिन्न स्थानमा खोज तथा उद्धारको कृत्रिम अभ्यास गरिएको छ। प्राकृतिक विपतको बेला खोज, उद्धारमा सहयोग पुगोस् भनेर जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समिति लगायतको सहभागितामा कृत्रिम अभ्यास गरिएको हो।