• १२ पुस २०८१, शुक्रबार

स्वयम्भूका दुईवटा आँखा

blog

प्रज्ञा भण्डारी

कक्षाः ५, उज्ज्वल शिशु निकेतन एकेडेमी

पाँगा, कीर्तिपुर, काठमाडौं 


मैले रेडियो र युटुवमा “स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छ” भन्ने गीत सुनेकी थिएँ । स्वयम्भूबाट काठमाडौँ उपत्यका पूरै देखिन्छ भन्ने पनि सुनेकी थिएँ । स्वयम्भूका तस्बिर र भिडियो हेरेकी थिएँ तर त्यहाँ जान पाएकी थिइनँ । त्यसैले मैले मेरो बाबालाई स्वयम्भू घुम्नका लागि भनेँ । मेरो बाबाले मलाई गत वर्ष २०७९ असार ४ गते शनिबारका दिन स्वयम्भू घुम्न लैजानुभयो । चोभारबाट बल्खु, कालीमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भू गयौँ । स्वयम्भू स्तूपा तल छाउनीबाटै देखिने रहेछ । स्तूपामा हामी पश्चिम उत्तर तिरको ढुङ्गे सिँढीको बाटो हुँदै पुग्यौँ । बाटोबाटोमा व्यापारीहरूले पर्यटकलाई बेच्ने सामान राखेका थिए । त्यहाँ बाँदरहरू पनि निकै धेरै थिए । बाँदरहरू नजिक आउँदा म डराएँ ।

ढुङ्गेसिढी सकिएपछि हामी स्वयम्भूमा पुग्यौँ । त्यहाँ पुगेर दुईवटा आँखा भएको ठूलो स्तूपा देखेँ । स्तूपा देखेर म धेरै खुसी भएँ । स्तूपाको माथि गजूरसँगै झुन्ड्याइएका रङ्गीचङ्गी ध्वजापताकाहरू देख्दा निकै रमाएँ । ती ध्वजाहरू निकै सुन्दर थिए । साह्रै सुहाएका थिए । हावासँगै फहराइरहेका थिए । 

स्तूपाको पूर्वपट्टि मैले भगवान् बुद्धको ठूलो मूर्ति भएको गुम्बा देखेँ । भित्र गएर भगवान् बुद्धको दर्शन गरेँ । त्यहाँ मैले बौद्ध भिक्षु भिक्षुणीहरू देखेँ । बौद्ध भिक्षु भिक्षुणी काटमार, हत्याहिंसा नगर्ने, झगडा नगरी सबैसँग मिलेर बस्छन् भन्ने थाहा पाएँ । बौद्ध भिक्षु भिक्षुणीहरूको त्यो व्यवहार मलाई निकै मन प¥यो । 

स्वयम्भूमा मैले धेरै विदेशी पर्यटकहरू देखेँ । त्यहाँ नेपालीहरू पनि उत्तिकै थिए । सबै जना त्यहाँ तस्बिर खिचिरहेका थिए । मलाई पनि तस्बिर खिच्न मन लाग्यो । तस्बिर खिचाउन म दक्षिणतिरको पर्खाल माथि बसेँ । त्यो पर्खालभन्दा तल ठूलो भीर थियो । त्यो भीर देख्दा मलाई डर पनि लाग्यो । त्यस भित्रसँगै रहेका रुखहरूमा बाँदरहरू उफ्रिरहेका थिए । यहाँ धेरै बाँदर भएकाले विदशीहरू स्वयम्भूलाई Monkey Temple भन्छन् रे । 

बाबाले मलाई स्वयम्भूबाट काठमाडौँ उपत्यकाका तीनवटै सहर देखाउनुभयो । काठमाडौँ चारैतिरबाट डाँडाहरूले घेरिएको रहेछ । स्वयम्भूबाट हेर्दा पूर्वमा भक्तपुर पर्ने रहेछ । भक्तपुरको पुरानो नाम भादगाउँ रहेछ । दक्षिणतिर ललितपुर र उत्तरमा काठमाडाैँ पर्ने रहेछ । पहिले ललितपुरलाई पाटन र काठमाडौँलाई कान्तिपुर भनिने रहेछ । त्यहाँबाट मैले दक्षिणमा रहेको फुल्चोकी डाँडा देखँे । फुल्चोकीको मुनि गोदावरी पर्ने रहेछ । फुल्चोकी काठमाडौँको सबैभन्दा अग्लो पहाड हो । पश्चिममा चन्द्रागिरि र उत्तरमा नागार्जुनको वन देखेँ । बाबाले भन्नुभएअनुसार संस्कृत भाषामा गिरि भनेको पर्वत हो । गिरी भनेको चाहिँ नेपालको एउटा थर हो । यसरी मैले गिरि र गिरी भन्ने शब्द पनि सिक्न पाएँ । पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरिबाटै काठमाडौँ उपत्यका हेरेका थिए रे । 

स्वयम्भूको पश्चिमतिर कीर्तिपुर र उत्तरतिरको अर्को सानो डाँडामाथि मञ्जुश्रीको मन्दिर पनि देखेँ । स्वयम्भूबाटै मैले त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ठूलो जहाज बस्दै गरेको देखेँ । त्यहाँबाट धरहरा पनि नजिकै देखिने रहेछ । स्वयम्भूबाट हेर्दा काठमाडौँमा रुखहरू नदेखिने रहेछन् । खेतीपातीका लागि ठाउँ रहेनछ । जताततै गुजमुज्ज घरैघर रहेछन् । धरहरासँगै खुला देखिने ठाउँ टँुडिखेल रहेछ । 

तस्बिरहरू खिचिसकेपछि मैले मेरो बाबालाई स्वयम्भू भनेको के हो भनी सोधेँ । त्यसपछि बाबाले मलाई स्वयम्भूबारे धेरै कुरा बताउनुभयो । बाबाका अनुसार स्वयम्भूनाथ स्तूपा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । स्वयम्भू स्तूपाको अर्को नाम महाचैत्य हो । त्यसपछि बाबाले स्वयम्भूको उत्पत्तिका बारेमा भन्नुभयो । बाबाका अनुसार काठमाडौँ उपत्यका वर्षौं अघि एउटा ठूलो दह (ताल) थियो रे । त्यति बेला यहाँ मानिसहरू थिएनन् रे । पछि मञ्जुश्रीले चोभारको गल्छीलाई तरबारले काटेर तालको पानी बाहिर पठाए रे । त्यसपछि मात्रै काठमाडौँ उपत्यकामा मानिसहरू बस्न थाले रे । 

काठमाडौँ उपत्यकामा ताल रहेकै बेला यहाँ एक जना विपस्वीले स्वयम्भूको वरिपरि घुमेर उत्तरतिरको नागार्जुनमा गएर तपस्या गरेका थिए रे । त्यसपछि तिनले वैशाख पूर्णिमाका दिन तालमा कमलको बीउ रोपेका थिए रे । त्यो कमल अर्को वर्ष फुलेको थियो रे । पछि त्यसै कमलबाट स्वयम्भू महाचैत्यको उत्पत्ति भएको हो रे । त्यसै कारण यसलाई स्वयम्भू भनिएको हो रे । 

स्वयम्भूबाट सबै कुरा हेरिसकेपछि हामीहरू पूर्वतिरको भिरालो ढुङ्गेसिढी भएर तल झ-यौं । सिँढीको बीचमा समात्नका लागि फलामका डन्डी थिए । त्यहाँ तल बाटोको दायाँबायाँ दुईवटा ठूला बुद्धका मूर्ति थिए । त्यहाँ पनि हामीले तस्बिर खिच्यौँ । त्यहाँभन्दा तलको ठाउँलाई भगवान्पाउ भन्दा रहेछन् । त्यहाँबाट हामी फेरि सिँढीकै बाटो माथि स्वयम्भूमै उक्लियौँ । त्यहाँ सिँढीको मुखैमा ठूलो पहेलो रङको बज्र थियो । बज्र बौद्ध धर्मावलम्बीको पूजामा प्रयोग हुन्छ रे । बज्रलाई हिमाली भेगतिर दोर्जे भन्दछन् रे । बज्र संस्कृत भाषाको शब्द हो रे । 

स्वयम्भूबाट सबै कुरा हेरिसकेपछि हामीहरू घर फर्कियौँ । स्वयम्भूबाट फर्कंदा उत्तरतिरकै सिँढी भएर तल झ-यौँ । त्यहाँ मञ्जुश्री मन्दिरतिर जाने बाटोको बीचमा विश्व शान्ति पोखरी रहेछ । पूर्वपट्टि आनन्द कुटी विहार रहेछ । विश्व शान्ति पोखरीको बीचमा भगवान् बुद्धको मूर्ति रहेछ । मूर्तिको अगाडि पृथ्वी आकारको ग्लोब रहेछ । 

बुद्धको मूर्तिको हातबाट त्यो ग्लोबमा पानी पार्दा त्यो घुम्ने रहेछ तर त्यस दिन पानी नहुँदा ग्लोब घुमेको थिएन । त्यहाँ भगवान् बुद्धको मूर्तिमा शान्तिका लागि सिक्का चढाउने चलन रहेछ । पोखरीभरि थुप्रै सिक्काहरू थिए । मैले पनि त्यहाँ दुईटा सिक्का चढाएँ । शान्तिको कामना गरेँ । त्यसपछि हामीहरू घर फर्कियौँ । यसरी मैले स्वयम्भूका बारेमा धेरै कुरा देख्न, सुन्न, जान्न र बुझ्न पाएँ ।