• १३ मंसिर २०८१, बिहिबार

साउथ एसियन बुद्धिचालमा नेपाली खेलाडीको मिश्रित प्रदर्शन

blog

बुद्धिचालमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : ग्राफिक आर्ट्स

काठमाडौं, जेठ ३१ गते । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा जारी साउथ एसियन बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणको खेलमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् । 

नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले  बुधबार बङ्गलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराउनुभयो । राम्रो खेल्नुभएका रुपेशले अब्दुललाई २८औँ चालमा निराश पार्नुभएको थियो । 

यसैगरी १८३४ रेटेड १४ वर्षीय पुरुषोत्तम सिलवालले भुटानका अनरेटेड खेलाडी डिक्चेन दोर्जीलाई सहज रूपमा ३४औँ चालमा जित निकाल्नुभयो । पूर्व नेपाल च्याम्पियन २०३२ रेटेड खेलाडी सूरविर लामा बङ्गलादेशका २२०६ रेटेड हसन पराग मेहन्दीसँग पराजित हुनुभयो ।

राउण्ड रोबिन लिग प्रणालीका आधारमा गोदावरीमा सञ्चालन भएको च्याम्पियनसिपमा नेपालका २०२४ रेटेड फिडे मास्टर क्षितिज भण्डारी र पाकिस्तानका २०४६ रेटेड  फिडे मास्टर अमिर करिम बीचको खेल निकै प्रतिस्पर्धामा रह्यो । रोचक रूपमा आक्रमण  प्रत्याक्रमण भएको खेलको ७०औँ चालमा पाकिस्तान खेलाडी अमिरले बाजी मार्नुभयो । 

सुरवीरले राम्रो खेलपनि अवसरको फाइदा उठाउन नसक्दा खेलको ५२औँ  चालमम आत्मसमर्पण गर्नुभएको थियो । खुलातर्फ नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटान र भारतका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा भारतका डिफेन्डिङ च्याम्पियन २४१५ रेटेट आई एम नुबैर शाह शैखले भारतकै २५०८ रेटेड  ग्राण्ड मास्टर सयान्तन दालाई पराजित गर्नुभयो । 

निकै कठिन रोचक खेलमा नुबेरले आफूभन्दा उच्च रेटेड ग्राण्ड मास्टर सयन्तनलाई खेलको ५८औँ  चालमा सिकार बनाउनुभयो । च्याम्पियनसिपमा पुरुषतर्फ विजेतालाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशस् एक लाख, ६० हजार र ४० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक महासङ्घले जनाएको छ । 

६ दिनसम्म चल्ने प्रतियोगिताको  लागि राष्ट्रिय खेलकुद परिषद्, ललितपुरका स्थानीय निकायहरू  ललितपुर महानगरपालिका, महालक्ष्मी नगर पालिका, गोदावरी नगरपालिका , कोन्जोसम गाउँपालिका, बागमती गाउँपालिका, महाँकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिले  सहयोग गरेको छ।