• ११ मंसिर २०८१, मङ्गलबार

विशिष्ट क्षमताका गायक ओम

blog

काठमाडौँ, जेठ ३२ गते । ओम सुनार २०६६ सालदेखि निरन्तर सङ्गीत साधनामा हुनुहुन्छ । बाल्यकालदेखि नै गीत सङ्गीतमा झुकाव राख्नुहुने सुनारले दर्जनौँ गीतमा स्वर र सङ्गीत दिनुभएको छ । सुदूरपश्चिमको कैलालीस्थित लम्की चुहामा बाल्यकाल बिताउनुभएका ओम स्कुल जीवनदेखि नै गीत सङ्गीतमा झुकाव राख्नुहुन्थ्यो । उहाँ हरेक दिन बिहान तीनदेखि चार घण्टा सङ्गीतको अभ्यास गर्नुहुन्छ ।

आफ्नो एकल एल्बम ‘सुगन्ध’ बाट नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको सुनारले दुई दर्जनभन्दा बढी नेपाली चलचित्रका गीतमा आफ्नो आवाज भरिसक्नुभएको छ । यो एक दशकमा उहाँले दुई सयभन्दा बढी गीतमा आफ्नो स्वर दिनुभएको छ भने सयौँ गीतमा सङ्गीत भर्नुभएको छ । सुनार व्यावसायिक म्युजिक अरेन्जरका रूपमा पनि स्थापित हुनुहुन्छ । उहाँ गीत गाएर जति चर्चित हुनुहुन्छ त्यति नै सङ्गीतमा पनि क्रियाशील देखिनुहुन्छ । सुनारका चर्चित गीतहरूमा (आमैले भन्थे धाराको पानी, चन्द्रमा झैँ राम्री छौ, सुपारी काँचो, बारीको पाटामा, लाहुरे सिपाही दाइ, काउसो लाइसक्यो, यो मन, ए माया, सागर माथि) लगायत छन् । 

उहाँले नेपाली गीत मात्र नभई हिन्दी, अछामी, डोटेली, थारूलगायतका विभिन्न भाषामा आवाज भरिसक्नुभएको छ । सङ्गीत गुरु गुरुदेव कामतसँग शास्त्रीय सङ्गीतको तालिम लिनुभएका उहाँ त्रिभुवन विश्वविद्यालयबाट  सङ्गीत विषयमा अध्ययन गरिरहनुभएको छ । नेपाली सङ्गीत र कला संस्कृतिको क्षेत्रमा खोज अनुसन्धान हुनुपर्ने उहाँको बुझाइ छ । नव आगन्तुक सबैले सङ्गीतको राम्रो तालिम लिएर आउन उहाँ सुझाउनुहुन्छ । आफ्नो विधा शास्त्रीय सङ्गीत भए पनि चलचित्र, आधुनिक, पप, लोकलगायतका गीतहरू गाउन सक्ने विशिष्ट क्षमता भएका गायकका रूपमा उहाँ चिनिनुहुन्छ । 

बाबु कान्छा, आवारा, कोइला, नेप्टे, रोशनी, नमस्ते नेपाल जस्ता चलचित्रहरूमा सुनारको आवाज सुन्न सकिन्छ । नेपालका सबै चर्चित गायकगायिकाहरूसँग चलचित्र र एल्बमहरूमा युगल गायनमा उहाँ जमिसक्नुभएको छ । गीत सङ्गीतको कर्मले नेपालमा दर्जनौँ सम्मान पाइसक्नुभएका उहाँले नेपालका पुराना पुस्ताका कलाकारलगायत महानायक राजेश हमाल, रमित ढुङ्गानादेखि नयाँ पुस्ताका कलाकारहरूसँग पनि अभिनय गरिसक्नुभएको छ ।