• ४ जेठ २०८१, शुक्रबार

खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा

blog

दुम्कौलीमा रहेको पुर्नवासका स्थानीयहरुलाई ट्याङ्कीमा पानी ल्याएर वितरण गरिँदै ।

मीना कंडेल

कावासोती, जेठ ३२ गते । पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ । कतै मुहान सुक्दै गएको छ भने कतै पानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता छ । 

बढ्दै गएको वातावरण प्रदूषणका कारण खानेपानीको क्षेत्रमा पनि समस्या देखिन थालेको छ । वन जङ्गलको विनाश हुनु, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन लगायतका कारण खानेपानीको मुहान सुक्न थालेका छन् । 

देवचुली नगरपालिका वडा नं.२ मा खानेपानीको मुहान सुकेका छन् । जिल्लाको दुम्कौलीमा रहेको पुर्नवासका स्थानीयहरूलाई ट्याङ्कीमा पानी ओसारे खुवाउनु परेको छ । अति विपन्न क्षेत्र अन्तर्गत पर्ने पुर्नवास टोलमा खानेपानीको अभाव हिउँदमा मात्र नभई हरेक मौसममा हुने गरेको छ । अहिले मुहानहरूसमेत सुकेपछि स्थानीयहरूले ट्याङ्कीको पानी मगाएर गर्जो टारेका छन् ।

यस्तै, गैँडाकोट ३ ढोडेनी जहाँ सबैको घरमा खानेपानीको पाइप पुगेको छ । तर पानी पुगेको छैन । स्थानीय जमुना गुरुङ बिहान सबेरै उठेर जङ्गलको बीचमा रहेको मुहानमा पानी लिन पुगे । “बिहान घरको काम सकेर मुहान जान्छु, पानी लिएर फर्किँदा १० बज्छ । कालीगण्डकीको तिरमा पुग्नुपर्छ पानी लिन । भिरको बाटो हिँड्नै समस्या छ ।” वर्षौँदेखि पानीको समस्या भोग्दै आउनुभएकी उहाँलाई अब पनि धारामा पानी आउँछ भन्ने लागेको छैन । बर्खामा त यही पानी पनि धमिलो हुने गरेको उहाँको भनाइ छ । सहज तरिकाले सुरक्षित र सफा पानी उपभोग गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएको गुनासो स्थानीयको छ ।

स्थानीय विष्णुहरी अधिकारी भन्नुहुन्छ, “वडामा खानेपानी ट्याङ्की बनेको वर्षौँ भयो । तर पानी आएको छैन । पानी अभावका कारण न यहाँ खेती हुन सकेको छ । न त स्थानीयले गाईबस्तु पाल्न सकेका छन् । खानेपानी संस्थालाई न्यूनतम शुल्क त तिर्छन् तर पानी भने धारामा आउँदैन ।”

प्रदेश सरकारको आयोजना भएकाले स्थानीय स्तरबाट केही गर्न नसकेको वडाले जनाएको छ । गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले करिब ७ करोडको लागत अनुमान सहित काम सुरु भएको र बाँकी रकम आउन नसक्दा काम हुन नसकेको बताउनुभयो । ढोडेनी खानेपानी आयोजना निर्माण हुन लागेको तीन वर्ष बढी भयो । 

एकलाख २० हजार लिटरको ओभरहेड ट्याङ्की, ४० हजार लिटरको ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै दुई वटा छुट्टा छुट्टै टोलमा २०–२० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ। ढोडेनी खानेपानी आयोजना सम्पन्न हुँदा ४५० घरधुरीले सुरक्षित पानी उपभोग गर्न पाउने छन् ।